बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

पेवेलका दुई एजेन्टमार्फत ४ अर्बभन्दा धेरै भौचर डिपोजिट

बुधबार, १२ असार २०८१, १५ : १२
बुधबार, १२ असार २०८१

काठमाडौं । मोबाइल वालेट कम्पनी ‘पेवेल’ का दुईजना एजेन्टले ४ अर्बभन्दा धेरै रकम भौचर डिपोजिट गरेको फेला परेको छ । ६० किलो सुन तस्करीको रकम उनीहरुले पेवेलको खातामा भौचर डिपोजिट गरेका हुन् ।

पेवेलको बुटवलका एजेन्ट लालबहादुर कुँवर र बाराका एजेन्ट अरुणकुमार यादवले सो रकम डिपोजिट गरेका हुन् । अरुणले १ अर्बभन्दा धेरै र लालबहादुरले ३ अर्बधन्दा बढी रकम भौचर डिपोजिट गरेको भेटिएको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

सुनको रकम अवैध माध्यमबाट रकम लेनदेन गराउन पेवेलका ८ जना एजेन्टले काम गरेको भेटिएको छ । २०८० वैशाख १४ पछि अहिलेसम्म पेवेलले ८२ अर्ब कारोबार गरेको देखिन्छ । सो अवधिमा ९ अर्ब मात्र वैध बाटोबाट रेमिट्यान्स आएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

९ अर्बभन्दा बाहेक अरु रकमको स्राते खुलेको छैन । पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिनासहित ३ जना र दुई जना एजेन्ट अहिले प्रहरीको थुनामा छन् । पेवेलका अध्यक्ष तिमल्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र सञ्चालक समिति सदस्य सुरज सम्शेर जबरा पक्राउ परेका हुन् ।

६० किलो सुन तस्करी गर्ने गिरोहले ३ हजार १९४ केजी सुनको तस्करी गरेको विज्ञ समूहको निष्कर्ष छ । तस्करले अष्ट्रेलिया, कोरिया र दुबईमा एजेन्ट परिचालन गरेर त्यहाँबाट नेपाल पठाउन चाहनेहरुको पैसा संकलन गरेर सो रकमलाई डिजिटल मुद्र्रा ‘युएसडिटी’ मा रुपान्तरण गरेर हङकङमा पठाउने गरेको भेटिएको छ ।

अष्ट्रेलिया, कोरिया र दुबईमा नेपालमा पठाउन भनेर आफन्तले बुझाएको रकम चाहिँ मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ का एजेन्टहरुले नेपालमा भुक्तानी दिने गरेका हुन् । सुन तस्करहरुको रकम भुक्तानीमा दुईवटा वालेट कम्पनीहरुको राष्ट्रबैंकको निति बिपरित हुण्डीको काम गरेको भेटिएको छ ।

‘सजिलो पे’ ले पछिल्लो एक वर्षमा  २६ अर्ब कारोबार गरेको भेटिएको छ । सजिलोका सीइओ कश्यप मानन्धर, सञ्चालक भक्तपुर घर भएका सुशील ज्याकिबन्जा र काठमाडौँ–६ घर भएका फुन्सुक डाग्पा अथुप्छाङ खम्पालाई प्रहरीले पक्राउ गरेको छ । सजिलो पेका अध्यक्ष सुनील ज्याकिबन्जा फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप