शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेतृत्वले परिस्थितिको सामना गरेर अघि बढ्नुपर्छ : पौडेल

बुधबार, १२ असार २०८१, १४ : २१
बुधबार, १२ असार २०८१

हेटौँडा । बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले मौका पर्दा आफ्नो मात्र दुनो सोझ्याउनु नेतृत्वको निकृष्टतापन भएको टिप्पणी गरेका छन् । नेतृत्वले युग बदल्ने, कर्तव्य पालन गर्ने वा परिस्थितिको सामना गरेर अघि बढ्न खोज्ने काम गर्नुपर्ने उनले बताए ।

प्रदेशसभाको बुधवार बसेको बैठकमा ७ मन्त्रालय र संवैधानिक निकायहरूको बजेट माथिको छलफलमा भाग लिँदै माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष समेत रहेका पौडेलले नेतृत्व सम्हाल्ने व्यक्तिले आफ्नो मूल्याङ्कन गर्नुपर्ने बताए ।

‘सामान्यतया उत्कृष्ट नेतृत्वले आफ्नो समयको युग बदल्छ । महत्त्वपूर्ण नेतृत्वले सबै परिस्थितिलाई काटेर अघि बढ्ने बाटो खोज्छ । सामान्य नेतृत्वले कर्तव्यको पालन गर्छ । आफ्नो कर्तव्य पनि थाहा नपाउने, युग बदल्न पनि नसक्ने सामान्य परिस्थितिमा पनि अघि बढ्न नसक्ने मौका पर्दा आफ्नो मात्र दुनो सोझ्याउने नेतृत्व निकृष्ट हुन्छ । को–के मा पर्नुभयो आ–आफ्नो मूल्याङ्कन गर्नुस् ।’ 

उनले भने, ‘हाम्रो व्यवस्थामा को कति बेला सरकारमा को विपक्षमा हुन्छ टुङ्गो हुँदैन । दीर्घकालीन रणनीतिक योजनाको विषयमा सरकारमा भएकाले गम्भीरतापूर्वक ध्यान दिनु होला ताकी विपक्षीको बेन्चमा बसेर नारा लगाउन नपरोस् ।’

प्रदेशमा एउटा बेन्चमा पुगेपछि जिन्दगी बिग्रिए जस्तो लाग्ने र अर्को बेन्चमा पुगेपछि जिन्दगी सप्रिए लाग्ने प्रवृत्ति निर्माण भइरहेको उनले बताए । सो समस्याको केन्द्रमा पुगेर खोजी गर्न नसके सरकार, प्रदेशसभा र सांसदहरूको हैसियत र जिम्मेवारीका सवालमा गम्भीर प्रश्न उठ्ने उनले औँल्याए ।

‘असफलता हुने भनेको एउटा कसैको सल्लाह नमान्नु, अर्को सबैको मान्नु । हामीमा यो प्रवृत्ति बढी देख्छु । कहिले कसैको नि नमान्ने कहिले सबैको मान्दा अघि बढ्ने बाटो नै अवरुद्ध हुने अवस्था हुन्छ । हामीले खोजेको परिस्थिति माथि रुमलिने नेतृत्व होइन । परिस्थितिलाई नियन्त्रण गरेर नयाँ ढङ्गबाट अघि बढ्ने नेतृत्व हुनुपर्छ’ उनले भने ।

उनका अनुसार प्रदेश सरकारले बजेटबाट भौतिक पूर्वाधारमा पीटीएमटी र सामाजिक विकासमा आवासीय कार्यक्रम केन्द्रित गरेर केही सङ्केत गरेको देखिन्छ । सो बाहेकका अरू सबै निरन्तरता कै सिलसिला रहेको उनले बताए । प्रदेशसभामा भइरहेको बहस माथि अनुसन्धान गर्नुपर्ने उनले बताए ।  

अध्यक्ष पौडेलले मन्त्रालयको पुनः संरचना गर्नुपर्ने बताए ।  ५० करोडको योजना बनाउन नसक्ने मन्त्रालयको मन्त्री किन हुने ? उनले प्रश्न गरे ।

‘नीति कार्यक्रममा महत्त्वाकाङ्क्षी ल्याउने अनि बजेट ५० लाख बाँड्ने । अर्थमन्त्रीले सोच्नुपर्दैन । अरू मन्त्रालयको केही घटाएर रणनीतिक महत्वका क्षेत्रमा बढाउ भन्ने लाग्दैन । कि आएको जति पचाउने मात्र हो’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप