शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

प्राकृतिक विपद‍्मा परी दुई दिनमा ९ जनाको मृत्यु, ३ जना बेपत्ता

बुधबार, १२ असार २०८१, २० : ४०
बुधबार, १२ असार २०८१

विराटनगर । झापा, मोरङ, सुनसरी र ओखलढुङ्गामा बाढी, पहिरो र चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ । यस्तै बाढीले बगाएर तीन जना बेपत्ता भएका छन् भने सर्पले डसेर झापामा एक बालकको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार झापामा चट्याङ लागेर मंगलबार एकैदिन तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापा गाउँपालिका–४, लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलम, कमल गाउँपालिका–२, समयगढका ४६ वर्षीय राजन खड्का, गौरादह–८ का ४२ वर्षीय विकास गिरी छन् ।

यस्तै बुधबार नैसुनसरीको रामधुनी नगरपालिका–४ का ३० वर्षीय उमेश कुमार चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ ।

मोरङ केराबारी गाउँपालिका–४ का चित्रबहादुर राईको ११ वर्षीय छोरा श्याम राईलाई मंगलबार नै स्थानीय गोगुने खोलाले बगाउँदा मृत्यु भयो । मोरङकै सुन्दरहरैंचा–५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा सुन्दरहरैचा–५ की २२ वर्षीया प्रेमकला चौधरी छन् । सोही खोलाले बगाएका स्थानीय ६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी अहिलेसम्म बेपत्ता छन् ।

उता, झापाको मेचीनगर नगरपालिका–१४ स्थित फूलबासा खोलामा डुब्दा एक जना बालकको मृत्यु भएको छ । मंगलबार बेलुका मेचीनगर–१४ का बामरा सतारको डेढ वर्षका छोरा रिहान सतार घर नजिकै रहेको फूलवासा खोलामा खेल्ने क्रममा अचानक डुबेका थिए ।

यस्तै ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–५ थुम्की स्थितमा पहिरोले घर पुरिँदा एक जना महिलाको मृत्यु भएको छ । अविरल वर्षाको कारण बुधबार बिहान स्थानीय बाबुराम खत्रीको एक तले कच्ची घर र गोठसमेत पहिरोले पुर्दा घरभित्र बसेका ३९ वर्षीय बाबुराम खत्री, उनको ३५ वर्षीय श्रीमती देव कुमारी खत्री र १८ वर्षीय छोरी मेनुका खत्री समेत पुरिएका थिए । प्रहरीको उद्धार टोली र स्थानीयको सहयोगमा बाबुराम खत्री र छोरी मेनुकालाई सकुशल उद्धार गरिए पनि देव कुमारी खत्रीको भने मृत्यु भएको हो ।

यस्तै झापाको कचनकवल गाउँपालिका–३ ठुलो केचना बस्ने हरिप्रसाद राजवंशीको १२ वर्षीय छोरी मनिषा राजवंशीको सर्पले डसेर मृत्यु भएको छ । आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा उनलाई विषालु सर्पले टोकेको थियो ।

यस्तै मोरङको रंगेली नगरपालिका ४ मा ४५ वर्षका योगेन्द्र मण्डललाई बाढीले बगाएको छ । उनी अहिलेसम्म फेला पर्न सकेका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप