शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
महाधिवेशन

एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथको साथ

बुधबार, १२ असार २०८१, १६ : १२
बुधबार, १२ असार २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नेतृत्व (अध्यक्ष) पदको दाबीबाट सम्मानित नेता झलनाथ खनाल पछि हटेका छन् । 

यसअघि जसको विचार उसैको नेतृत्व भन्दै आएका खनाल महाधिवेशनको सम्मुखमा आएर अध्यक्षको दाबीबाट पछि हटेका हुन् । यसअघि अध्यक्षमा माधवकुमार नेपालसहित झलनाथ खनाल र घनश्याम भुसालले अध्यक्षमा दाबी गर्दै आएका थिए । खनालपछि हटेसँगै उनको साथ भुसाललाई हुने भएको छ । 

‘दुई नेताका बिचमा सहमतिबाटै अघि बढौँ भन्ने कुराकानी भयो । त्यसक्रममा खनालले भुसाललाई र भुसालले खनाललाई सहयोग गर्न आग्रह गर्नुभयो’, खनाल निवास स्रोतले भन्यो, ‘अन्तिममा खनालले तपाईँलाई अध्यक्षमा मेरो साथ रहन्छ भन्नुभयो र त्यसपछि दुवैजना हात मिलाएर छुट्नुभयो ।’

बुधबार बिहान सम्मानित नेता खनालको निवासमा खनाल र  भुसालबिच भएको छलफलमा खनालले भुसाललाई साथ दिने सहमति भएको हो । 

खनाल निवासमा भएको छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी रहेका थिए ।

माधव नेपाल अध्यक्षमा दोहोरिने चाहाना राखिरहेका बेला नेपालपछि नहटे वा सहमति नजुटे अव नेपाल र भुसालबिच अध्यक्षमा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । 

उक्त छलफलको तस्बिर सार्वजनिक भएको छ । जसमा खनाल र भुसालबिच हात मिलाएको देखिन्छ । भुसाल हाल एकीकृत समाजवादीको महासचिव छन् ।  

अबको चार दिनपछि एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशन हुँदैछ । असार १६ गतेदेखि काठमाडौँमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

एकीकृत समाजवादीको २२ सदस्यीय सचिवालयमा हाल २० नेताहरू रहेका छन् । जसमा खनाल भुसाल एकातिर उनीहरूको पक्षमा १० र माधव नेपालको पक्षमा १० जना हुने भएका छन् । 

नेपाल पक्षमा नेताहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल, केशललाल श्रेष्ठ, बेदुराम भुसाल रहेका छन् । त्यसैगरी गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, राजेन्द्र राई र नागेन्द्र चौधरी रहेका छन् । 

त्यसैगरी खनाल भुसाल पक्षमा घनेन्द्र बस्नेत, धर्मनाथ प्रसाद साह, जयन्ती राई, प्रकाश ज्वाला, डा. विजय पौडेल, जीनवराम श्रेष्ठ, हरि पराजुलीलगायत छन् । यद्यपि झाँक्रीले आफू कतैपनि नखेलेको दाबी गर्ने गरेकी छन् । 

गरिमा साह र भागवत विश्वासी पनि अहिलेसम्म प्रस्ट रूपमा कतै खुलेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप