शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप प्रिभ्यू

‘चोकर’ को दाग बोकेको दक्षिण अफ्रिका, उत्साही अफगानिस्तान

बुधबार, १२ असार २०८१, १३ : ३२
बुधबार, १२ असार २०८१
  • पहिलो सेमिफाइनल - दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तान
  • मिति : असार १३ गते, बिहीबार
  • स्थान : ब्रायन लारा स्टेडियम, ट्रिनिडाड र टोबागो
  • खेल सुरु – बिहान ६:१५ बजे

काठमाडौँ । पहिले न्युजिल्यान्ड, अस्ट्रेलिया र त्यसपछि बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । कप्तान रासिद खानले अफगानिस्तानका लागि क्रिकेट नै खुसीको स्रोत भएको बताएका छन् । 

रसिद मात्रै होइन, पुरै टिमले भनेको छ - यो त सुरुवात मात्र हो, गन्तव्य पुग्न बाँकी छ । यसको मतलब विजयभन्दा कम कसैलाई स्वीकार्य छैन।

अर्कोतर्फ लिग चरणमा अपराजित रहेको दक्षिण अफ्रिका छ । तर नकआउटमा टोलीको नाममा दाग छ, ‘चोकर’ को । 

बिहीबार बिहान हुने खेलमा अफगानिस्तानले नयाँ इतिहास लेख्छ कि दक्षिण अफ्रिकाले आफ्नो नाममा लागेको ‘चोकर’को दाग धुन्छ त्यो हेर्न बाँकी छ ।

  • आखिर किन दक्षिण अफ्रिकालाई चोकर भनिन्छ ?

चोकर यानी ठुला अवसरहरूमा दबाबले धराशायी बन्ने । यो कालो छायाले ३२ वर्षदेखि दक्षिण अफ्रिकालाई छाडेको छैन ।

एकदिवसीय होस्, टेस्ट होस् वा टी–२० क्रिकेट, हरेक फर्म्याटमा आफ्नो छाप छोडेको यो टोलीले अहिलेसम्म विश्वकपको फाइनल खेलेको छैन । 

१३ पटक सेमिफाइनल खेलेको यो टोली हरेक पटक पटक हारेको छ । कहिले वर्षाले धोका दियो त कहिले भाग्यले - जित कहिल्यै प्राप्त भएन ।

जानौँ यस्ता केही खेलका कथा

  • १९९२ एकदिवसीय विश्वकपको सेमिफाइनलबाट सुरु, दुर्भाग्यपूर्ण वर्षा

दक्षिण अफ्रिकाले २२ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको थियो । अश्वेत खेलाडीलाई भेदभाव गरेको भन्दै उसलाई प्रतिबन्ध लगाइएको थियो । 

प्रतिबन्धपछि सन् १९९२ मा दक्षिण अफ्रिका पहिलो पटक विश्वकप खेल्न आएको थियो । टोली पहिलो विश्वकपमा नै सेमिफाइनलमा पुग्यो । 

उसको प्रतिस्पर्धा इंग्ल्याण्डसँग थियो । टोलीले २५२ रनको लक्ष्य पछ्याएको थियो ।

12970

अन्त्यमा दक्षिण अफ्रिकालाई १३ बलमा २२ रन आवश्यक थियो । त्यही बेला पानी पर्‍यो  र खेल रोकियो ।

त्यसबेलाको नियम अनुसार दक्षिण अफ्रिकाले एक बलमा २२ रनको लक्ष्य पाएको थियो । यो असम्भव थियो । टोली हार्दै प्रतियोगिताबाट बाहिरियो।

  • १९९९ एकदिवसीय विश्वकप सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित, डोनाल्ड रनआउट

सन् १९९९ मा दक्षिण अफ्रिकालाई विश्वकपको सबैभन्दा ठुलो दाबेदार मानिन्थ्यो। तर, सेमिफाइनलमा दक्षिण अफ्रिकालाई भाग्यले फेरि ठग्यो ।

अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २१३ रन बनाएको थियो । रन पछ्याउँदै दक्षिण अफ्रिकाले पनि २१३ रन बनाएको थियो ।

843918-63202-xdaaaxpvbg-1500108246

आखिर ओभरमा दक्षिण अफ्रिकालाई जितका लागि ९ रन आवश्यक थियो । क्लुजनरले पहिलो २ बलमा २ चौका प्रहार गर्दै स्कोर बराबरी गरे ।

अब अफ्रिकालाई ४ बलमा १ रन चाहिएको थियो । ओभरको चौथो बलमा क्लुजनरले शट खेले । उनले नन स्ट्राइकरको छेउमा उभिएका एलन डोनाल्डलाई रन लिन बोलाए तर आफैँ दौडिएनन्। डोनाल्ड रनआउट भए र खेल बराबरी भयो। 

सुपर ६ चरणमा अस्ट्रेलियाले अफ्रिकालाई हराएको थियो । यसै आधारमा सेमिफाइनलमा अस्ट्रेलियालाई विजेता घोषित गरिएको थियो ।

  • दक्षिण अफ्रिकाको आईसीसी प्रतियोगिताको रेकर्ड

SA

  • अफगानिस्तान किन खतरनाक छ ?

१. न्युजिल्यान्ड र बंगलादेशलाई हरायो 

टी-२० विश्वकप २०२४ को १४ औँ खेलमा  अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनले पराजित गर्‍यो । यस विश्वकपमा अफगानिस्तानले यस्तो सुरुवात गर्छ भन्ने कसैले सोचेका थिएनन् । 

382340

त्यसपछि वेस्ट इन्डिजको सेन्ट भिसेन्ट स्टेडियममा रासिद खानको कप्तानीमा अफगानिस्तानको टोलीले इतिहास रच्यो । बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकप इतिहासमा पहिलो पटक सेमिफाइनलमा प्रवेश गर्‍यो । 

अफगानिस्तानको जितसँगै अस्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ । अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै आएको बंगलादेशको टोलीको विकेट लगातार पतन भइरहेको थियो । अफगानिस्तानका नवीन उल हकले १८ औँ ओभरमा लगातार २ विकेट लिएर अफगानिस्तानलाई जित दिलाए ।

२. अस्ट्रेलियालाई हराउँदै इतिहास

रासिद खानको कप्तानीमा अस्ट्रेलियालाई पराजित गर्दै अफगानिस्तानले टी-२० विश्वकपमा सबैभन्दा ठुलो अपसेट बनायो। एक टी–२० र ६ एकदिवसीय विश्वकप जितेको टोली अस्ट्रेलियालाई सुपर–८ मा २१ रनले पराजित गरेको थियो । क्रिकेटको कुनै पनि फर्म्याटमा अफगानिस्तानको अस्ट्रेलियाविरुद्धको यो पहिलो जित थियो ।

383574

यस खेलमा अस्ट्रेलियाका कप्तान मिचेल मार्सले टस जितेर बलिङ रोजे र अफगानिस्तानको टोलीलाई १४८ रनमा सीमित गरे पनि अस्ट्रेलिया १२७ रनमा अलआउट भयो । गुलबदिन नाइबले ४ विकेट लिएर कंगारुलाई हारको स्वाद चखाए ।

  • पछिल्लो पटक डिभिलियर्स थिए, अब को ?

सन् २०१६ को विश्वकप... वानखेडे मैदान... मिस्टर ३६० अर्थात् एबी डिभिलियर्सले अफगानिस्तानका वर्तमान कप्तान रासिद खानविरुद्ध एक ओभरमा २९ रन प्रहार गरे । जसमा छक्काको ह्याट्रिक समेत सामेल थियो । यो खेलमा दक्षिण अफ्रिका ३७ रनले विजयी भएको थियो ।

237515

आज अफ्रिकी टोलीमा डी कक, क्लासन र रबाडा जस्ता खेलाडी छन् । अब टिममा कसले जित निकाल्छ त्यो हेर्न बाँकी छ । अर्कोतर्फ अफगान कप्तान रासिद खानको टोली सन् २०१६ को हारको बदला लिँदै फाइनलमा पुग्न चाहन्छ ।

  • हेड टू हेड

अफगानिस्तान र दक्षिण अफ्रिकाले टी-२० विश्वकपमा एक पटक आमनेसामने गरेका छन् । जसमा दक्षिण अफ्रिका विजयी बनेको थियो ।

टी-२० अन्तर्राष्ट्रियमा दुई पटक आमनेसामने गरेका छन्, जसमा दुवै खेलमा दक्षिण अफ्रिका विजयी भएको छ।

  • टसको भूमिका 

ब्रायन लारा स्टेडियममा २०२४ को टी-२० विश्वकपका ४ खेल खेलिएका छन् । जहाँ पहिलो फिल्डिङ गर्ने टोलीले चारै खेल जितेको छ । 

Brian-Lara-Cricket-Academy

यस मैदानमा जारी विश्वकपमा पहिलो इनिङ्सको औसत स्कोर ९० रन छ भने दोस्रो इनिङ्सको औसत स्कोर ८९ रन रहेको छ । यस मैदानमा टस जित्नेले खेल जित्ने प्रतिशत ७५ प्रतिशत छ।

  • शीर्ष प्रदर्शनकर्ता

१. अफगानिस्तान

  • रहमुनुल्लाह गुरबाज 

383720

गुरबाज यस टी–२० विश्वकपका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ७ खेलमा ४०.१४ को औसत र १२६ को स्ट्राइक रेटमा २८१ रन बनाएका छन् । बंगलादेशविरुद्धको निर्णायक खेलमा उनले ५५ बलमा ४३ रन बनाएका थिए । 

  • नवीन उल हक

naveen ul haq

शानदार बलिङ गर्दै उनले लगातार २ बलमा २ विकेट लिएर बंगलादेशविरुद्ध जित हासिल गरे। उक्त खेलमा ४ ओभरमा २६ रन दिएर ४ विकेट लिँदै उनी प्लेयर अफ द म्याच भए । यस विश्वकपमा नवीनले ७ खेलमा १३ विकेट लिएका छन् ।

२. दक्षिण अफ्रिका

  • डेभिड मिलर

मिलर अफ्रिकी मध्यक्रमका सफल ब्याट्सम्यान हुन्। उनी परिस्थिति अनुसार खेल्ने क्षमता राख्छन् । यस विश्वकपका ७ खेलमा उनले १४८ रन बनाएका छन् ।

  • कागिसो रबाडा

rabada

विश्वका सबैभन्दा सफल तीव्र गतिका बलर मध्येका एक रबाडाले आफ्नो बलिङले जुनसुकै खेल जिताउन सक्छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्धको खेलमा सुरुवाती ओभरमा रबाडाबाट विकेट लिने अपेक्षा गरेको छ । उनले विश्वकपका ७ खेलमा १० विकेट लिएका छन् ।

  • म्याच प्रिभ्यू

दक्षिण अफ्रिकाको नाममा ‘चोकर’ जोड्दा उनीहरूको दबाब दोब्बर हुन्छ। दक्षिण अफ्रिकाले अहिलेसम्म आईसीसी नकआउटमा १८ खेलमा ५ खेल मात्र जितेको छ । 

यता अफगानिस्तानको आत्मविश्वास उच्च छ । अफगानिस्तानका स्पिनरहरूले यो पिचमा ठुलो भूमिका खेल्न सक्छन्। 

  • मौसम रिपोर्ट

ब्रायन लारा स्टेडियममा बिहीबार वर्षा हुने सम्भावना ४० प्रतिशत छ, तर यस खेलको लागि रिजर्भ दिन छ।

  • अफगानिस्तान-दक्षिण अफ्रिका सम्भावित प्लेइङ इलेभेन

दक्षिण अफ्रिका: एडेन मार्कराम (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), रीजा हेन्ड्रिक्स, हेनरिक क्लासेन, डेभिड मिलर, ट्रिस्टन स्टब्स, मार्को यान्सन, केशव महाराज, कागिसो रबाडा, एनरिक नोर्ट्या र तबरेज शम्सी।

अफगानिस्तान: राशिद खान (कप्तान) , रहमानउल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, गुलाबदिन नाइब, अजमातुल्लाह ओमरजाई, मोहम्मद नाबी, नजिबुल्लाह जद्रान, करिम जनात, नूर अहमद, नवीन-उल-हक र फजलहक फारुकी।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप