बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बरेङ

बिहीबार, १३ असार २०८१, ०९ : १४
बिहीबार, १३ असार २०८१

बागलुङ । जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ । बितेको एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन् । घरमै सुत्केरी हुने परम्परा हटाउन पालिकाले सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेर घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरिएको हो ।

बुधबार एक कार्यक्रमबीच गाउँपालिकाले घरमा सुत्केरी हुने र खोप नलगाएका बालबालिका नरहेको घोषणा गरेको हो । गाउँपालिकालाई घरमा शून्य सुत्केरी र पूर्ण खोप सुनिश्चितता एकै पटक घोषणा गरिएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। परम्परागत रूपमा सुत्केरी हुँदा आमा र शिशु दुवै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेपछि सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’मा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरलाई आधारभूत स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले लगानी गरेको थियो । 

स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाले अथक प्रयास गरेर गाउँपालिकालाई घरमा शून्य सुत्केरी पालिका बनाइएको अध्यक्ष शर्माले बताए। घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिला जानकार बनेपछि स्वास्थ्यचौकीमा पुग्न थालेका छन् । सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने गरेको उनले बताए । जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ ।

गाउँपालिकाका गर्भवतीलाई स्वास्थ्यकर्मीले मासिक रुपमा घरमै पुगेर परीक्षण गर्ने र आफ्नै वडाका बर्थिङ सेन्टरमा सुत्केरी गराउने गरेका थिए । स्वास्थ्यचौकीमा सुत्केरी गराउन समस्या रहेकालाई अस्पतालमा पठाउने गरिएको थियो । चालु वर्षमा पालिकाका एक सय ३२ सुत्केरी भएका छन् । जसमध्ये ६९ जना बर्थिङ सेन्टरमा र ६३ जना अन्यत्र अस्पतालमा सुत्केरी भएका पालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले बताए ।

गोरु पाल्ने किसानलाई नगद अनुदान
यसैबीच, जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षमा गोरु पाल्ने तीस जना किसानलाई प्रोत्साहनस्वरूप रु दश हजारका दरले अनुदान प्रदान गरेको छ । जैमिनी गाउँपालिकाको सिको गर्दै आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा यहाँका तीन स्थानीय तहले गोरुका लागि बजेट छुट्याएका छन् ।

काठेखोला पालिकाले पनि गोरुका लागि बजेट  विनियोजन गरेको छ । “गोरु पाल्न छोडेपछि घाँसको खपत घटेको छ, गोबर मलको अभाव हुन थालेको छ, त्यसैले हामीले गोरु पाल्नका लागि प्रोत्साहन गर्न थालेका हौँ ।” काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले भने । गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा परम्परागत बाली संरक्षणमा टेवा पुग्ने उनको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप