आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
समीक्षा यात्रा प्रतिवेदन

रास्वपामा मुकुलले बजाए ‘खतराको घण्टी’, आन्तरिक विवाद सतहमा

बिहीबार, १३ असार २०८१, १५ : ५८
बिहीबार, १३ असार २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछाने र महामन्त्री डा. मुकुल ढकालबिचको विवाद सतहमा आएको छ । गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर महामन्त्री ढकालले पार्टीको अवस्थाबारे प्रतिवेदन बनाएका थिए । सोही प्रतिवेदनपछि उनी र सभापति लामिछानेबिच मतभेद चुलिएको चर्चा यतिबेला व्यापक भइरहेको छ ।

इलामको उपचुनावमा पार्टी उम्मेदवारले जमानत पनि जोगाउन नसकेपछि रास्वपाले देशभर सुझाव सङ्कलन गरेर प्रतिवेदन बुझाउन महामन्त्री ढकाललाई जिम्मा दिएको थियो । विभिन्न ३८ जिल्लामा तीन हजारभन्दा बढी व्यक्तिसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका ढकालले रास्वपामा ‘कालो बादल मडारिएको’ प्रतिवेदन तयार पारे ।

रास्वपाका एक नेताका अनुसार आफ्नो प्रतिवेदनलाई सभापति लामिछानेले ‘निराशावादी पत्र’को संज्ञा दिएपछि महामन्त्री ढकाल आक्रोशित थिए ।

‘केही दिनअघि सभापति, महामन्त्री लगायतका साथी छलफलमा हुनुहुन्थ्यो । सभापतिज्यूले तपाईंको प्रतिवेदन पार्टीको हितमा छैन । यो छलफल र सार्वजनिक गर्ने मिल्ने खालको छैन भनेको मैले सुनेको थिएँ,’ ती नेताले रातोपाटीसँग भने ।

पार्टीभित्र पनि महामन्त्रीको प्रतिवेदनको औचित्यमाथि प्रश्न उठ्ने गरी छलफल हुन थालेपछि विवाद सतहमा आएको उनको बझाइ छ । ‘मैले यत्रो दुःख गरेर प्रतिवेदन बनाएँ । सभापतिले नै गम्भीर रूपमा लिनु भएन भन्ने महामन्त्रीजीलाई परेको थियो । आफ्नो प्रतिवेदनलाई सार्वजनिक बहसको विषय बनाउने रणनीति अनुसार उहाँ प्रस्तुत हुनु भयो,’ ती नेता भन्छन् ।

आफ्नो प्रतिवेदन सभापति लामिछानेले छलफलको विषय नबनाउने सङ्केत पाएपछि महामन्त्री ढकालले पार्टी भविष्यमाथि सार्वजनिक रूपमा निर्मम प्रश्न उठाएका छन् । ‘घण्टी निलो छ, तर बादल मडारिएका कारण घण्टी कालो देखिएको छ । बादल हटाउन हामीले केही कुरा गर्नुपर्नेछ,’ उनले भने ।

सभापति लामिछानेलाई बुधबार साँझ गृह मन्त्रालयमा प्रतिवेदन बुझाएपछि ढकालले अहिले नै चुनाव भए रास्वपा राष्ट्रिय पार्टी बन्न नसक्ने परिस्थिति बनिरहेको सुनाए । ‘मेरो प्रतिवेदन अनुसार अहिलेको अवस्थामा रास्वपा राष्ट्रिय पार्टीमात्र बन्न सक्छ, प्रत्यक्षमा केही सिटमात्र जित्न सक्छ, यही गतिमा तल गइराख्यो भने त्यो अवस्था पनि नरहन सक्छ,’ ढकालको निष्कर्ष छ ।

समीक्षा यात्राका क्रममा पार्टीमा झाङ्गिएको विकृतिको आभास भएको उनको भनाइ छ । ‘त्यो अनुभूतिबाट अहिले नै झसङ्ग भएर हामी त्यसबाट छुटकारा पाउनुपर्छ,’ उनी भन्छन् ।

महामन्त्री ढकालले आफू चिकित्सक भएको भन्दै पार्टी बिरामी भएको र अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए । ‘लाजले वा हिनताबोधले पार्टी बिरामी छ भन्ने स्वीकार गर्न सकिएन, घरमै राखेर उपचार गर्दै लग्यौँ, अस्पताल लगेनौँ भने त्यतिबेलाको अवस्था निराशाजनक हुन्छ,’ अस्पताल लगेपछि सर्जरी नै गर्नुपर्छ कि पर्दैन भन्ने पत्रकारको प्रश्नमा ढकालले भने, ‘अलिकति सर्जरी नै चाहिन्छ जस्तो लाग्छ ।’

पार्टीले किन्तु परन्तु नभनी प्रदेश खारेजीको एजेण्डा उठाउनुपर्ने महामन्त्री ढकालेको भनाइ छ । जनताको माग प्रशासन सुधारमात्र भएको तर पुराना पार्टीहरूले त्यसलाई बङ्ग्याएर प्रदेश संरचना बनाएको ढकालको दाबी छ । ‘जनताको माग प्रशासन सुधार हो । प्रदेश सरकार जनताको माग र चाहना केही पनि होइन । राजनीतिक दलका नेता–कार्यकर्ताको व्यवस्थापन भन्दा अर्को उपलब्धि प्रदेश सरकारबाट केही पनि भएको छैन,’ उनले भने, ‘प्रदेश संरचनापछि प्रशासन सुधार होइन, झन् झन् अस्तव्यस्त बनिरहेको छ । तसर्थ प्रदेश खारेज गरी प्रशासन सुधारको एजेन्डा उठाउनुपर्छ ।’

महामन्त्री ढकालले सरकार तत्काल छाड्नुपर्ने भन्ने पक्षमा जनमत रहेको बताए । ‘भूमरी मानौँ वा गोला मानौँ, त्यसमा फसिसकेको अवस्था छ, जुन ढोकाबाट पस्यो, त्यही ढोकाबाट निस्कने छुट छैन । सरकारमा रहनुको औचित्य पुष्टि गर्नुपर्छ,’ उनले भने ।

महामन्त्री ढकालले आम नागरिकको प्रक्रिया लिएर पार्टीको समीक्षा गरी उपचार गर्नुपर्छ भन्नु स्वाभाविक भएको सभापति लामिछानेको प्रतिक्रिया छ । ‘प्रतिवेदन पढिसकेपछि त्यसलाई बहुआयामिक रूपमा हेर्नुपर्ने हुन्छ ।   हामीलाई आम नागरिकले दिएको प्रतिक्रिया हो । हामीले शल्याक्रिया नगरी हुँदैन है भन्ने कुरा राम्रो कुरा हो । स्वाभाविक कुरा हो,’ उनले भने ।

तर, पार्टीको संरचनामा छलफलको विषय बनाउनुपर्नेमा मिडियाबाजी गरेकोमा ढकालप्रति लामिछानेले असन्तुष्टि पोखे । ‘प्रतिवेदनबारे छलफल र अध्ययन गर्न पार्टीको संरचना हुन्छन् । पार्टीको तौरतरिका हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको सहकार्य तोड्नुपर्ने महामन्त्री ढकालको निष्कर्षमा लामिछानेले रणनीतिक जवाफ दिए । लामिछानेले भने, ‘लामो यात्रामा कसरी जानुपर्छ, रणनीतिका कुरा हुन्छन् । रास्वपाले आफ्नो निर्मम समीक्षा गर्छ । पार्टीमा आन्तरिक लोकतन्त्र नगर्ने, आफ्नो नेताले जे गरे पनि जिन्दाबाद भन्ने पार्टी होइन रास्वपा । हामीले आफ्नो समीक्षा नगरी पर्दा राखेर बस्यौँ भने पार्टीमाथि जाँदै जाँदैन ।’

ढकालले निर्मम समीक्षा गर्दा महामन्त्रीबाट हटाइन सक्ने चिन्ता राखेको विषयमा लामिछानेले ‘वैचारिक रूपमा कडा प्रस्तुत हुँदा त्यस्तो होला कि भन्ने होला’ भन्दै थप बोल्न चाहेनन् ।

रास्वपा सह–प्रवक्ता मनिष झाले महामन्त्रीले पुनरावलोकन, पुनर्विचार र पुनर्निर्माणको बहस गर्दैमा कारबाही नहुने बताए । ‘दलभित्र पुनरावलोकन, पुनर्विचार र पुनर्निर्माणको बहस लोकतान्त्रिक अभ्यास हो । यसलाई सहज र स्वाभाविक राजनीतिक प्रक्रियाको रूपमा लिएका छौँ,’ उनले भने ।

झाका अनुसार संगठन निर्माणका क्रममा चार वटा चरण हुन्छन् । पहिलो चरणमा जमात बनाइन्छ, टीम फर्म गरिन्छ । त्यहाँ विचार र सिपको कुरा हुँदैन, मान्छे चाहिन्छ । दोस्रो चरणमा विचार, सिद्धान्तको कुरा हुन्छ । चौथो चरण पर्फमिङमा पुग्छ । हामी अहिलेसम्म पर्फमिङमा पुगेका छैनौँ,’ उनले भने ।

रास्वपा तेस्रो चरणमै रहेकाले अहिलेसम्म गरिएका सबै अभ्यासमा पुनर्विचार, पुनरालोकन र पुनर्निर्माण बहस सतहमा आएको झाको बुझाइ छ । ‘घुमीफिरी हामी पुरानैजस्तै त हुँदै छैनौँ भनेर आवाज उठ्ने कुरा संगठन निर्माणको तेस्रो चरणमा हुन्छ । हामी तेस्रो चरणमा हुँदा एक–अर्कालाई नस्वीकार्ने, असहमति जनाउने, आफ्नो नयाँ विचार ल्याएर आउने प्रयास हुन्छ,’ उनले भने ।

साथै सभापति र उपसभापतिहरू सिंहदरबार–सदनमा व्यस्त, महामन्त्री ढकाललाई परेको व्यावहारिक भारले असहज महसुस गराएको झाको बुझाइ छ । उक्त असहजतालाई महामन्त्रीले पार्टीमा आफूमाथि अन्याय भएको रूपमा प्रतिवेदनमा राखेको झा बताउँछन् ।

उनका अनुसार उपप्रधान तथा गृहमन्त्रीको रूपमा सिंहदरबारमा व्यस्त रहेका सभापति लामिछानेमाथि धेरै अपेक्षा र मुद्दा मामिलाको चुनौती छ ।  

उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री भएर सिंहदरबारमै व्यस्त हुँदा अर्का उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको तर्फबाट सदनको नेतृत्व गर्दा सांगठनिक कामको भार महामन्त्री ढकालमाथि देखिएको उनले बताए ।

‘आफूमाथि सिनियर पदाधिकारी तीनै जना सिंहदरबार र सदनमा व्यस्त भएका बेला संगठन नियमित विधिमा नभएकाले उहाँमा परेको एउटा व्यावहारिक भार हो । व्यावहारिक भार परेको मान्छेले सबै चिज मैले हेर्नु प¥यो भन्नेजस्तो सोच उहाँमा आएको हो । यसलाई स्वाभाविक रूपमै लिनुपर्छ,’ उनले भने, ‘एकै जनाले भार बोक्दा फ्रस्टेसन हुन्छ ।’

सरकार र सदनमा केन्द्रित भइरहेका बेलामा आफ्नो प्रतिवेदनले चर्चा नपाउला कि भनेर ‘पेनिट्रेसन स्ट्राटेजी’ अपनाएको झाको भनाइ छ । ३८ जिल्लामा पुगेर ३२ पेजको प्रतिवेदन बनाइसकेपछि हल्का डकुमेन्ट सोचेर त्यतिकै खेर नफाल्नु भनेर पेनिटे«सन स्ट्राटेजी अपनाएको हुन सक्ने आकलन पनि उनले गरे ।

महामन्त्रीको प्रतिवेदनले पार्टीमा आन्तरिक समस्या नल्याएको सह–प्रवक्ता झाले बताए । केही सांसद, केन्द्रीय सदस्य, विभागीय प्रमुखसहित बिहीबार (आज) बिहान सभापति लामिछानेले गृह मन्त्रालयको मासिक समीक्षा बैठक राखेका थिए ।

‘हामीले दुई चार वटा सुझाव दियौँ । दुई चार वटा असन्तुष्टि राख्यौँ । उहाँले पनि आफ्नो कुरा राख्नु भयो । त्यहाँ महामन्त्री पनि उपस्थित हुनुहुन्थ्यो,’ उनले भने, ‘आन्तरिक रूपमा कुनै असहज परिस्थिति सिर्जना गरेको भए हामी यो नियमित अभ्यासमा हुँदैन थियौँ होला । पार्टीमा केही पनि भएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप