शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

लोकतन्त्र बलियो बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ : मन्त्री श्रेष्ठ

बुधबार, १२ असार २०८१, १२ : ५९
बुधबार, १२ असार २०८१

हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताएका छन् । लोकतन्त्र बलियो भए सञ्चार क्षेत्र सशक्त बन्न सक्ने उनले बताए ।

हेटौँडामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजनामा सेवा प्रवाह तथा सुशासन सम्बन्धी कानुन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रेसले सार्वजनिक सेवा प्रवाह र सुशासनको विषयलाई प्रभावकारी बनाउन तथा नागरिकहरू माझ पुर्याउन भूमिका खेल्नुपर्ने बताए । राज्य संस्थाका व्यक्तिहरूको गलत धारणाका कारण प्रेसलाई आतङ्कका रूपमा लिने गरेको उनको भनाई छ ।

‘लोकतन्त्र र सञ्चारमाध्यम एक अर्काका परिपूरक हुन् । लोकतन्त्र बलियो बनाउन सञ्चारको महत्त्वपूर्ण भूमिका रहन्छ । लोकतन्त्र बलियो भयो भने सञ्चार संस्था बलियो हुन्छ । राज्य र सरोकारवाला पक्षको भूमिका जिम्मेवारपूर्वक लोकतन्त्र र पत्रकारिता क्षेत्रलाई बलियो बनाउनेतर्फ हुनुपर्छ’, उनले भने, ‘पछिल्लो समय मिसन पत्रकारिताका नाममा सामान्य मूल्य, मान्यता र पत्रकारिताको आचारसंहिता विपरीतका काम भइरहेको छ । पत्रकारहरूले कसैको प्रभावमा आएर काम गर्नुहुँदैन । जिम्मेवार पत्रकारिता अहिलेको आवश्यकता हो ।’

उनका अनुसार प्रदेश सरकारको संस्थागत स्थायित्व हुन सकेको छैन । सेवा प्रवाह र सुशासनको प्राथमिकता भ्रष्ट्राचार विरुद्ध शून्य सहनशीलाता रहेको उनको भनाई छ । प्रदेश सरकारले नीतिगत रूपमा व्यवस्था गर्दै गुड गभर्नेन्सका लागि तयारी गरिरहेको उनले बताए ।

प्रदेश सरकारले सेवा प्रवाहलाई गुनासो रहित र कमजोरी हुन नदिन जिल्लास्तरमा संरचना विकास गरिरहेको मन्त्री श्रेष्ठले बताए । सरकारले प्रदेशको संस्थागत स्थायित्वका लागि भौतिक पूर्वाधारसँगै ऐन कानुन निर्माण, परिमार्जन, सेवा प्रवाहको प्रभावकारिता र परिणाममुखी कार्यक्रम कार्यान्वयनमा सरकार केन्द्रित भएको उनले बताए ।

‘प्रदेश सरकार नयाँ संरचना हो । सङ्घीयता पछि निर्माण भएका तीन तहका सरकारको बाध्यता र सीमाहरू रहेका छन् । प्रदेश सरकारसँग प्रयाप्त संरचना र मानव संसाधनमा कमजोर रहेको छ । त्यसका बाबजुद पनि प्रदेश सरकार सेवा प्रवाह र सुशासन कायम गर्न प्रयत्नरत रहेको छ । प्रदेश सरकारले संघीयता कार्यान्वयनको ७ वर्षको अवधिमा संरचनागत सुधार र संस्थागत विकासमा काम गरिरहेको छ । हाम्रो काम भौतिक विकासमा केन्द्रित भएको जस्तो देखिए पनि सेवा, प्रशासन, सुशासन लगायतका क्षेत्रमा पनि काम भएका छन्’ उनले भने ।

कार्यक्रममा मन्त्रालयकी कानुन महाशाखा प्रमुख उपसचिव मनुका घिमिरेले सेवा प्रवाह तथा सुशासनमा कानुनी निर्माण प्रक्रियाका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । उनले प्रदेश सरकार र संसद्को कानुन निर्माणको प्रक्रिया, प्रदेश सरकारले निर्माण गरेका कानुन, कानुन निर्माणका समस्या र चुनौती तथा सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकाका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।

कार्यक्रममा सञ्चारकर्मी तथा मकवानपुर बहुमुखी क्याम्पसका सह प्राध्यापक सुरेश श्रेष्ठले सेवा प्रवाह र सुशासनमा सञ्चारकर्मीको भूमिकाका विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले सञ्चार माध्यम र सञ्चरकर्मीहरुको अवस्था, राज्यको सेवा प्रवाहमा प्रशासनको स्थितिका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

उनका अनुसार राज्यका संरचनाहरू सेवा प्रवाहमा जवाफदेही तथा पारदर्शी हुनुपर्ने, पत्रकारहरूले सेवा प्रवाहको अवस्थाको वास्तविक चित्र नागरिकहरू माझ सार्वजनिक गर्नुपर्ने, आचारसंहितामा रहेर सरकार तथा सार्वजनिक सेवा प्रवाह कर्तालाई निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप