मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
परीक्षाफल

२०७१ साल अघिकै अवस्थामा फर्कियो एसईईको नतिजा

बिहीबार, १३ असार २०८१, १४ : २४
बिहीबार, १३ असार २०८१

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।

२०७१ सालपछि पहिलो पटक पास/फेलसहितको नतिजा निकालिएको हो । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्न थालिएपछि पास/फेल अङ्कित नगरी ग्रेडमात्र सार्वजनिक गरिन्थ्यो । कम अङ्क ल्याउने विद्यार्थीहरूको हकमा समेत माथिल्लो कक्षा पढ्न पाउने अवस्था थियो ।

तर, यो पटक भने ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागु भएसँगै नतिजामा पास/फेलको विवरण देखिन थालेको हो । २०८० सालको एसईईको नतिजा २०७१ साल अघिकै अवस्थामा फर्किएको छ ।

लेटर ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गर्नुअघि २०७१ सालमा ४७.४३ प्रतिशत थियो । २०७२ सालदेखिको नतिजा लेटर ग्रेडिङ अनुसार हुँदै आएको थियो ।र विद्यार्थीहरूलाई ग्रेडअनुसार नै कक्षा ११ मा पढ्न पाउने व्यवस्था गरिएको थियो ।

यो वर्ष भने सैद्धान्तिक र प्रयोगात्मकमा कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीको प्रमाणपत्रमा ‘एनजी’ (नन ग्रेडेड) आउनेछ । उनीहरूले कक्षा ११ मा पढ्न पाउने छैनन् । त्यसका लागि बढीमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले एक महिनाभित्र हुने ग्रेड बृद्धि परीक्षामा सहभागी भएर ग्रेड बृद्धि गर्न पाउनेछन् । दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले अर्को वर्ष हुने एसईई परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक लाख १५ हजार ८३४ विद्यार्थीले ग्रेड बृद्धि परीक्षा दिन पाउनेछन् । २०८० सालको नतिजा अनुसार दुई लाख ४२ हजार ३१४ विद्यार्थीको नतिजा ‘एनजी’ आएको थियो । तीमध्ये दुई विषयमा ‘एनजी’ आएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् भने बाँकीले अर्को वर्ष हुने परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

विगतको नतिजा

२०७९ सालमा चार लाख ८४ हजार ९३९ विद्यार्थीले एसईई दिएकोमा १३ हजार ९९२ विद्यार्थीको मात्रै नतिजा ‘एनजी’ आएको थियो, जुन २.८९ प्रतिशत थियो । तल्लो जीपीए ल्याउने विद्यार्थीहरूको सङ्ख्या कम र माथिल्लो जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या बढी थियो ।

३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ थियो, जुन कुल परीक्षार्थीको ४.६३ प्रतिशत थियो ।

२०७८ सालको नतिजामा २२ हजार ५३७ विद्यार्थीको ग्रेड ‘एनजी’ आएको थियो, जुन कुल परीक्षार्थीको ४.५५ प्रतिशत थियो । २०७८ सालमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या नौ हजार ६३३ थियो, जो कुल परीक्षार्थीको १.९४ प्रतिशत थियो ।

२०७७ सालमा भने कोरोना महामारीका कारण पठनपाठन तथा परीक्षा सञ्चालन नहुँदा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो । चार लाख ८४ हजार २७८ विद्यार्थीको नतिजा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरेको थियो ।

त्यस्तै २०७६ सालमा चार लाख ६२ हजार १३६ विद्यार्थीले एसईई दिएकोमा १६ हजार ८८२ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए । २०७५ सालमा चार लाख ४९ हजार ६४२ विद्यार्थीले एसईई दिएकोमा आठ हजार २०७ विद्यार्थीले ई ग्रेड ल्याएका थिए ।

बोर्डले एसएलसी सुरुवातको ८२ वर्षपछि २०७२ सालमा विद्यार्थी फेल नहुनेगरी नतिजा सार्वजनिक गरेको थियो । २०७२ सालको एसईईमा पाँच लाख ८८ हजार १५२ विद्यार्थी सहभागी भएका थिए, जसमा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या १६ हजार ४५४ थियो । ०७२ सालदेखि पास वा फेल केही नभनी ग्रेडमात्र छुट्याउँदै आएको थियो । कति नम्बर आयो भन्ने कुरा समेत नराखी नतिजा प्रकाशन गरिँदै आएको थियो । यो पटक भने जीपीएसँगै फेल हुने विद्यार्थीलाई ‘एनजी’ ग्रेडमा राखिएको हो ।

२०७१ सालमा चार लाख पाँच हजार ३३८ विद्यार्थीले एसएलसी परीक्षा दिएकोमा एक लाख ९२ हजार २६७ विद्यार्थी पास भएका थिए, जुन कुल परीक्षार्थीको ४७.४३ प्रतिशत हो । दुई लाख १३ हजार ७१ विद्यार्थी भने फेल भएका थिए, जुन ५२.५७ प्रतिशत हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप