आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
परीक्षाफल

एसईईको नतिजा घोषणा, ३१ हजारले ल्याए सर्वाधिक जीपीए

ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते
बिहीबार, १३ असार २०८१, ११ : ५४
बिहीबार, १३ असार २०८१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी गराएका हुन् । 

परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार२७० जना थिए । जसअनुसार पुरुष १ लाख १४ हजार ४८ र महिला १ लाख २८ हजार २५७ जना गरी कुल २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण (एनजी) हुँदा  बाँकी विद्यार्थी विभिन्न जीपीएसहित उत्तीर्ण भए ।  बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । 

यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना  विद्यार्थी रहेका छन् । 

नतिजाअनुसार ५२.१३ प्रतिशत अनुत्तीर्ण हुँदा ४७.८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

परीक्षामा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण भएका छन् । यस्तै ८ जना फेल भएका छन् । 

बोर्डका अनुसार जीपीए २.४० देखि २.८०, जीपीए २.८० देखि ३.२०, जीपीए ३.२० देखि ३.६० र जीपीए ३.६० देखि ४.०० ल्याएर १/१ जना गरी ४ जना उत्तीर्ण भएका हुन् । परीक्षा दिएका १२ जनामध्ये ८ जना भने अनुत्तीर्ण भएको बोर्डले बिहीबार जनाएको छ । 

परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शर्माले बताए । 

यस्तै बोर्डले विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको पनि जनाएको छ । नतिजाअनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ । 

यस्तै रौतहटका १, महोत्तरीका ३९, खोटाङका ३, धनुषाका ४, सर्लाहीका ६, सत्तरीका १५४ र भोजपुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो ।

विषयगत आधारमा अंग्रेजीको १, गणितको ६७, नेपालीको ४, विज्ञानको १४, सामाजिकको ५, ऐच्छिक गणितको ७१, अर्थशास्त्रको १३, जनसंख्याको ७, वातावरण विज्ञानको २, स्वास्थ्य शारीरिकको ३, प्राविधिक विषयको ७ र सबै विषयको २६ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । 

448611092_1193763871801862_5469579416225031657_n

प्रदेशगत नतिजा

नतिजाअनुसार कोशी प्रदेशबाट सहभागी कुल ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ जना परीक्षार्थी अनुत्तीर्ण  भएका छन् ।

यसैगरी मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ४२ हजार २८६ जना, बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ३३ हजार ८४२ जना अनुत्तीर्ण भएका छन् । 

यसैगरी गण्डकी प्रदेशबाट कुल ४० हजार ५२६ जना परीक्षार्थीमध्ये २० हजार २७५ जना, लुम्बिनीबाट ८० हजार ३२७ जना परीक्षार्थी सहभागी भएकामा ४९ हजार २२४ जना फेल भएका छन् । 

यसैगरी कर्णालीबाट ३५ हजार ३४ जना परीक्षार्थीमध्ये २० हजार ३८० जना र सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । 

ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते

यसैगरी एसईईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी आएको छ । 

जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले बताए । 

एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन भएको बोर्डले जनाएको छ । 

बोर्डका अनुसार नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६०० सर्टकोड) मार्फत हेर्न सकिन्छ । यस्तै स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकमार्फत एसएमएसमार्फत क्रमशः सर्टकोटहरु ३४४५५, ३५००१, ३४९४९, ३१००३ प्रयोग गरेर हेर्न सकिन्छ । 

यस्तै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np लगायतका वेबसाइट प्रयोग गरेर हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप