सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक विपद्

विपद्का घटना : बाढी, पहिरो र चट्याङबाट ११ जनाको मृत्यु

बुधबार, १२ असार २०८१, १७ : ००
बुधबार, १२ असार २०८१

काठमाडौँ । गएरातिदेखिको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने चट्याङका कारण थप ४ जनाको मृत्यु भएको छ । 

बाढी, पहिरो र चट्याङबाट ११ जनाको मृत्यु हुँदा केही घाइते भएको प्रहरीले जनाएको छ ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्ती बस्ने प्रकाश रानाभाटको घरको पछाडीपट्टीको माटोको ढिस्को खसेर घर पुरिँदा घरमा सुतिरहेकी १३ वर्षीया आयुस्मा रानाभाटको गएराति मृत्यु भएको छ । 

साथै घरमा सुतिरहेकी उनकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारीको सकुसल उद्धार गरिएको छ । 

यसैगरी यसैगरी कास्कीको पोखरा महानगरपालिका–२७ आरूपाटा बस्ने ३१ वर्षीय हरि सुनारको घरमा अविरल वर्षाको कारण माटोको ढिस्को खसेर घरमा सुतिरहेका सुनारको छोरा ३ वर्षीय अनमोल सुनारको गएराति मृत्यु भएको छ । 

साथै घाइते भएकी सुनारकी श्रीमती २७ वर्षीया रितु सुनारलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । यस्तै घर पूर्णरूपमा क्षति भएको छ ।

यसैगरी ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्रीको घर र गोठ पहिरोले पुरिँदा उनकी श्रीमती ३५ वर्षीया देव कुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको छ । 

यसैगरी लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिएकामा बुधबार बेपत्ता भएकाहरूको शव भेटिएको हो । 

पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए । 

पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेष खोतलेर उनीहरूको शव निकालेका हुन् ।

यसैगरी चितवनको माडीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

बुधबार दिउँसो माडी नगरपालिका-५ छरछरे स्थित मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षका रणबहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ।

यसैगरी कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरिया बस्ने वर्ष ३१ का जयराम डगौरा र धनगढी उपमहानगरपालिका १८ बस्ने वर्ष २७ का शालिम चौधरीको मृत्यु भएको जानकारी दिए । 

उनका अनुसार बुधवार बिहान साढे ७ बजे  डगौरालाई घर नजिकैको खेतमा आलि लगाउने क्रममा चट्याङ लागेको थियो । घाइते उनलाई उपचारका लागि स्थानीय महापार्वती क्लिनिकमा लगेपनि उपचार क्रममा मृत्यु भएको उनले जानकारी दिए । 

यस्तै बुधवार बिहान ८ बजेको समयमा शालिम चौधरीलाई पनि घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको थियो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको बोहराले जानकारी दिए । 

यस्तै  कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४ बेलपुर बस्ने वर्ष २९ की रिता कठरिया, वर्ष २३ की सुस्मा डगौरा, भजनी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ५५ का राम बहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने वर्ष ९ की सरस्वती भुल, वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत समेत चट्याङ लागेर घाइते भएका छन् । 

यस्तै चटयाङ लागेर कपिलवस्तुमा पनि दुई जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो ।

बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको थियो । चटयाङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । 

यसैगरी गएराति परेको चट्याङले दैलेखको भैरवी गाउँपालिका–४ नाउलीखोलाका ५५ वर्षीय धीरबहादुर शाही र उनकी बुहारी २६ वर्षीय कुसुम शाही घाइते भएका छन् । 

घरमा सुतिरहेको बेला चट्याङ पर्दा उनीहरू घाइते भएको दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिल न्यौपानेले जानकारी दिए ।

घाइते दुबैलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्‍याइएको छ ।

यसैबिच  बुधवार देशका विभिन्न भूभागमा भारी वर्षा र बाढीको जोखिम बढेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले विभिन्न ठाउँहरूमा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप