सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, १२ असार २०८१, २१ : ३४
बुधबार, १२ असार २०८१

आज २०८१ असार १२ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • जोखिममा कर्णाली

कर्णाली विपद् जोखिमको हिसाबले उच्च जोखिममा रहेको प्रदेश हो ।  विशेषगरी कर्णालीका सुर्खेत बाहेकका जिल्लाहरू पहिरोको उच्च जोखिममा पर्दछन् भने सुर्खेतमा बाढीको जोखिम हुन्छ । यद्यपि कर्णाली, भेरी नदी तथा दर्जनौँ खोलानालाहरू भएको हुँदा अन्य जिल्लाहरूमा पनि बाढी जोखिम पनि उत्तिकै रहन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कर्णालीमा पहिरो, बाढी, चट्याङ्ग जस्ता तीनवटै विपद्को जोखिम उच्च रहेको छ । 

  • धान लगाउने परिपाटी फेरिँदै

 नेपालमा पछिल्लो समय धान लगाउने परिपाटी फेरिएको छ । हलो, गोरु र रैथाने बिउको प्रयोग गरी आकाशे पानीको भरमा गरिँदै आएको धान खेतीमा आजभोलि विभिन्न प्रविधि प्रयोग गर्न थालिएको छ ।

  • बल्झियो वायुसेवा निगम र प्राधिकरणबिचको ‘शीतयुद्ध’

राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगम र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबिचको तिक्ततापूर्ण सम्बन्ध पुनः सतहमा आएको छ । निगमले विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको भन्दै नियामक प्राधिकरणले मंगलबार कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित पाँच जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको हो । 

  • सर्पका नाममा यसरी भयो भ्रष्टाचार

 विशेष अदालतले मंगलबार सर्पदंश उपचार केन्द्र स्थापनाका लागि राज्यको ढुकुटीबाट रकम खर्च हुने गरी खोलिएको तत्कालीन ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा भ्रष्टाचार भएको ठहर गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेटमा तत्कालीन मन्त्रीसहित पाँच जनाको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै उनीहरूलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

  • राजदूत भागबन्डा र विवाद

सरकारले असार ७ गते रिक्त ११ मध्ये ८ देशका लागि राजदूतको नाम सिफारिस गर्‍यो । सत्ता गठबन्धनभित्रका नेकपा एमाले, माओवादी केन्द्र र जसपाबिचको भागबन्डामा ती नाम सिफारिस भएका थिए ।

  • नयाँ ग्रेडिङ प्रणाली

राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दैछ । त्यसका लागि बोर्डले बिहीबार बिहान बोर्डको बैठक बोलाएको छ भने बिहान ९ बजेका लागि पत्रकार सम्मेलन राखेको छ ।

  • प्राकृतिक विपद्

बाढी, पहिरो र चट्याङका कारण बुधबार देशभर १४ जनाको मृत्यु भएको छ । पहिरोबाट ८ जना, चट्याङबाट ४ जना र बाढीले बगाएर दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • रास्वपा महामन्त्रीको प्रतिवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार पारेका छन् । उपनिर्वाचनलगत्तै देशका विभिन्न क्षेत्रमा घुमेपछि उनले तयार गरेको प्रतिवेदनमा उनले पार्टीकोे जनमत कमजोर बनिरहेको भन्दै यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने विश्लेषण गरेका छन् ।

  • महान्यायाधिवक्ताकाे लिखित जवाफ

सहकारी ठगी प्रकरणमा जोडेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले लिखित जवाफ पेस गर्दै खारेज हुनुपर्ने माग गरेका छन् ।  महान्यायाधिवक्ता पोखरेलले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा निवेदकको उक्त विषयमा सार्थक सम्बन्ध र सरोकार नै नरहेको जिकिर गरिएको छ। 

  • अध्यक्षमा घनश्यामलाई झलनाथको साथ

नेकपा एकीकृत समाजवादीको नेतृत्व (अध्यक्ष) पदको दाबीबाट सम्मानित नेता झलनाथ खनाल पछि हटेका छन् । यसअघि जसको विचार उसैको नेतृत्व भन्दै आएका खनाल महाधिवेशनको सम्मुखमा आएर अध्यक्षको दाबीबाट पछि हटेका हुन् । यसअघि अध्यक्षमा माधवकुमार नेपालसहित झलनाथ खनाल र घनश्याम भुसालले अध्यक्षमा दाबी गर्दै आएका थिए । खनालपछि हटेसँगै उनको साथ भुसाललाई हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप