आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
सेन्चुरी बैंक घोटाला प्रकरण

डुप्लिकेट कर चुक्ता प्रमाणपत्र राखेर २ अर्ब ३० करोड ऋण प्रवाह

राजेश श्रेष्ठसहित ९ जना तारेखमा रिहा
बिहीबार, १३ असार २०८१, १८ : १२
बिहीबार, १३ असार २०८१

काठमाडौँ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूले मिलेमतोमा डुप्लिकेट करचुक्ता प्रमणपत्र स्वीकार गरेर ऋण प्रवाह गरेको भेटिएको छ । अध्यक्ष राजेश कुमार श्रेष्ठसहित सञ्चालक समितिका ७ जना सदस्यहरू मिलेर काभ्रे घर भएका रवीन्द्र चौलागाईं र निजको पारिवारिक कम्पनीहरूमा ऋण प्रवाह गरेका हुन् ।

चौलागाईं र उनको परिवारको स्वामित्वमा रहेको पुजा ट्रेडिङ्ग एण्ड मार्केटिङ प्रालि, थ्री ब्रदर्श मार्केटिङ प्रालि, पुजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिष्टिलरी प्रालिलाई तत्कालीन सीईओ मनोज न्यौपाने र तुल्सीराम गौतम समेतले ऋण प्रवाह गरेका हुन् ।

ती कम्पनीहरूको वास्तविक कारोबार रकमभन्दा बढी कारोबार भएको देखाउन आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र बनाएर २ अर्ब ३० करोड ऋण दिएको भेटिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । डुप्लिकेट कर चुक्ता तयार गरेको विषयमा प्रहरीले उनीहरुविरुद्ध किर्ते मुद्दा पनि लैजाने भएको छ ।

ऋण लिने चौलागाईं देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष हुन् । सहकारीको रकम अपचलन गरेको आरोपमा उनी अहिले पुर्पक्षका लागि कारागारमा छन् । २०७७ बाट उनले पटकपटक गरेर सो बैंकबाट ऋण लिएका हुन् ।

तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जना फागुन १४ मा पक्राउ परेका थिए । उनीहरू १७ दिनमा पनि तारेखमा थुनामुक्त भए । २८ जेठमा राजेश कुमार श्रेष्ठसहित ९ जनालाई सीआईबीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई पनि तारेखमा राखेर थुनामुक्त गरिएको एसपी बोगटीले रातोपाटीलाई बताए ।

तत्कालीन बैंक सञ्चालक समितिका सदस्यहरू सुनिल कुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रण बहादुर श्रेष्ठ, राजेश कुमार दली, उमा कुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र क्याड सेक्सन प्रमुख शिव गोपाल रिसाल दोस्रो चरणमा पक्राउ परेर रिहा भएका हुन् । उनीहरुले बैंकका कर्मचारीहरूसँग मिलेर धितोले थाम्ने रकमभन्दा अत्यधिक ऋण प्रवाह गरेका हुन् । आरोपीहरुविरुद्ध प्रहरीले बैंकिङ  कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ ।

चौलागाईंले विभिन्न ठाउँको जग्गा राखेर ऋण लिएका थिए । ऋण लिएको रकममध्ये थोरै मात्रै तिरेका उनले अरू रकम तिर्न सकेका छैनन् । करिब १ अर्ब रकम बराबर मात्रै धितो राखेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप