आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

गोरखाका स्थानीय तहमा ७ अर्बको बजेट, छैन आन्तरिक आम्दानी

बिहीबार, १३ असार २०८१, १५ : ३०
बिहीबार, १३ असार २०८१

पोखरा । गोरखाका ११ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि करिब ७ अर्बको बजेट ल्याएका छन् । 

स्थानीय तहले असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । गोरखाका सबै पालिकाले तोकिएकै समयभित्र बजेट ल्याएका हुन् । गोरखाका पालिकाहरूले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ८४ करोड बजेट कार्यान्वयन गर्ने भएका छन् । बजेटको अधिकांश हिस्सा संघ र प्रदेशको अनुदानमा निर्भर छ । सबै पालिकाहरूले करिब २५ करोड हाराहारी मात्रै आन्तरिक आम्दानी प्रक्षेपण गरेका छन् ।

गोरखा नगरमा अर्बको बजेट

गोरखा नगरपालिकाको बजेट झण्डै १ अर्बको छ । उपप्रमुख मसलीमाया थोकर (सपना पुन) ले ९८ करोड ४६ लाखको बजेट प्रस्तुत गरेकी हुन् । 

आगामी वर्ष संघीय सरकारबाट ६२ करोड १२ लाख प्राप्त हुने अनुमान गरिएको छ । समानीकरण अनुदानतर्फ २१ करोड १७ लाख, सशर्त अनुदान ९चालु० तर्फ ३७ करोड ४० लाख र पुँजीगततर्फ २ करोड ५ लाख र समपूरक अनुदानतर्फ १ करोड ५० लाख प्राप्त हुने अनुमान छ । 

यस्तै गण्डकी प्रदेश सरकारबाट ४ करोड २२ लाख प्राप्त हुने अनुमान छ । राजश्व बाँडफाँडतर्फ संघीय सरकाबाट ११ करोड ११ लाख, प्रदेश सरकारबाट १ करोड ७८ लाख र घरजग्गा रजिष्ट्रेसन बापत नगरबाट ८० लाख रकम संकलन हुने थोकरले बताइन् । आन्तरिक आय चाहिँ ७ करोड १५ लाख हुने लक्ष्य छ ।

पालुङटारको एक तिहाइ बजेट शिक्षामा

पालुङटार नगरपालिकाले ८३ करोड २८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । त्यसमध्ये संघ सरकारबाट ७१ करोड ७७ लाख अनुदान प्राप्त हुने अनुमान छ भने प्रदेशबाट ४ करोड ५६ लाख प्राप्त हुने बताइएको छ । पालिकाले ६ करोड ९५ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । 

आगामी आर्थिक वर्षको बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ । नगरपालिकाले शैक्षिक क्षेत्रको सुधारका लागि मात्रै २८ करोड १ लाख विनियोजन गरेको छ । 

शैक्षिक संस्थाको भौतिक तथा शैक्षिक गुणस्तर विकास गर्ने, प्राविधिक शिक्षा दिने विद्यालयलाई अनुदानदेखि विद्यालय उत्पादन कार्यक्रममा बजेट विनियोजन गरिएको उपप्रमुख बन्दना पाण्डेले जानकारी दिइन् ।

यस्तै, आर्थिक विकासतर्फ कृषि बाली प्रबद्र्धनका लागि १ करोड ७१ लाख, पशुपक्षी विकासको लागि ६० लाख, पशु बीमा प्रिमियममा अनुदान दिन र शिविर चलाउन ५३ लाख, दुध उत्पादनमा अनुदानका लागि १५ लाख विनियोजन गरिएको छ । सुरक्षित आप्रवास तथा वैदेशिक रोजगारतर्फ १३ लाख ६१ हजार, उद्योग रोजगार तथा व्यवसायका लागि १ करोड ४४ लाख, पर्यटन विकासका लागि ६० लाख बजेट विनियोजन गरिएको छ । 

आधारभूत स्वास्थ्यतर्फ ७ करोड, खानेपानी तथा सरसफाइतर्फ ८३ लाख, लक्षित वर्ग र सामाजिक समावेशीकरणमा १ करोड ३२ लाख ९० हजार रुपैयाँ विनियोजन भएको पाण्डेको भनाइ छ । पूर्वाधारमा ७ करोड ७६ लाख छुट्याइएको छ ।

शहिद लखनले कालोपत्रेलाई निरन्तरता दिने

शहिद लखन गाउँपालिकाले अघिल्लो वर्ष आफ्नै खर्चमा सडक कालोपत्र गर्ने कार्यक्रम अघि सार्‍यो । साढे ३ किलोमिटर सडक कालोपत्र गर्न बजेट नै विनियोजन गरेको थियो । अहिले उक्त खण्डको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्षपनि यो कार्यक्रमलाई निरन्तरता दिइएको छ । नामजुङदेखि ताक्लुङ हुँदै मनकामनाबाट आँबुखैरेनी जोड्ने सडक कालोपत्र कार्यक्रमलाई निरन्तरता दिएको पालिका अध्यक्ष रमेशबाबु थापाले जानकारी दिए । उनका अनुसार आगामी वर्ष खगी मोड ढलान गर्न ३ करोड विनियोजन गरिएको छ । पालिकाको निर्माणाधीन प्रमुख प्रशासकीय भवन पूरा गर्न १ करोड ७५ लाख विनियोजन गरिएको छ । शिक्षा क्षेत्रको सुधारमा पालिकाले बढी जोड दिएको छ । यसका लागि ३ करोड ९ लाख, युवा तथा खेलकुद विकासका लागि १३ लाख ५० हजार, पशु सेवा विकासका लागि ३० लाख, कृषि क्षेत्रमा ४० लाख विनियोजन भएको छ । यस्तै स्वास्थ्य सुधारका लागि १ करोड ७६ लाख विनियोजन गरिएको उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् । आगामी आर्थिक वर्षको लागि पालिकाले ६० करोड ७ लाखको बजेट प्रस्तुत गरेको छ । योमध्ये ७५ प्रतिशत चालूतर्फ र २५ प्रतिशत पूँजीतग शीर्षकमा विनियोजन भएको छ ।

सबैभन्दा बढी पूर्वाधारतर्फ १९ प्रतिशत बजेट विनियोजन गरिएको छ भने प्रशासनिक खर्चका लागि १८ प्रतिशत, आर्थिक विकासका लागि ३ प्रतिशत, सामाजिक विकासमा ११ प्रतिशत विनियोजन भएको छ । सबैभन्दा बढी सशर्त र विशेष अनुदान अन्तर्गतका योजना कार्यान्वयनका लागि ४६ प्रतिशत छुट्याइएको छ । आन्तरिक स्रोतबाट २ करोड ३५ लाख आम्दानी हुने लक्ष्य छ । संघ सरकारले राजश्व बाँडफाँटबाट १० करोड १० लाख, समानीकरण अनुदानमा १४ करोड २४ लाख, सशर्त अनुदानतर्फ २४ करोड ७० लाख, विशेष अनुदान ३ करोड गरी ५२ लाख प्राप्त हुने अनुमान छ भने प्रदेशबाट राजश्व बाँडफाँटतर्फ ७८ लाख, समानीकरण अनुदान २ करोड ४ लाख, सशर्त अनुदान ४० लाख र समपूरकमा ६० लाख गरी ३ करोड ८३ लाख प्राप्त हुने अनुमान छ ।

गण्डकीले प्रत्येक वडालाई ५० लाख दिने

गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ४४ लाखको बजेट प्रस्तुत गरेको छ । जसमा संघ सरकारबाट समानीकरण अनुदान १२ करोड ९७ लाख, २९ करोड सशर्त अनुदान, समपूरकमा २ करोड ९५ लाख, विशेष अनुदान ५० लाख र राजश्व बाँडफाँटबाट ९ करोड ३२ लाख प्राप्त हुने अनुमान छ । यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ८२ लाख, विशेष अनुदान ४० लाख, समपूरकमा ६० लाख र राजश्व बाँडफाँटबाट ८१ लाख ८६ हजार प्राप्त हुने उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन् । उनका अनुसार २ करोड ५ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य छ ।

पालिकाले आगामी वर्ष वडा गौरवका योजना अन्तर्गत प्रत्येक वडालाई ५० लाख विनियोजन गरेको छ भने विपद् व्यवस्थापनका लागि २० लाख, प्रशासनिक भवन बनाउन १ करोड छुट्याइएको छ । फिस्लिङदेखि आग्रिडाँडा भुम्लीचोकबाट भैरवी जोड्ने सडकलाई समपूरक कोषबाट १ करोड ५० लाख राखिएको छ । कृषक प्रोत्साहत कार्यक्रम अन्तर्गत उत्पादनमा आधारित अनुदान दिन ७० लाख, पशुको उत्पादनमा आधारित अनुदान दिन ३० लाख विनियोजन भएको अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार स्थानीय उत्पादन र बजारीकरणमा पालिकाको विशेष ध्यान छ ।

भीमसेनथापाले चक्रपथ बनाउने

भीमसेन थापा गाउँपालिकाले ५६ करोड ५७ लाखको बजेट ल्याएको छ । उपाध्यक्ष अमृता देवी भट्ट वस्तीले प्रस्तुत गरेको बजेट अनुसार नेपाल सरकारको सशर्त अनुदानबाट २५ करोड, ३४ लाख ५८ हजार, समानीकरण अनुदानबाट १२ करोड ४९ लाख, समपूरक अनुदान अन्तर्गत १ करोड ५० लाख, राजस्व बाँडफाँडबाट ८ करोड ७९ लाख प्राप्त हुने अनुमान छ । प्रदेश सरकारबाट समानीकरण अनुदानमा १ करोड ७५ लाख, समपूरक अनुदान ७० लाख, राजस्व बाँडफाँडबाट ५४ लाख ५४ हजार र विशेष अनुदान ३० लाख प्राप्त हुने अनुमान छ । पालिकाले सामाजिक विकासलाई प्राथमिकता दिएको छ । सामाजिक विकासमा ५ करोड ४४ लाख छुट्याइएको छ भने आर्थिक विकासमा ३ करोड ४६ लाख, संस्थागत विकास तथा सुशासनमा १ करोड ३ लाख र वातावरण तथा विपद् व्यवस्थापनमा ७० लाख ८० हजार विनियोजन गरिएको छ । आगामी वर्ष पालिका स्तरीय चक्रपथ निर्माण गर्ने तयारी छ । त्यसका लागि ३ करोड विनियोजन गरिएको वस्तीले बताइन् ।

अजिरकोटले लोकल वाइन बनाउने

अजिरकोट गाउँपालिकाले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको छ । ‘लोकल वाइन’ को बजारिकरण र उत्पादनमा पालिकाले जोड दिइएको हो । पालिकाको अधिकांश कार्यक्रम स्थानीय उत्पादनको बजारसँग जोडिएको छ । गुन्द्रुक प्रवर्द्धन कार्यक्रम, स्याउ प्रवर्द्धन लगायत कार्यक्रमलाई पालिकाले जोड दिएको छ । आगामी आर्थिक वर्षका लागि पालिकाले ४५ करोडको बजेट प्रस्तुत गरेको छ । चालूतर्फ ३१ करोड ६८ लाख र पुँजीगततर्फ १३ करोड ५७ लाखको बजेट प्रस्तुत गरिएको उपाध्यक्ष अनिता भुजेलले जानकारी दिइन् । कृषि क्षेत्रको समग्र विकासका लागि १ करोड १३ लाख विनियोजन गरिएको छ । कृषिमा आधारित अनुदान, एक वडा एक उत्पादन, आलु, प्याज, बेसार, अदुवा लगायत उत्पादनमा आत्मनिर्भर हुने कार्यक्रम अघि सारिएको छ । यस्तै, पशुपक्षीको विकासका लागि ७३ लाख छुट्याइएको छ । होमस्टे र गोठस्टे कार्यक्रम अघि सारिएको छ । यसका लागि पनि ४३ लाख विनियोजन भएको छ भने सिरानडाँडा र उत्तरी गोरखाको रुबीनाला पदमार्ग बनाउन ४५ लाख विनियोजन भएको छ ।

सामाजिक विकासतर्फ प्रविधिमैत्री स्वास्थ्य संस्था बनाउन १ करोड ११ लाख, भच्चेक आधारभूत अस्पतालको मर्मत र गुणस्तर सुधार्न ४० लाख, शिक्षा क्षेत्रका लागि १ करोड ७९ लाख विनियोजन भएको छ । पालिकाले आगामी वर्ष स्थायी प्रशासकीय भवन निर्माण गर्ने योजना ल्याएको छ । त्यसका लागि सुरुमा ४० लाख विनियोजन भएको छ । ओखलढुंगा ताप्ले गोगनपानी सडक स्तरोन्नति गर्न १ करोड ७० लाख, मुच्चोकटार झ्याल्लाभुमे भच्चेक सडकलाई प्रदेश सरकारको समपूरक अनुदान ६० लाख तथा वडा नम्बर ५ को कार्यालय भवन बनाउन ८० लाख छुट्याइएको छ । विपद् व्यवस्थापन र प्रकोप न्यूनीकरण गर्न ५८ लाख ५० हजार बजेट राखिएको छ ।

चुमनुब्रीमा पदमार्गलाई जोड

चुमनुब्री गाउँपालिकाले आगामी आर्थिक वर्ष वृहत् पदमार्ग निर्माण गर्ने भएको छ । पाङसिङ छिहीदेखि रुक्जुङ हुँदै उदेजुङ नेडोल्मासम्म पर्यटकीय पदमार्ग निर्माण गर्ने गरी बजेटमा व्यवस्था गरिएको हो । यसका लागि संघ सरकारले समपूरक अनुदान शीर्षकमा ६० लाख विनियोजन गरेको छ भने पालिकाले त्यसमा थप ६० लाख छुट्याएर १ करोड २० लाख छ । यस्तै, प्राकृतिक विपत्तिबाट सिर्जित समस्या समाधान गर्न र तत्काल राहत तथा उद्धारका लागि २० लाख विनियोजन गरिएको छ । महामारीको रोकथाम तथा व्यवस्थापन गर्न २५ लाख, पदाधिकारी तथा कर्मचारी कामको सिलसिलामा घाइते भई आपत्कालीन उद्धार गर्नुपर्ने कामका लागि १० लाख विनियोजन गरिएको छ । उपाध्यक्ष महिला सशक्तीकरण कार्यक्रम सञ्चालनका लागि १० लाख, अध्यक्षकप खेलकुद चलाउन ५ लाख छ बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष पालिकाले प्रशासकीय भवन निर्माण गर्ने भएको छ ।

त्यसका लागि २ करोड ५० लाख छुट्याइएको छ । स्याउ, दाँते ओखर, लसुन, आलु लगायत बिउ तथा बेर्ना उपलब्ध गराउन १८ लाख, चारपांग्रे सवारी खरिद गर्न १ करोड ३० लाख छुट्याएको छ । दोस्रो पञ्चवर्षीय योजना बनाउन १८ लाख राखिएको छ । आगामी वर्षका लागि उपाध्यक्ष लक्ष्मी गुरुङले ३८ करोड १५ लाख रुपैयाँ बजेट प्रस्तुत गरेकी छिन् । त्यसमध्ये संघ सरकार समानीकरण अनुदान ७ करोड २ लाख, राजश्व बाँडफाँट ८ करोड ३२ लाख, सशर्त अनुदान १२ करोड ३६ लाख, विशेष अनुदान ५० लाख पाउने अनुमान छ । यस्तै, प्रदेशबाट वित्तीय समानीकरण अनुदान ७८ लाख ३१ हजार, राजश्व बाँडफाँट ७८ लाख १७ हजार, विशेष अनुदान ४० लाख, समपूरक अनुदान ६० लाख प्राप्त हुने अनुमान छ भने २९ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य छ । चालू वर्षमा खर्च नभएको ६ करोड ५० लाख पनि बजेटमा समावेश छ ।

बारपाक सुलिकोटमा ६२ करोड

बारपाक सुलिकोट गाउँपालिकाको आगामी आर्थिक वर्षको अनुमानित बजेट झण्डै ६२ करोड छ । उपाध्यक्ष सनमाया गुरुङले ६१ करोड ८७ लाख ३० हजारको बजेट प्रस्तुत गरेकी हुन् । त्यसमध्ये संघ सरकारबाट २५ करोड १६ लाख पाउने अनुमान छ भने गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरणमा १ करोड ८६ लाख, राजश्व बाँडफाँडमा ८० लाख, समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदानतर्फ ४० लाअ अनुमान गरिएको छ । यस्तै, आन्तरिक आयबाट १ करोड ५२ लाख उठाउने लक्ष्य लिइएको गुरुङले सुनाइन् । चालू वर्षको बजेटबाट खर्च नभएको २ करोड ४० लाख अख्तियारी सारिएको छ । पालिकाले रैथाने बाली प्रवर्द्धन, कृषि तथा पशुपन्छी बजारीकरण र मकै बाली प्रवर्द्धनका लागि प्राथमिकता दिएको छ ।

सिरानचोकको ७५ करोड ६४ लाख

सिरानचोक गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ७५ करोड ६४ लाख रहेको छ । सोमबारको गाउँसभामा पालिका उपाध्यक्ष रिता देवकोटाले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । संघीय सरकारबाट ४६ करोड ७३ लाख प्राप्त हुने अनुमान गरिएको छ । समानीकरण अनुदानतर्फ १३ करोड, सशर्त अनुदानतर्फ ३० करोड ८३ लाख, समपूरक अनुदानतर्फ १ करोड ५० लाख र विशेष अनुदानतर्फ १ करोड ४० लाख प्राप्त हुने उपाध्यक्ष देवकोटाले बताइन् । ८० लाख समपूरक अनुदान र २० लाख विशेष अनुदान गरी गण्डकी प्रदेश सरकारबाट १ करोड बजेट प्राप्त हुने अनुमान गरिएको उनले जानकारी दिइन् ।

आरुघाटको बजेट ५७ करोड २७ लाख

आरुघाट गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ५७ करोड २७ लाख रहेको छ । १५ औ गाँउसभामा उपाध्यक्ष कल्पना नेपालीले उक्त बजेट प्रस्तुत गरेकी हुन् । राजश्व बाँडफाँडमा संघीय सरकारबाट ९ करोड २१ लाख र प्रदेश सरकारबाट ६८ लाख २४ हजार प्राप्त हुने बजेटमा उल्लेख छ । आगामी आर्थिक वर्षमा पालिकाको आन्तरिक आय १ करोड १६ लाख रहने बताइएको छ ।

धार्चेमा ४५ करोड बजेट

धार्चे गाउँपालिकाले आगामी वर्षका लागि ४५ करोड रुपैयाँको बजेट अनुमान गरेको छ । उपाध्यक्ष सुनिला गुरुङले ४५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । संघ सरकारको वित्तीय समानीकरण अनुदान ७ करोड ३३ लाख, सशर्त अनुदान १७ करोड ५४ लाख, समपूरकतर्फ १ करोड ५० लाख, विशेष अनुदान २ करोड १५ लाख, राजश्व बाँडफाँटबाट ९ करोड प्राप्त हुने अनुमान छ । यस्तै, प्रदेश सरकारबाट समानीकरणमा १ करोड १० लाख, राजश्व बाँडफाँटबाट ९८ लाक, समपूरक अनुदानमा ६० लाख, विशेष अनुदान ४० लाख र आन्तरिक श्रोत ६० लाख उठाउने लक्ष्य छ । बैंक मौज्दात ४ करोड रहने अनुमान गरिएको छ । पालिकाले आगामी वर्ष पनि सडक स्तरोन्नति र कृषि तथा पर्यटनमा जोड दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप