नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा
चितवन । नारायणगढ–मुग्लिन सडकमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी अवस्थामा राखिएको छ । बर्सातसँगै जुनसुकै बेला पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने भएकाले पूर्वतयारी गरिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पाँच किलोभन्ने ठाउँमा लोडर तयारी अवस्थामा राखिएको छ । नारायणगढबाट २१ किलोमिटर मुग्लिनतर्फ मौरी पुलमा स्काभेटर र लोडर राखिएको छ । यो सडकखण्ड ३६ किलोमिटर लामो छ ।
पौडेलले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले उपकरण तम्तयार अवस्थामा राखिएको जानकारी दिए । थप उपकरण आवश्यक परेमा हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट प्रबन्ध गरिने उनले बताए ।
सो सडकखण्डमा १५ वटा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पुल बनाइरहेको ठाउँमा पहिरो खसेमा पन्छाउने जनाएको छ । ती ठाउँमा ठूलो पहिरो खसेमा डिभिजन सडक कार्यालयका उपकरणसमेत प्रयोग गरिने छ । अन्य ठाउँमा खसेका पहिरो पन्छाउन सो कम्पनीले तयारी अवस्थामा राखेका उपकरणलाई प्रयोगमा ल्याइने छ । पौडेलले भने, “पहिरो खसेलगत्तै पन्छाउने गरी तयारीमा छौँ ।”
सडक कार्यालयले गरेको अध्ययन अनुसार यो सडकको २५ ठाउँ पहिरोको जोखिममा छन् । तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र पहिरोको उच्च जोखिममा छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ ।
यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा सडक अवरुद्ध भएको थियो ।
यो सडक हुँदै नारायणगढबाट सवारीसाधन राजधानी काठमाडौँ, पोखरातर्फ जाने आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल
-
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
-
पितृको सम्झनामा शिवालयमा छरियो शतबीज, तस्बिरहरू
-
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्स-रे सेवा
-
संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला
-
के हामीलाई कसैले सम्झँदा बाडुली लाग्छ ?