शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

कर्णालीको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गियो

बुधबार, १२ असार २०८१, २१ : २३
बुधबार, १२ असार २०८१

सुर्खेत । कर्णाली प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । नेपाली कांग्रेसरले बजेटका सन्दर्भमा उठाएका विषय छलफल गर्न बुधबार बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको हो । 

कांग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । कांग्रेसको माग सम्बोधन गर्न बसेको बैठकमा सहमति नभएपछि प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बुधबार प्रदेशसभा बैठक चल्न नसकेपछि सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित गरिएको  

सर्वदलीय बैठकमा मुख्यमन्त्री यामलाल कँडेल, अर्थमन्त्री महेन्द्र केसी, एमालेका तर्फबाट प्रमुख सचेतक टेकराज पछाई, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को तर्फबाट संसदीय दलका नेता राजकुमार शर्मा र सांसद कृष्णबहादुर जिसी, प्रतिपक्षी दल कांग्रेसका तर्फबाट प्रमुख सचेतक हिक्मत विष्ट र पूर्वअर्थमन्त्री समेत रहेका सांसद बेदराज सिंह सहभागी थिए । 

बैठकमा कांग्रेसले आफूहरूले उठाएका विषय सरकारले गम्भीर रूपमा लिनुपर्ने राखेको थियो । 

पूर्वअर्थमन्त्री समेत रहेका सांसद सिंहले सरकारले बजेटको रकम एउटै ठाउँमा थुपारेको, १५ लाख मुनिका योजना तर्जुमा नगर्ने भनेको, विकट पालिकामा विशेष अनुदान नदिएको, कसैलाई समपूरक पनि नदिएकोदेखि ‘एक पालिका एक विद्यालय’को अवधारणा हटाइएको लगायतका विषयमा कांग्रेसको असहमति रहेको बताए । उनले यी विषय सरकारले सच्याउनुपर्ने बताए ।  

मुख्यमन्त्री कँडेल प्रतिपक्षमा हुँदा उठाइएको १७ लाख मुनिका टुक्रे योजना नियन्त्रणको विषयमा अहिले ध्यान नदिएको  कांग्रेसले बताएको छ । यस्तै सत्तारुढ दलकै सांसदहरूले पनि बजेटमा त्रुटि भएको बताउँदै आएका छन् । 

सिंहले बजेटमा सत्तापक्षका सांसदहरू पनि असन्तुष्ट रहेको भन्दै कांग्रेसले प्रतिनिधित्व गरेको बताए । ‘हामीले हाम्रो होइन, जनताको माग राखेको हो,’उनले भने, ‘आजको बैठकमा मुख्यमन्त्रीज्यू पनि सकारात्मक देखिनु भएको छ । उहाँहरूलाई पनि कमजोरी भएको लागेको छ । बिहीबारसम्म केही निष्कर्ष आउला ।’

सिंहले कांग्रेसले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । बजेट संशोधनकै माग गरेपनि त्यो अभ्यास नभएकाले सुधार गरेर जानुपर्ने उनको भनाइ छ । प्रतिपक्षले उठाएका मागलाई नजरअन्दाज राम्रो नहुने उनको भनाइ छ ।

गत वर्ष कांग्रेसबाट सिंह अर्थमन्त्री हुँदा ल्याएको बजेटका टुक्रे योजना नियन्त्रण गर्नुपर्ने माग राख्दै तत्कालीन प्रतिपक्ष दल एमालेले लगातार संसद् अवरुद्ध गरेको थियो । 

पछि सरकारले ७ बुँदे सम्झौता गरेर बजेट पास गरेको थियो । अहिले कँडेल मुख्यमन्त्री हुँदा उक्त कुरा लागू नभएको भन्दै  कांग्रेसले सोही विषय उठाइरहेको छ । कांग्रेसले पनि लिखित रूपमै सहमति गर्नुपर्ने माग राखेको छ ।  

बैठकमा सहभागी एमाले प्रमुख सचेतक पछाईले बैठक बिना निष्कर्ष टुङ्गिएको बताए । उनले छलफल सकारात्मक भएको बताए । यस्तै बैठकमा सहभागी पूर्वमन्त्री कृष्णबहादुर जिसीले कांग्रेसले उठाइएका विषयहरू राजनैतिक सहमतिका आधारमा समाधान गरेर जानेतर्फ छलफल भइरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप