सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
युरो २०२४

सबै टोलीले ३ अङ्क बटुलेको समूह ईबाट नकआउटमा को पुग्ला ?

बुधबार, १२ असार २०८१, १४ : ५१
बुधबार, १२ असार २०८१

समूह ईका खेलहरु

  • युक्रेनविरुद्ध बेल्जियम, समय : बुधबार राति ९ः४५ बजे
  • स्लोभाकियाविरुद्ध रोमानिया, समय : बुधबार राति ९ः४५ बजे

काठमाडौँ । युरो २०२४ को समूह ई यतिबेला रोचक मोडमा रहेको छ । समूह चरणको अन्तिम खेलअघि सबै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।

प्रतियोगिताको इतिहासमा सम्भवतः पहिलो पटक दुई खेलपछि एउटै समूहका चार टोलीको समान ३ अङ्क रहेको छ । मात्र गोल अन्तरको आधारमा टोलीहरू छुटिएका छन् । रोमानिया शीर्ष स्थानमा रहेको छ । त्यसपछि क्रमशः बेल्जियम, स्लोभाकिया र युक्रेन छन् ।

बुधबार राति हुने खेलहरूले यो समूहबाट कुन कुन टोली अन्तिम १६ मा पुग्ने टुङ्गो लाग्नेछ । समूह चरणको अन्तिम खेलमा युक्रेन र बेल्जियम तथा रोमानिया र स्लोभाकिया आमनेसामने हुनेछन् ।

команда-словаччина-1-24

युक्रेन पहिलो खेलमा रोमानियासँग ३–० गोलले पराजित भएको थियो । पहिलो खेलमा पराजित भएपछि प्रतियोगिताबाट चाँडै घर फर्किने खतरा बढेको थियो ।

तर, दोस्रो खेलमा युक्रेनले स्लोभाकियालाई २–१ गोलले हराउँदै प्रतियोगितामा कम्ब्याक गर्‍यो । उक्त खेलमा युक्रेन १७ औँ मिनेटमा नै पछि परेको थियो । इभान स्रान्जले स्लोभाकियालाई अग्रता दिलाए पनि दोस्रो हाफमा मिकोला सापारेन्को र रोमन यारेमचुकले गोल गर्दै युक्रेनलाई खेलमा पुनरागमन गराए ।

आजको खेलमा जित हासिल गरे युक्रेनले समूहको शीर्ष दुई स्थान पक्का गर्नेछ । अझ रोमानियाको नतिजाभन्दा राम्रो प्रदर्शन गरे टोली शीर्ष स्थानमा पनि पुग्ने सम्भावना बाँकी नै छ ।

आजको खेल बराबरीमा रोकिए पनि युक्रेन तेस्रो बन्दै अन्तिम १६ मा पुग्ने सम्भावना बाँकी नै रहन्छ । त्यस्तै, रोमानियासँग स्लोभाकिया पराजित हुँदा युक्रेन बेल्जियमसँग पाराजित भए पनि अर्को चरणमा पुग्न सक्छ ।

Romelu-Lukaku-Belgium-EURO-2024

युरो २०२४ मा उपाधि दाबेदार मानिएको बेल्जियमको सुरुवात पनि सुखद रहेन । भिडियो एसिस्टेन्ट रेफ्रीको मारमा पर्दा टोली स्लोभाकियासँग ०–१ गोलले स्तब्ध बनेको थियो ।

तर, शनिबारको खेलमा कथा अर्कै थियो । योरी टेलिस्मान र केभिन डी ब्रुयनाको गोलको मद्दतले टोलीले रोमानियालाई २–० ले पराजित गर्‍यो ।

बुधबारको खेलमा हारबाट मात्र जोगिए टोली अन्तिम १६ मा प्रवेश गर्नेछ । युक्रेनलाई हराउँदा स्लोभाकियाले रोमानियालाई हराए वा बराबरी खेले टोली समूहको शीर्ष स्थानमा पुग्नेछ ।

यद्यपि, युक्रेनसँग हार्दा रोमानियाले एक अङ्क बटुले टोली सन् २०२२ को विश्वकपजस्तै समूह चरणबाटै बाहिरिनेछ ।

उता, स्लोभाकिया लगातार तेस्रोपटक युरो प्रतियोगितामा छनोट भएको हो । सन् २०२० मा टोलीले ३ अङ्क बटुले पनि समूह चरणबाटै बाहिरिएको थियो । 

1718087588328-90927

सन् २०२४ को संस्करणमा बलियो बेल्जियमलाई हराउँदै सुरुवात गरेको स्लोभाकिया दोस्रो खेलमा अग्रता लिए पनि युक्रेनसँग १–२ गोलले स्तब्ध बनेको थियो ।

समूहबाट शीर्ष दुई टोली बन्दै अन्तिम १६ मा पुग्न स्लोभाकियाले रोमानिया हराउनै पर्ने बाध्यता छ । आफूले जित हासिल गर्दा युक्रेनले बेल्जियमलाई नहराए टोली शीर्ष स्थानमा रहनेछ । तर, रोमियानयासँग पराजित हुँदा बेल्जियम हारबाट जोगिए टोली समूह चरणबाटै घर फर्कनेछ ।

यस समूहको शीर्ष स्थानमा रहेको रोमानियाले युक्रेनमाथि ३–० जित निकाल्दै धमाकेदार सुरुवात गरेको थियो । निकालय स्टानसियू, राजभान मारिन र डेनिस ड्रागुसको गोलको मद्दतले रोमियाले सहज जित हासिल गरेको थियो ।

romania_euro_2024_football_-_photo_inquam_photos_stefan_constantin

तर, दोस्रो खेलमा बेल्जियमसँग टोली पराजित हुन पुग्यो । पराजयका बाबजुद टोली अहिले समूहको शीर्ष स्थानमा कायम छ । 

बुधबारको खेलमा हारबाट जोगिए टोली शीर्ष दुई स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्नेछ । बेल्जियमले युक्रेनलाई हराउन नसके टोली शीर्ष स्थानमा नै रहने सम्भावना कायम छ । तर, स्लोभाकियासँग पराजित हुँदा र उता युक्रेन हारबाट जोगिने हो भने रोमानिया समूह चरणबाट बाहिरिनेछ ।

रोमानिया पछिल्लोपटक सन् २००० को युरोमा क्वार्टरफाइनलसम्म पुगेको थियो । त्यसयता टोली समूह चरण कट्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप