बिहीबार, २२ कात्तिक २०८१
ताजा लोकप्रिय
शिक्षा

कस्तो आउला नयाँ ग्रेडिङ प्रणाली अनुसार एसईईको नतिजा ?

बिहीबार, १३ असार २०८१, ०६ : ०५
बिहीबार, १३ असार २०८१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दैछ । त्यसका लागि बोर्डले बिहीबार बिहान बोर्डको बैठक बोलाएको छ भने बिहान ९ बजेका लागि पत्रकार सम्मेलन राखेको छ ।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका जारी भएपछि पहिलो पटक निर्देशिका अनुसार नतिजा प्रकाशन गर्न लागेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ । अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।

त्यसको नतिजा एक महिनाभित्र प्रकाशन हुने भएकाले कक्षा ११ मा भर्ना भइ अध्ययन कार्य अगाडि बढाउन अर्को वर्ष कुर्नु नपर्ने बोर्डको भनाइ छ । दुईभन्दा बढी विषयमा ‘एनजी’ भएमा लगातार तीन वर्षसम ‘एनजी’ आएका विषयमा मात्र ग्रेड बृद्धिका लागि वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए ।

२०७८ सालमै उक्त निर्देशका जारी भए पनि दुई वर्ष पुरानै अक्षराङ्क पद्धति अनुसार नतिजा प्रकाशित हुँदै आएको थियो । कक्षा १२ को नतिजा भने यसअघि नै सोही निर्देशिका अनुसार प्रकाशित हुँदै आएको थियो ।

एसईईको नतिजा सुधारोन्मुख अवस्था थियो । विशेषगरी ३.४ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा थियो । तर, यो पटकको नतिजा भने धेरै फरक देखिने सम्भावना छ । यो वर्ष धेरै विद्यार्थीको ‘एनजी’ आएको बोर्ड स्रोतले जनाएको छ । ३५ प्रतिशत अनिवार्य भएकाले एनजी आउने प्रतिशत बढी रहेको बोर्डको स्रोतको दाबी छ ।

‘३५ प्रतिशत नल्याए एनजी आउने भन्ने निर्देशिका छ । त्यही आधारमा यो वर्षको नतिजामा धेरै जनाको एनजी आएको देखिएको छ,’ बोर्ड स्रोतले भन्यो ।  

नयाँ र पुरानो ग्रेडिङ प्रणाली

२०७२ सालदेखि कक्षा १० को नतिजा ग्रेडिङ पद्धति अनुसार सार्वजनिक हुँदै आएको थियो । त्यस अघिसम्म नतिजा अङ्क र प्रतिशतमा आउने गरेको थियो । २०७२ सालदेखि २०७९ सालको नतिजासम्म अक्षराङ्कन (ग्रेडिङ) पद्धति अनुसार सार्वजनिक हुँदै आएको थियो ।

ग्रेडिङ प्रणाली लागु हुनु अगाडि २०७१ सालमा ४७.४३ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका थिए । पहिला नतिजा श्रेणीमा प्रकाशन गरिन्थ्यो । जसमा ८० प्रतिशतभन्दा बढी ल्याउने उच्च श्रेणी (विशिष्ट), ६०–८० प्रतिशत ल्याउने प्रथम श्रेणी, ४५–६० प्रतिशत ल्याउने दोस्रो श्रेणी, ३२–४५ प्रतिशत ल्याउने तेस्रो श्रेणी र ३२ भन्दा कम प्रतिशत ल्याउने अनुत्तीर्ण हुने गरेका थिए ।

२०७१ सालदेखि लेटर ग्रेडिङको प्रावधान आएसँगै नतिजा ग्रेडिङ पोइन्ट एभरेज (जीपीए) मा प्रकाशन हुन थालेको थियो । गत वर्षसम्म ग्रेडिङ प्रणालीअनुसार नतिजालाई ‘ए–प्लस’, ‘ए’, ‘बी–प्लस’, ‘बी’, ‘सी–प्लस’, ‘सी’, ‘डी–प्लस’, ‘डी’, र ‘ई’ गरी ८ वटा ग्रेडमा विभाजन गरिएको थियो । यदि कुनै परीक्षार्थीले ३.६५ देखि ४.०० जीपीए ल्याएमा ऊ अतिविशिष्ट ‘ए–प्लस’ अन्तर्गत पर्छ । जुन ९०–१०० प्रतिशत बराबर हो ।   

Capture   

नतिजाको विश्लेषण

विगत दुई वर्षको एसईईको नतिजाको विश्लेषण गर्दा चार जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या बढेको थियो भने कम जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या घटिरहेको थियो ।

२०७८ सालको एसईईको नतिजा अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ६३३ जना थिए भने २०७९ सालमा २२ हजार ४७५ विद्यार्थीले ३.६ देखि ४ सम्म जीपीए ल्याएका थिए ।

त्यस्तै २०७८ मा ३.२ देखि ३.५ जीपीएसम्म ल्याउने विद्यार्थी ४१ हजार ६२७ थिए भने २०७९ मा ५५ हजार ६८ जनाले उक्त जीपीए ल्याएका थिए ।

२०७८ मा ०.८ देखि १.१९ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या तीन हजार २८० रहेकोमा २०७९ सालमा यो सङ्ख्या दुई हजार ९०० थियो । उक्त नतिजा हेर्दा कम जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या घटिरहेको थियो भने बढी जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या बढिरहेको थियो ।

शिक्षामन्त्रीको चासो  

नतिजा कमजोर देखिने भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले चासो व्यक्त गरेकी छन् । नतिजा कमजोर भएको पूर्वसङ्केत पाएकी मन्त्री श्रेष्ठले मनोपरामर्शदातासँगको एक भिडियो समेत बनाएकी छन् ।

नतिजा प्रकाशित भएपछि अभिभावक, साथीभाइ र स्वयं विद्यार्थीले कसरी परिस्थितिलाई सम्हाल्ने भनेर मन्त्री श्रेष्ठले भिडियो संवाद गरेकी हुन् ।

‘पास भयौ ?’ ‘कुन ग्रेड आयो?’ ‘ए फलानाको छोरीले त ए ल्याइछ, तैँले के गरिस्?’ ‘ओहो, ल  ए आयो, ए+ आयो अब त साइन्स नै पढ्नुपर्छ है ।’ ‘पढ्ने बेला पढेन, अब केही गरिखाँदैन यसले ।’ जस्ता विषय अभिभावकको तर्फबाट उठ्ने गरेको भन्दै मन्त्री श्रेष्ठले मनोपरामर्शविदसँग कुरा गरेकी हुन् ।

समाजमा परीक्षा र परीक्षाको प्रतिफललाई विद्यार्थीको सम्पूर्ण भविष्य, उनीहरूको दक्षता, क्षमतासँग जोडेर हेर्ने चलन रहेको मन्त्री श्रेष्ठको भनाइ छ । यसले विद्यार्थी र अभिभावकको समेत मानसिक स्वास्थ्यमा पर्ने असरबारे कुरा गर्ने नगरेको भन्दै उनले त्यसलाई जोड दिएकी हुन् ।

विद्यार्थीले यस्तो समयमा कसरी आफूलाई सम्हाल्ने ? अभिभावकले कसरी विद्यार्थीसँग आफ्ना कुरा व्यक्त गर्ने ? समाजको दायित्व के कस्तो हुन्छ ? लगायत विषयमा मन्त्री श्रेष्ठले मनोविद्, मानसिक स्वास्थ्य अनुसन्धानकर्ता कृपा सिग्देलसँग कुराकानी गरेर भिडियो बनाएकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप