शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

वैश्विक प्रणाली र यसभित्रका १० प्रमुख अन्तर्विरोध

बिहीबार, १३ असार २०८१, १३ : ३९
बिहीबार, १३ असार २०८१

दुई वा दुईभन्दा बढी विचार, मूल्य–मान्यता तथा अवस्थाबिचको विरोधाभास नै अन्तर्विरोध हो । जुन आपसमा मेल खाँदैन र एक–अर्कालाई अस्वीकार गर्छन् । जहाँ दुई विपरीत पक्ष वा तत्त्व सँगै हुन सक्दैनन्, तर टकराबका बिच नजिक नजिक भने यदाकदा हुने गर्छन् । 

विश्व एउटा सिङ्गो प्रणाली हो भने यसभित्रका विभिन्न एकाइमा विभाजित राष्ट्रहरू उपप्रणाली हुन् । सन् १९७० को दशकमा इमानुयल वालरस्टिनले ‘वर्ल्ड सिस्टम थ्यौरी’ (वैश्विक प्रणाली सिद्धान्त)लाई समाजशास्त्रीय एवं ऐतिहासिक अवधारणाका रूपमा प्रस्तुत गरेका थिए, यस अवधारणाले विश्वको आर्थिक सामाजिक तथा सांस्कृतिक सम्बन्धको अध्ययन गर्दछ । विश्वलाई एकीकृत प्रणालीका रूपमा बुझ्ने प्रयास गर्छ । यो अवधारणा अनुसार विश्व तीन प्रमुख वर्गमा विभाजित छ । केन्द्र (कोर), परिधि (पेरिफेरी) र अर्ध–परिधि (सेमी–पेरिफेरी) । 

कोर

आर्थिक रूपमा सम्पन्न र राजनीतिक रूपमा शक्तिशाली मुलुकहरू कोर वर्गमा पर्छन् । जुन मुलुकहरूले पेरिफेरी र सेमी–पेरिफेरी वर्गका मुलुकबाट सस्तोमा कच्चा पदार्थ र श्रम शक्ति आयात गर्छन् र तयारी वस्तुहरू तिनै मुलुकमा निर्यात गरी महँगोमा बिक्री गर्छन् । विश्वका विकसित र शक्तिशाली मुलुकहरू यस वर्गमा पर्छन् । 

पेरिफेरी

आर्थिक रूपमा विपन्न र राजनीतिक रूपमा कमजोर मुलुकहरू यस वर्गमा पर्छन् । यस्ता मुलुकमा औद्योगिकीकरण तथा आर्थिक विकास एकदमै न्यून रूपमा भएको हुन्छ । यी मुलुकले सस्तोमा कच्चा पदार्थ र श्रमशक्ति सेमी–पेरिफेरी र कोर मुलुकलाई आपूूर्ति गर्छन् र तयारी वस्तु महँगोमा आयात गर्छन् । ठुलो व्यापार घाटा बेहोर्छन् । खासगरी अल्पविकसित मुलुकहरू यस वर्गमा पर्छन् । 

सेमी–पेरिफेरी 

औद्योगिकीकरण र आर्थिक विकासतर्फ उन्मुख तथा मध्यमस्तरको आर्थिक विकास र राजनीतिक शक्ति भएका मुलुकहरू यस वर्गमा पर्छन् । यस्ता मुलुक पेरिफेरी मुलुकसँग बढी सम्बन्धित हुन्छन् भने कोर मुलुकहरूबाट शोषित हुन्छन्, तर कोर मुलुकलाई चुनौती पनि दिन्छन् । विकासशील मुलुक यसमा पर्छन् । 

वैश्विक प्रणालीका प्रमुख अन्तर्विरोध 

आर्थिक व्यवस्थापन, सुरक्षा, संस्थागत संरचना र अन्तर्राष्ट्रिय सम्बन्धको अन्तक्र्रियात्मक अन्तर्सम्बन्धको समुच्य नै वैश्विक प्रणाली हो । यो प्रणालीभित्र अनगिन्ती अन्तर्विरोध रहेका देखिन्छन् । त्यसमध्ये केही टड्कारो र केही गौण छन् । जस कारण वैश्विक प्रणालीमा कहिले ज्वारभाटाजस्तो उतारचढाव देखिन्छ भने कहिले भित्र–भित्र अनगिन्ती छाल रहेको तर सतहमा शान्त समुद्रजस्तो देखिन्छ । तथापि सदावहार तथा मित्रताभित्रको तीक्तता पूर्णरूपमा देखिने प्रमुख अन्तर्विरोधहरू देहायबमोजिम छन् । 

१) आर्थिक असमानता

वैश्विक प्रणालीभित्र रहेका पेरिफेरी, सेमी–पेरिफेरी र कोर मुलुकको विभाजनको प्रमुख आधार नै मुलुकहरूका आर्थिक, राजनीतिक, सामरिक सक्षमता वा दुर्बलता हुन् । वर्तमान वैश्विक प्रणालीभित्रका कोर मुलुक ‘हाइपर ग्लोबलाइजेसन’को अवस्थामा पुगेका छन् भने केही पेरिफेरी र सेमी–पेरिफेरी वर्गका मुलुक भर्खर ग्लोबलाइजेसनको मूल प्रवाहमा समावेश हँुदै छन् । यो प्रणालीले विश्व अर्थतन्त्रलाई एकीकृत गरे पनि गरिब र धनीबिचको खाडल भने व्यापक रूपमा बढाएको छ । 

वैश्विक प्रणाली सिद्धान्तको अवधारणाले विश्वको आर्थिक सामाजिक तथा सांस्कृतिक सम्बन्धको अध्ययन गर्दछ । विश्वलाई एकीकृत प्रणालीका रूपमा बुझ्ने प्रयास गर्छ । यो अवधारणा अनुसार विश्व तीन प्रमुख वर्गमा विभाजित छ । केन्द्र, परिधि र अर्ध–परिधि ।

सन् २०२२ को विश्व बैङ्कको तथ्याङ्क अनुसार विश्वका धनी १० प्रतिशत जनसङ्ख्याले विश्वको ८५ प्रतिशत सम्पत्तिको भाग ओगटेको छ । यस्तो असमानताले आतङ्कवाद, लागु पदार्थको ओसारपसार, अन्तर्राष्ट्रिय द्वन्द्वजस्ता अपराधजन्य घटना बढाउँदै लगेको छ । 

२) व्यापारिक रणनीतिबिच टकराब 

२१औँ शताब्दी क्रमशः व्यापार युद्धको युगमा परिणत हँुदै गएको छ । जसको नेतृत्व परस्पर विरोधी र प्रतिस्पर्धी शक्तिराष्ट्रले गरेका छन् भने अधिकांश राष्ट्र कुनै न कुनै रूपमा यसको सिकार बन्दै गएका छन् । जस्तै ः चीनको नेतृत्वमा सञ्चालित ‘बेल्ट एन्ड रोड इनिसियटिभ प्रोग्राम’ र अमेरिकाको नेतृत्वमा सञ्चालित ‘इन्डो प्यासिफिक प्रोग्राम’ । 

३) वित्तीय संस्था तथा बहुर्राष्ट्रिय कम्पनीहरूको प्रभुत्व

विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, ब्रिक्स बैङ्कजस्ता अन्तर्राष्ट्रिय स्तरका वित्तीय संस्थाहरू र बहुर्राष्ट्रिय कम्पनीले विश्व अर्थतन्त्रलाई प्रभाव पारेका छन् । बहुराष्ट्रिय कम्पनीले स्वदेशी साना उद्योगलाई विस्थापित गर्दै लगेका छन् । ती संस्थाले ऋण सहयोग, अनुदान तथा खुला व्यापारका सर्तमार्फत कमजोर राष्ट्रहरूमाथि शोषण गरेका छन् । जसले आर्थिक असमानताका साथै सामाजिक असन्तुष्टिलाई बढाउँदै लगेको छ । 

४) सुरक्षा चुनौती 

सोभियत रुस र वार्सा प्याक्टको विघटन सँगै विश्वमा शीतयुद्धको अन्त भयो भनियो । व्यवहारमा भने दुई ध्रुवीय विश्वको स्थानमा एक ध्रुवीय विश्व बन्न पुग्यो, तर हाल विश्व हरेक हिसाबले बहुध्रुवीय बन्दै गएको छ र बहुध्रुवीय टकराब पनि सुरु भएको छ । जस्तै ः साउथ चाइना सी, ताइवान, तिब्बतजस्ता विषयमा अमेरिका र चीनका बिचमा टकराब देखिन्छ । भारत–पाकिस्तान र रुस–अमेरिका बिच पनि मनमुटाब देखिन्छ । शक्ति राष्ट्रहरूबिच हुने यस्ता प्रतिस्पर्धाले विश्व शान्तिमा खलल पु¥याउने देखिन्छ । 

५) अन्तर्राष्ट्रिय अपराध

आतङ्कवाद, जातीय द्वन्द्व, विद्रोह, सङ्गठित अपराधजस्ता गतिविधिले पनि अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर समस्या सिर्जना गरेको छ । ओसामा बिन लादेनले अमेरिकाको जुम्ल्लाहा भवनमा गरेको आक्रमण र लादेनको खोजीका नाममा अमेरिकाले अफगानिस्तानमाथि गरेको आक्रमण; केही समयअघि रुसमा निजी सुरक्षा कम्पनीले गरेको विद्रोह इत्यादि यसका उदाहरण हुन् । 

६) अन्तर्राष्ट्रिय संस्थाहरूको असफलता र असन्तुलन

संयुक्त राष्ट्र सङ्घको प्रमुख उद्देश्य विश्व शान्ति कायम गर्नु हो, तर समानान्तर शक्ति अभ्यास गर्ने ‘सुरक्षा परिषद्’का पाँच भिटो राष्ट्रका कारण निर्णयमा असन्तुलन ल्याउने गरेको छ । उदाहरणका लागि रुस–युक्रेन युद्ध हालसम्म रोक्न नसक्नू । इजरायल–हमासबिचको युद्ध लामो समयसम्म चल्नु । यी घटनाले संयुक्त राष्ट्र सङ्घको पनि असफलताको सङ्केत गर्छ । संयुक्त राष्ट्र सङ्घजस्तो संस्था कमजोर बन्दै जानु विश्व शान्तिका लागि दुर्भाग्य हो, जसको विकल्प छैन । 

७) धार्मिक वर्चस्व कायम गर्ने होडबाजी 

भनिन्छ आजको अध्ययनको विषय अन्तरिक्ष होइन, मानव मस्तिष्क हो । एआईको विकासले यो भनाइलाई पुष्टि गरेको छ । यद्यपि दुनियाँका विकसित र शक्ति राष्ट्र भने धार्मिक वर्चस्व कायम गर्न उद्यत रहेका देखिन्छन् । इसाई, मुस्लिम, हिन्दु तथा बुद्धिस्ट धर्मका कट्टरपन्थीहरू दुनियाँमा आफ्नो धर्मको मात्र वर्चस्व कायम गर्न चाहन्छन् । त्यसका लागि विभिन्न बहानामा लगानी गर्छन् । यस्तो प्रवृत्तिले धार्मिक द्वन्द्व बढ्ने खतरा हुन्छ । 

८) पुँजीवाद र साम्यवादबिच टकराब

वैचारिक, आर्थिक र शासन प्रणालीका हिसाबले पुँजीवाद र साम्यवाद परस्पर विरोधी शासन व्यवस्था हुन् । कम्युनिस्टहरू विश्वमा साम्यवाद स्थापना गर्न चाहन्छन् । पुँजीवादलाई प्रधान शत्रु ठान्छन् । त्यसै गरी आफूलाई प्रजातन्त्रवादी भन्ने पुँजीवादका पक्षधरहरू दुनियाँबाट साम्यवादको अन्त्य चाहन्छन् । 

९) विकासका मोडलहरू बिचको टकराब 

वासिङ्टन सहमति, बेइजिङ सहमति र सान्टियागो सहमति आधुनिक विश्वका अन्तर्राष्ट्रिय स्तरका विकासका मोडल हुन् । तीनवटै विकासका मोडलका प्रस्तोता र नेतृत्वकर्ता आफ्नो विकासको मोडल सही भएको दाबी गर्छन् र आफ्नो प्रभावका मुलुकलाई अपनाउन अघोषित दबाब दिन्छन् । 

१०) सीमा विवाद 

अधिकांश मुलुकका बिच सीमासम्बन्धी विवाद छन् । सीमा विवादका कारण विश्वमा धेरै युद्ध भएका छन्, भविष्यमा पनि हुन सक्ने सम्भावना उत्तिकै छ । सीमामा पर्खाल लगाउने, काँडेतारले घेर्ने, सैनिक क्याम्प राख्ने जस्ता मुद्दा उठिरहेका पाइन्छन् । सीमा मिचेका विवाद अझै धेरै छन् । 

यी भए वर्तमान वैश्विक प्रणालीभित्रका मुख्य अन्तर्विरोध । विगतमा पनि पहिलो र दोस्रो विश्वयुद्ध लगायत अनगिन्ती क्षेत्रीय युद्ध तत्कालीन वैश्विक प्रणालीभित्रका अन्तर्विरोधले भएका थिए । माथि उल्लेख गरेका बाहेक अन्य थुप्रै गौण अन्तर्विरोध पाइन्छन् । जस्तै ः जलवायु परिवर्तन र पुँजीवादको विकास; श्रमिक र पुँजीपति बिचको ‘इन्ट्रेस्ट अफ कन्फ्लिक्ट’; व्यक्तिवाद र सामूहिकता; यथास्थितिवादी, प्रगतिशील र प्रियतावादबिचको टकराब आदि । विश्व शान्ति र स्थिरताका लागि भने यस्ता अन्तर्विरोधको न्यूनीकरण गर्न अनिवार्य हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप