अबको बजेट कस्तो र कुन आकारको हुनपर्छ ? अर्थशास्त्रीहरू यसो भन्छन्
अर्थशास्त्रीहरूले स्रोतको पहिचान नगरी बजेटको आकार बढाउन नहुने तर्क गरेका छन् । अर्थविदहरूले खर्चको आवश्यकता र राजस्व उठाउने क्षमता हेरेर बजेट निर्माण गर्न सुझाएका छन् ।
अर्थविद प्रा.डा. चन्द्रमणि अधिकारी देश सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले तीनै तहको व्यवस्थापन हुने खालको बजेट बनाउनुपर्ने बताउँछन् । आगामी बजेट अघिल्ला बजेटभन्दा पृथक हुनुपर्ने बताउँदै उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिँदै प्राथमिकता प्राप्त क्षेत्रलाई हेरेर बजेट निर्माण गर्नुपर्छ । स्थानीयको क्षमता विकासलाई ध्यान दिँदै तल्लो तहको अधिकार कार्यान्वयन गर्ने खालको बजेट ल्याउनुपर्छ ।’
रातोपाटीसँग कुरा गर्दै प्रा.डा. अधिकारीले पुँजी गत खर्च हुने गरी आकार नबढाई बजेट ल्याउनुपर्ने बताए । आर्थिक वृद्धि हुने, निजी क्षेत्रको लगानीलाई आकर्षित गर्ने बजेट ल्याउन उनले सुझाए ।
अर्का अर्थविद डा. शंकर शर्मा बजेटको आकार अहिलेको भन्दा ठूलो हुन नहुने बताउँछन् । बजेटको आकार मात्र बढाएर आर्थिक समृद्धि हँुदैन । स्रोतले धान्न सक्ने बजेट ल्याउनुपर्छ, उनले भने । राजस्व बाँडफाँडबाट उठ्ने रकमको ठूलो हिस्सा स्थानीय र प्रदेश तहमा जाने भएकाले बजेटको आकार बढाउन नहुने उनको भनाइ छ ।
अर्थशास्त्री प्रा.डा. डिल्लीराज खनाल पनि बजेटको सिलिङभन्दा पनि तिनै तहको दायित्व र खर्चको विषयमा स्पष्ट भएर बजेट निर्माण गर्नुपर्ने बताउँछन् । अबको बजेट प्रणालीमा नयाँ रूपान्तरणको आवश्यकता रहेको उनको तर्क छ ।
अर्थमन्त्रालयका प्रवक्ता किशोरजङ्ग कार्कीले समृद्ध नेपाल र सुखी नेपालीको भावलाई आत्मसात गर्दै बजेट निर्माण भइरहेको जनाएका छन् । अर्थमन्त्रालयले अहिले मन्त्रालयगत छलफलाई तीव्र बनाएको उनले भने ।
केही समयअघि राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको (२०७५/७६) बजेटका लागि १२ खर्ब ४ अर्ब रुपियाँको सिलिङ अर्थमन्त्रालयलाई पठाइसकेको छ । सोही सिलिङभित्र रहेर अर्थमन्त्रालयले बजेट निर्माण गर्नुपर्ने हुन्छ । यद्यपि सिलिङभन्दा बाहिर गएर पटक पटक बजेट ल्याउने गरिएको छ । चालु आर्थिक वर्षको ( २०७४/७५) लागि १२ खर्ब ७८ अर्ब रुपियाँको बजेट ल्याइएको थियो । तर पछि २ खर्बको स्रोत नभेटिएको भन्दै बजेटको आकार घटाइएको हो ।
संसदमा बजेट पेश हुन अब एक महिनाभन्दा कम समय छ । जेठ १५ गते संसरदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थमन्त्रालयले बजेटको छलफललाई तीव्र बनाएको छ । देशमा अहिले ७६१ वटा सरकार छ, यसकारण पनि आगामी आर्थिक वर्षको बजेटलाई विशेष चासोका साथ हेरिएको छ ।
तीनवटा अनुदानको सीमा तोकियो
सरकारले तीनवटा अनुदानको सीमासमेत तोकेको छ । आगामी आर्थिक वर्ष ०७५/७६ का लागि समपूरक अनुदानमा ६ अर्ब रुपियाँ र विशेष अनुदानमा ४ अर्ब रुपियाँ सीमा तोकेको छ । स्रोत समितिको बैठकले दुई तहमा जाने अनुदानको सीमा टुङ्गो लगाएको हो । यो बैठकमा राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयको समेत सहभागिता थियो ।
यसअघि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सरकारले वित्तीय समानीकरणको सिलिङ पठाइसकेको छ । यता अर्थशास्त्री शंकर शर्मा अनुदानको सीमा तोक्दा पिछडिएको क्षेत्र, जनसङ्ख्या, भूगोल, स्वास्थ्य, शिक्षालगायतको विषयलाई समेटिएको फर्मुला प्रयोग गर्नुपर्ने बताउँछन् । प्रदेश र स्थानीय तहमा व्यापक छलफल चलाएपछि मात्र अनुदान तोक्दा त्यसले उनीहरूको मर्म बुझ्न सक्ने उनको तर्क ।
केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई दिने समानीकरण, सशर्त, विशेष र समपूरक गरी चारवटा अनुदान छन् । प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्वको क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान दिने कानुनी व्यवस्था छ भने उनीहरूको योजना कार्यान्वयन गर्नका लागि सशर्त अनुदान दिने व्यवस्था छ । प्रदेश र स्थानीय तहले पूर्वाधारसम्बन्धी योजना कार्यान्वयन गर्न कुल लागत अनुपातका आधारमा केन्द्र सरकारबाट समपूरक अनुदान पाउँछन् भने सन्तुलित विकासका लागि विशेष अनुदान दिने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु