सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीको महाधिवेशन

अध्यक्षमा माधव नेपालको निरन्तरता किन ?

बुधबार, १२ असार २०८१, १० : ५७
बुधबार, १२ असार २०८१

नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल अध्यक्षका प्रत्यासी देखिएका छन् । निर्वाचनबाट नेतृत्व चयन गर्नु लोकतान्त्रिक अभ्यास भए पनि अहिले सहमतिबाटै नेतृत्व छनोट गर्न सकेमा धेरै राम्रो हुन्छ । हामी सबैको चाहना पनि यही हो ।

अहिले कुनै एक पक्षले मात्र चाहेर सहमति हुँदैन, सबैको चाहना हुनुपर्छ । मेरो विचारमा सहमतिको बिन्दु भनेको माधव नेपाललाई नै अध्यक्षमा आगामी पाँच वर्षका लागि अनुमोदित गर्नु सबैभन्दा उत्तम हुन्छ । झलनाथलाई पनि सम्मानित नेताका रूपमा हलले अनुमोदन गर्नुपर्छ । घनश्यामजीलाई पनि व्यवस्थापन गर्न सकिन्छ । यद्यपि विद्रोही नेताको ‘कपी राइट’ उहाँमा छैन ।

विद्रोहका बेला घनश्यामजीसहित १० भाइ एक ठाउँमा बस्नाले आन्दोलन कमजोर भएको थियो । सुरुमा माधवलाई जुन तरिकाले उचाल्नुभयो, पछि धोका दिनुभयो । पछि एकीकृत समाजवादीबाट कलम चिह्न लिएर चुनावमा उठ्न आग्रह गर्दा समेत उहाँले मान्नु भएन । उमेरको हिसाबले हामी दुवै एउटै साल (०१८) सालका हौँ । विगतमा जे–जस्तो भए पनि हामीले उहाँलाई महासचिव बनाएको हो । त्यसकारण तीन जनाबिच सहमति भएन भने चुनाव हुन्छ ।

अध्यक्षमा माधवको निरन्तरता किन ?

नेपाली राजनीतिमा एक हस्ती नेताका रूपमा माधव नेपाललाई लिन सकिन्छ । अनुभवसिद्ध नेतामा उहाँको जस्तो हैसियत हामी कसैको पनि छैन । पुस्तान्तरणका कुरा ल्याएर घनश्यामजीले नेतृत्व लिन खोज्नुभएको जस्तो देखिन्छ । हामी सबैको  भावनालाई नेतृत्व गर्न नसके पनि पनि यसो टक्कर दिऊँ न भन्ने हिसाबले सोच्नु भएकोजस्तो लाग्छ ।

तथापि उहाँसँग धेरैपटक कुराकानी हुँदा ‘माधवको विकल्पमा जान सकिँदैन, उहाँ विद्रोहको नेता हो, महाधिवेशनले विद्रोहलाई अनुमोदन गरिरहँदा स्वाभाविक रूपमा उहाँ (माधवजी)को नेतृत्वलाई पनि अनुमोदन गर्नुपर्छ’ भन्नुभएको छ ।

मालेकालीन संस्थापक नेता माधव नेपाल मुलुकलाई अप्ठ्यारो पारेको बेला समाधान दिने नेता पनि हो । चाहे त्यो ०४६ सालको आन्दोलन होस्, संविधान मस्यौदाकारका रूपमा उहाँले खेलेको भूमिका होस्, चाहे ०६२/६३ को जनक्रान्तिमा होस्, उहाँले नेतृत्वदायी भूमिका खेल्नुभएको छ ।

पार्टीभित्र गणतन्त्रको नारालाई स्थापित गर्ने सवालमा उहाँले नीतिगत रूपमा प्रस्ट पार्ने काम गर्नुभयो । एमालेमा १५ वर्ष नेतृत्व गरेको अनुभवको आधारमा पनि एक कार्यकाल उहाँको नेतृत्व आवश्यक छ । जब पार्टी (तत्कालीन एमाले)को नेतृत्व संशोधनवादी, दक्षिणपन्थी, अवसरवादी, दम्भी, घमन्डी र अन्यलाई निषेध गर्दै जाने स्थितिमा पुग्यो, एक प्रकारले निर्वाचित निरङ्कुश बन्ने स्थितिमा पुगेको अवस्थामा माधवले विद्रोहको साहसिक कदम चाल्नुभयो । दुई–दुई पटक संसद् विघटन गरेर संविधान र लोकतान्त्रिक गणतन्त्रलाई धराशायी बनाउने, सङ्घीयतालाई धूलिसाथ पार्ने अनेक खालका षड्यन्त्र हुँदा कांग्रेसलाई समेत डोर्‍याएर सडकमा प्रतिगमनको विरुद्ध उभ्याउन सक्ने साहसी नेता उहाँ नै हो ।

उहाँको नेतृत्वमा भएको विद्रोहको पछाडि यो महाधिवेशन हुँदैछ, यो महाधिवेशनले उहाँको नेतृत्व एक कार्यकाल अनुमोदन गर्न आवश्यक छ । यसमा सबैले साथ दिनुपर्छ । माधव नेपाल, झलनाथ खनाललाई अझै सम्मान दिन कुनै कन्जुस्याइँ नगरौँ ।

त्यसकारण उहाँको नेतृत्वमा भएको विद्रोहको पछाडि यो महाधिवेशन हुँदैछ, यो महाधिवेशनले उहाँको नेतृत्व एक कार्यकाल अनुमोदन गर्न आवश्यक छ । यसमा सबैले साथ दिनुपर्छ । माधव नेपाल, झलनाथ खनाललाई अझै सम्मान दिन कुनै कन्जुस्याइँ नगरौँ ।

माधव र झलनाथ कमरेडबिच सौहार्द्र रूपमा वार्ता भएको छ । जहाँसम्म झलनाथ कमरेडले नेतृत्व छोड्निँ भन्नुहुन्छ भने त्यो उहाँको कुरा हो । सहमतिमा जानका लागि कुनै एकले त्याग गर्नुपर्छ । निर्वाचनमा जाने भए पनि आत्तिने कुरा भएन । त्यस्तो अवस्थामा माधव, झलनाथ र घनश्याम सबै निर्वाचनमा जानुहुन्छ । सार्वभौम प्रतिनिधिहरूको सर्वोच्च निकाय महाधिवेशन हो । त्यहाँ विवेकको प्रयोग हुन्छ । निर्वाचनमा जाँदा स्वाभाविक रूपमा जितहार हुन्छ । त्यो सबैले मान्नुपर्छ । जित्नेले उन्माद देखाउने र हार्नेले रुँदै हिँड्ने स्थिति आउन दिनुहुँदैन । निर्वाचन निर्मम प्रक्रिया हो, त्योभन्दा सजिलो र सहज प्रक्रिया सहमति हो ।

महाधिवेशनको मुखमा जसरी झलनाथ कमरेडले समाजवादी विचार मेरो हो भन्नु खोज्नुभएको छ, त्यो भनाइमा कुनै सच्चाइ छैन । जबज पक्षधर माधव र आफू समाजवादी भन्ने ढंगले ध्रुवीकरण कोर्न खोज्नुभएको छ भने त्यो शत प्रतिशत गलत कुरा हो । बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले उहाँलाई अध्यक्ष बनायो । त्यतिबेला झलनाथ कमरेडले जबजसँग सम्झौता गर्नुभयो । एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जबजविरुद्ध एक प्रकारले उहाँले आगो नै ओकल्नुभएको थियो ।

आठौँ महाधिवेशनमा आइपुग्दा उहाँले अध्यक्ष पदसँग सम्झौता गर्नुभएको हो । नवौँ राष्ट्रिय महाधिवेशनमा आइपुग्दा राजनीतिक प्रतिवेदनमा उहाँले मार्क्सवाद, लेनिनवादपछि जबज मार्गदर्शक सिद्धान्त भन्नुभयो, क्रान्तिको कार्यक्रम भन्नुभयो । त्यतिबेला सही कुरा भन्नुभयो । त्यतिबेला मानिसकेपछि अहिले आएर फेरि त्यही पुरानो कुरामा थिएँ भन्नुमा कुनै तुक छैन ।

जहाँसम्म समाजवादको कुरा छ, हामीले विद्रोह गरी पार्टीको नाम नै समाजवादी राखेर २०७८ भदौ २ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्‍यौँ । त्यतिबेला पार्टीको विधान, घोषणापत्र, अवधारणमा ती सबै ठाउँमा आगामी कार्यदिशा समाजवादी हो भनेर प्रस्ट लेखेका छौँ ।

अबको गन्तव्य भनेको वैज्ञानिक समाजवाद हो । त्यतिबेला खनाल बिरामी भएर भारतमा हुनुहुन्थ्यो । भारत जानुअघि जारी गरेको वक्तव्यमा उहाँले विद्रोह गर्नु हुँदैन भन्ने थियो । पछि आएर समर्थन गर्नुभएको हो ।

महाधिवेशनका लागि अहिले तयार भएको राजनीतिक दस्ताबेज सर्वसम्मत दस्ताबेज हो । माधव नेपाल जबज छोडेर समाजवादमा आएको भन्नेजस्ता कुरा पनि गलत हो । जबजको सम्मान गर्ने, रक्षा गर्ने, मदन भण्डारीलाई सम्मान र आदर गर्ने कुरा हामीले कहीँ नजरअन्दाज गरेका छैनौँ । त्यतिबेला मदनले जबजलाई अङ्गीकार नगरेको भए सोभियत संघ र युरोपमा कम्युनिस्ट शासन ढलेको जस्तै नेपालमा पनि कम्युनिस्ट ढल्ने थियो । कम्युनिस्ट आन्दोलन बाँच्दैनथ्यो ।

कम्युनिस्ट आन्दोलन बचाउन एक प्रकारले सङ्घर्ष गरेकाले नै मदनलाई नेपाली कार्ल मार्क्सका रूपमा चित्रण गरेको हो । एक युगको नै सशक्त सिद्धान्त प्रतिपादन गर्ने कामको अगुवाइ मदनले गरेका हुन् ।

२०६२/६३ को जनक्रान्ति जबजको प्रकाशमा भएको आन्दोलन हो । त्यसले पुरानो अर्धसामन्ती र अर्धपुँजीवादी समाजलाई क्रान्तिको बलबाट रूपान्तरण गर्‍यो । मुलुकबाट सामन्तवाद अन्त्य भयो । २४० वर्ष लामो राजाशाही समाप्त भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान लेखियो । त्यतिबेला समाजको चरित्र पनि परिवर्तन भएको छ । अहिलेको समाज पुँजीवादी समाजमा रूपान्तरण भएको छ । पुँजीवादी समाजवादमा गरिने क्रान्ति भनेको समाजवादी क्रान्ति हुन्छ । त्यो समाजवादी क्रान्ति समाजवादी कार्यदिशा बोकेको पार्टीले मात्र गर्न सक्छ ।

समाजवादी कार्यदिशा अहिले नेपाली विशेषताको समाजवाद हो । नेपाली विशेषताको समाजवादी क्रान्ति क्रान्तिकारी काम हो भनिरहँदा जबज मार्गदर्शक सिद्धान्त बन्न सक्दैन । जबजको प्रकाशमा समाजवादी क्रान्ति हुन पनि सक्दैन ।

तर जबजले समाजलाई जुन प्रकारले योगदान गरेको छ, चाहे लोकतान्त्रिक प्रक्रियामा होस्, चाहे सामाजिक न्यायको विषयमा होस्, चाहे मानवअधिकारको सवालमा होस्, चाहे शक्ति पृथकीकरणको सवालमा होस्, चाहे पार्टीभित्र आन्तरिक लोकतन्त्रको सवालमा होस्– ती तमाम कुरामा जबजको योगदान छ । त्यो योगदान समाजवादी क्रान्तिको चरणमा पनि कायम रहन्छ ।

झलनाथको भनाइ पुरानो कोट फाल्ने हो, नयाँ कोट लगाउने हो । जबजको कामै छैन भन्ने छ । उहाँ यसको उत्पत्तिकालदेखि नै विमति राख्नुहुन्थ्यो । हामी यसको उत्पत्तिकालदेखि नै उत्साहित थियौँ । जबजको झण्डा फहराएको हेर्न नचाहनेविरुद्ध हामीले सङ्घर्ष गर्‍यौँ र जित्यौँ । त्यसकारण एउटा सिङ्गो कालखण्डमा योगदान गरेको जबजलाई अहिले बिर्सेर, त्यसलाई निषेध गरेर कुनै भूमिका थिएन भनेर दुत्कार्ने हो भने जबजलाई किन क्रान्तिको सिद्धान्त हो भनेको ?  

एमालेसँग हाम्रो अहिले पनि विमति छ । उसले जबजलाई अतिरञ्जना गर्‍यो । आवश्यकताभन्दा बढी उचाल्यो । अहिले पनि जबजको प्रकाशमा समाजवादको कार्यदिशा एमालेले भन्छ । गलत व्याख्या गरिरहेको छ । समाजवाद प्रस्ट रूपमा भन्न सक्दैन । समाजवाद भन्ने यहाँ धेरै छन् तर साँचो अर्थमा वैज्ञानिक समाजवादलाई गन्तव्यमा अगाडि बढाउने हामी हो । महाधिवेशनले त्यो विचारलाई पारित गरिसकेपछि बुलन्दका साथ देशमा नयाँ भाइब्रेट हुन्छ । यसमा रङ्गीबिरङ्गीको कुरा गर्नु कुनै औचित्य छैन । आफूलाई पृथक् देखाउन जबरजस्त कोसिस गर्नेहरूको दुस्साहस मात्र हो । दस्ताबेजमा एकमत भइसकेपछि नेतृत्वमा एकमत बनाउन किन नहुने ? जसको विचार उसैको नेतृत्व भन्ने खालको प्रचार गर्नु भएन । यो साझा विचार र नेतृत्वको कुरा हो ।

हामीले सर्वसम्म नेतृत्वको कुरा यसकारणले गरेका हौँ । सर्वसम्मत नेतृत्व बनाउने कुरा जब खण्डित हुन्छ, त्यतिबेला उत्पत्तिमै जानुपर्ने हुन्छ । उत्पत्तिको बेला समाजवादको नेतृत्व माधवले गरेका हुन् । विचारको नेता पनि उहाँ नै हुनुपर्छ ।

(नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरसँग गरिएको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा.गंगालाल तुलाधर
डा.गंगालाल तुलाधर
लेखकबाट थप