देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु

काठमाडौँ । बाढी, पहिरो र चट्याङका कारण बुधबार देशभर १४ जनाको मृत्यु भएको छ । पहिरोबाट ८ जना, चट्याङबाट ४ जना र बाढीले बगाएर दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अविरल वर्षाका कारण लमजुङ, कैलाली, विराटनगर, कास्की, कपिलवस्तु, तनहुँ र ओखलढुंगामा १८ जना घाइते भएका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ मा आँधीखोलाले बगाउँदा ३५ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी (डीएसपी) इन्द्र बहादुर रानाका अनुसार मृत्यु हुनेमा सूर्य भण्डारी छन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ ।
कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–३ भितरिया बस्ने ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय शालिम चौधरी छन् । खेतमा काम गर्दा चट्याङ परेर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
कैलालीमा चट्याङ पर्दा ६ जना घाइते भएका छन् । घाइते हुनेमा जानकी गाउँपालिका–४ बस्ने २९ वर्षीय रिता कठरिया, २३ वर्षीय सुस्मा डगौरा, भजनी नगरपालिका घर भएका ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी बस्ने ९ वर्षीय सरस्वती भुल र ७ वर्षीय पारु कठायत छन् । घोडाघोडी–९ घर भएकी १० वर्षीय खिमा काठायत पनि घाइते भएकी छन् ।
मोरङको रंगेली नगरपालिका वडा नम्बर–४ मा घाङी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । ४५ वर्षीय नागेन मण्डलको मृत्यु भएको मोरङका एसपी नवराज कार्कीले रातोपाटीलाई बताए । मंगलबार बुढी खोलाले बगाएको दुई जनाको अवस्था अझै अज्ञात छ ।
अविरल वर्षासँगै आएको बाढी विराटनगर महानगरपालिका–६ स्थित बस्तीमा पसेको छ । बाढीका कारण करिब ५ सय परिवार विस्थापित भएका छन् । विराटनगर–१२ मा ६० वटा घर डुबेका छन् ।
लमजुङको दोर्दी गाउँपालिका–९ मा मंगलबार राति गएको पहिरोका कारण घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार छन् । पहिरोमा परेर १८ वर्षीय मिलन सुनार घाइते भए । पहिरोका कारण बेसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
लमजुङको क्वहोलासोथर गाउँपालिका–३ मा पहिरोमा परेर ६९ वर्षीय रुद्रमान गुरुङसहित ४ जनाको मृत्यु भएको छ । बगुमस्थित पच्युटोलमा पहिरो जाँदा ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीय छोरी नम्रता र ७ वर्षीय इच्छा गुरुङको मृत्यु भएको छ ।
कास्कीको मादी गाउँपालिकामा पहिरोमा परेर दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिका घर हुने १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका २३ वर्षीय अनमोल सुनार छन् । पहिरोका कारण दुई जना घाइते भएका छन् ।
त्यस्तै, पोखरा महानगरपालिका–१४, चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । पृथ्वी राजमार्ग अन्तर्गतको सो सडक एकतर्फी खुला गरिएको छ ।
चितवनको माडीस्थित मगै खोलाले बगाएर एक जनालाई बेपत्ता बनाएको छ । माडी नगरपालिका–५ बस्ने ४५ वर्षीय रणबहादुर कामी बेपत्ता भएको चितवनका एसपी भावेश रिमालले रातोपाटीलाई बताए ।
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्कीमा पहिरो जाँदा ३५ वर्षीय देव कुमारी खत्रीको मृत्यु भएको छ । ओखलढुंगामा पहिरोका कारण दुई जना घाइते भएका छन् ।
कपिलवस्तुमा चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यशोधरा गाउँपालिका–८ घर भएका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका घर भएका १८ वर्षीय राजु ठाकुर छन् । नवलपरासी पूर्वमा पनि चट्याङ परेर एक जना घाइते भएका छन् ।
दैलेखस्थित भैरवी गाउँपालिकामा चट्याङ लागेर ५५ वर्षीय धीरबहादुर शाही र २६ वर्षीय कुसुम शाही घाइते भएका छन् ।
विराटनगर विमानस्थल सुचारु
वर्षाका कारण अवरुद्ध भएको विराटनगर विमास्थल सुचारु भएको छ । पानीको मात्रा सतहबाट माथि आएपछि बन्द भएको विमानस्थल अहिले सुचारु भएको मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ केजी ४७५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना पक्राउ
-
कर्णाली सरकारले ल्यायो ‘घर बीमा’ कार्यक्रम
-
ट्रम्पको क्याबिनेट बैठकको कभरेज गर्नबाट प्रमुख समाचार संगठनमाथि रोक
-
सामाजिक अधिकार एक सेन्टिमिटर पनि तलमाथि हुँदैन : प्रधानमन्त्री
-
नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा, वायु गुणस्तर ‘अत्यन्तै अस्वस्थकर’
-
स्याङ्जामा मगर दिवस मनाइँदै