आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

गण्डकीमा ऊर्जा र पर्यटन मन्त्रालयको बजेट घटाएर १ रुपैयाँ राख्न एमालेको प्रस्ताव

बिहीबार, १३ असार २०८१, १५ : ०६
बिहीबार, १३ असार २०८१

पोखरा । नेकपा एमालेले गण्डकीको बजेटबाट २ मन्त्रालयको बजेट कटौती गरेर १ रुपैयाँ कायम गर्न प्रस्ताव राखेको छ । 

बिहीबार ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफलका क्रममा एमालेका सांसदहरूले दुवै मन्त्रालयको बजेटले प्रतिफल नदिने भएकोले खर्च कटौती गरी १ रुपैयाँ कायम गर्न प्रस्ताव गरेको हो । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल गर्दै सांसद देवका पहारीले आगामी वर्षका लागि प्रस्तावित बजेट जनताको रोजगारीसँग नजोडिएको गुनासो गरिन् । कतिपय योजना व्यक्तिगत घरगोठमा जाने बाटोमा लगानी गरिएको उनको आरोप छ । 

‘रोजगारीसँग बजेट जोडिएको छैन । कतिपय शीर्षकहरू व्यक्तिगत घर, गोठमा पुग्ने पदमार्ग राखिएको छ । यसमा बजेट राखिएको छ,’ उनले भनिन्, ‘व्यक्तिगत कामको लागि पदमार्ग बनाउने होइन, पर्यटकलाई सुविधा दिने गरी आउनुपर्थ्यो, त्यसरी आएको छैन । त्यसैले यो बजेटको खर्च रकमलाई घटाएर १ रुपैयाँ कायम गरियोस् ।’ उनले मन्त्रालयको बजेटले प्रतिफल निकाल्न नसक्ने गुनासो गरिन् ।  

यस्तै, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बजेटमाथि छलफल गर्दै सांसद बेदबहादुर गुरुङले बजेटमा कुनै लक्ष्य र उद्देश्य नभेटिएकोले कार्यान्वयन गर्न नहुने बताए । यो मन्त्रालयमा गत वर्षको भन्दा कम बजेट छ । पूँजीगततर्फ ३ अर्ब ६७ करोड ७७ लाख र चालूतर्फ ३४ करोड ७६ लाख गरी ४ अर्ब २ करोड ५३ लाख बजेट छ । गत वर्षभन्दा यो ५५ करोड कम हो । पुँजीगत गत वर्षभन्दा ५९ करोड घटेको छ । योजनाको सङ्ख्या गत वर्षभन्दा कम छ । टुक्रे योजना २९ सय योजना थियो भने अहिले १७४४ वटा योजना छ ।

 ‘एउटा सकारात्मक कुरा यही हो । यद्यपि यो वर्षको बजेट गत वर्षकै जस्तो १० लाख र १० लाखभन्दा साना छन् । ५० प्रतिशत योजना यस्ता छन् । योजना छनोटको विधि के हो ? कुन प्रक्रियाबाट छानिएको हो ?,’ उनले प्रश्न गरे, ‘कुन लक्ष्य र उद्देश्य बोकेर छनोट भएको हो ? यसमा अन्योल छ । नीति र सिद्धान्तभन्दा बाहिरबाट जथाभाबी योजना वितरण गरेको देखिन्छ ।’ 

उनले नेपालको संविधानको मौलिक अधिकारबाट बाहिर रहेर बजेट बनाइएको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप