नेतृत्वले डेढ महिना बढुवा रोकेपछि प्रहरी अस्पतालका २ चिकित्सक अवकाशमा
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवर र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बढुवा गर्न नचाहँदा नेपाल प्रहरी अस्पतालका दुई जना वरिष्ठ उपरीक्षक (एसएसपी) अन्यायपूर्ण अवकाशमा गएका छन् । प्राविधिकतर्फ स्वास्थ्य उपसमूहका एसएसपीद्वय डा.दीपक श्रेष्ठ र डा.सुवास आचार्य बिहीबारबाट अवकाशमा गएका हुन् ।
दुवै जना वरिष्ठ उपरीक्षकको ६ वर्षे पदावधि पुरा गरेर अवकाशमा जान बाध्य भए । डीआईजीको दरबन्दी रिक्त भएको डेढ महिनासम्म भए पनि उनीहरूको बढुवा प्रक्रिया अघि बढेन । डीआईजीमा बढुवा भएको भए उनीहरू थप ५ वर्ष प्रहरीमा रहने अवसर पाउँथे ।
अन्यायपूर्ण अवकाशमा जानु परेपछि डा.दीपक श्रेष्ठले आईजीपीलाई ‘नालायक सीइओ’ को आरोप लगाएका छन् । नेपाल प्रहरी ‘प्राइभेट कम्पनी’ मा परिणत भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘अहिलेको सीइओ नालायक हो, यसले सबैलाई नालायक नै देख्छ ।’
वर्तमान नेतृत्वको अवकाशपछि प्रहरीले नयाँ र व्यावसायिक नेतृत्व पाउने आशा व्यक्त गरेका छन् । एसएसपी श्रेष्ठ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका मुख्य प्रतिस्पर्धी थिए । श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । श्रेष्ठ प्रहरीमा प्रवेश गरेको २३ वर्षमा नै अवकाशमा गएका हुन् ।
उनीहरूलाई घर पठाएर आईजीपी कुँवर र गृहमन्त्री लामिछानेले अस्पतालमा कार्यरत एसएसपी सञ्चिता घिमिरे र दामोदर पौडेललाई बढुवा गर्न खोजेको आरोप छ । डा. मनोज यादव पनि बढुवा प्रतिस्पर्धामा छन् ।