आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कृषि

धान लगाउने परिपाटी फेरिँदै

बेर्ना तयार गर्नदेखि धान भित्र्याउनसम्म प्रविधिको प्रयोग
बुधबार, १२ असार २०८१, १० : ४०
बुधबार, १२ असार २०८१

काठमाडौँ । नेपालमा पछिल्लो समय धान लगाउने परिपाटी फेरिएको छ । हलो, गोरु र रैथाने बिउको प्रयोग गरी आकाशे पानीको भरमा गरिँदै आएको धान खेतीमा आजभोलि विभिन्न प्रविधि प्रयोग गर्न थालिएको छ ।

धानको बेर्ना तयार गर्नदेखि बाली भित्र्याउँदासम्म नयाँ–नयाँ प्रविधि प्रयोग हुन थालेका छन् । रैथाने बिउभन्दा विकासे र उन्नत जात प्रयोग भइरहेका छन् । खेत जोत्नका लागि हलो, गोरुको सट्टा ट्याक्टर प्रयोग हुँदैछन् ।

कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत पर्ने राष्ट्रिय धान अनुसन्धान कार्यक्रम हर्दिनाथ, जनकपुरका संयोजक मथुरा यादवका अनुसार नेपालमा ‘राइस ट्रन्सप्लान्टर’ भित्रिएको छ । यसले रोपाइँ सहज र छिटो हुने उनले बताए । रोपाइँका लागि श्रमिकको अभाव भइरहेकाले यो प्रविधि निकै सहज र प्रभावकारी हुने उनको भनाइ छ ।

धान रोप्नेदेखि सिधै धान छर्न मिल्ने मेसिन पनि आएको उनले जानकारी दिए । ‘पानी परेको छ भने मेसिनमा बिउ र मल राखेर सिधै खेतमा धान छर्न सक्छौँ,’ उनले भने, ‘ड्रम सिडरको सहायताले यो प्रविधिबाट धान रोप्न सकिन्छ ।’

यादवका अनुसार ९८ वटा धानको बिउ सिफारिस भइसकेको छ । २ हाइब्रिड, ३० वटा जात रोगकिरा प्रतिरोधी, उन्नत जात लगायत ९८ वटा धानको बिउ सिफारिस गरिएको उनले सुनाए । ‘धानको हर्दिनाथ–१ नयाँ जात छ । सोना मन्सुली पुरानो जात भए पनि किसानले मन पराएका छन्,’ उनले भने, ‘सुक्खा धान–३ पनि किसानले मन पराएका छन् । यो धान तराईदेखि फाँटहरूमा लगाउने गरिन्छ । नयाँ धानको जातमा गंगासागर १ र २ छ ।’

कृषि वैज्ञानिक रामबहादुर केसीका अनुसार हाल तराईतिर मेसिनबाट धान रोप्ने प्रविधि भित्रिएको छ । उनले भने, ‘धान रोप्ने मेसिनसँगै मल तथा विषादी छर्दा प्रयोग हुने ड्रोनको पनि प्रयोग यदाकदा भइरहेको छ । यो हाल परीक्षणकै अवस्था वा सुरुवाती अवस्थामा छ ।’

नेपाल कृषि मेसिनरी व्यवसायी संघका प्रबन्धक अमृत बोहराका अनुसार नेपालमा सन् १९९० को दशकदेखि विभिन्न आधुनिक कृषि यन्त्रको प्रयोग भइरहेको छ । तथापि, धान बालीमा आधुनिक कृषि यन्त्रहरूको प्रयोग अपेक्षाकृत हुन नसकेको बोहराको तर्क छ ।

‘खेत जोत्ने कार्यमा यान्त्रीकरणको प्रयोग उच्च भएको पाइन्छ,’ उनले भने, ‘रोप्न र भित्र्याउन भने उचित यान्त्रीकरण हुन नसक्दा भण्डारणमा १५ प्रतिशत बालीको क्षति भइरहेको छ ।’

बोहराका अनुसार मिनी टिलर, पावर टिलर र ट्याक्टरको प्रयोग खेत जोत्न र जग्गा तयारका लागि हुने गरेको छ । धान गोड्न विडरको प्रयोग भइरहेको छ भने विषादी÷ मल हाल्न ड्रोनको अभ्यास भइरहेको उनले बताए । धान भित्र्याउन रिपर, कम्बाइन हार्बेस्टर, थ्रेसरको प्रयोग भइरहेको छ ।

 

  • प्रविधिमैत्री सिँचाइ

नेपालमा विभिन्न प्रविधिमैत्री सिँचाइ प्रयोग भएका छन् । सिँचाइमा डिप बोरिङ्ग प्रविधि, पानी तान्ने पम्पहरूको प्रयोग भइरहेका छन् । यसमा पेट्रोलियम पदार्थ (डिजेल, मट्टितेल)बाट चल्ने पानी तान्ने मोटर, पानी तान्ने विद्युतीय मोटर लगायत यन्त्र प्रयोग भएको बोहराको भनाइ छ ।

संघीय आयोजनाहरूबाट २०८० असार मसान्तसम्म कुल १५ लाख ५५ हजार ५०८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म सतहतर्फ ६२० हेक्टर, लिफ्टतर्फ २७० हेक्टर, भूमिगततर्फ ७०० हेक्टर र जलाशयतर्फ ५० हेक्टर गरी थप एक हजार ६४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

सिँचाइ सुविधा पुगेका क्षेत्रमध्ये ६५.७ प्रतिशतमा सतह सिँचाइ पुगेको छ भने ३४.१ प्रतिशतमा भूमिगत सिँचाइ सुविधा पुगेको सर्वेक्षणमा उल्लेख छ ।

२०७९ फागुनसम्म कुल सिँचाइयोग्य जमिन १७ लाख ६० हजार हेक्टरमध्ये ८८.५ प्रतिशत र कुल कृषियोग्य जमिन २६ लाख ४० हजार हेक्टरमध्ये ५९.० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

  • मलखादको सही प्रयोगले उत्पादन २५ प्रतिशत वृद्धि

नेपालमा सन् १९७६ मा पहिलो पटक माटो विज्ञान तथा कृषि रसायन विज्ञान महाशाखाले बालीका लागि मलको मात्रा सिफारिस गरेको थियो । सोही मात्राअनुसार कृषकले विगत ४७ वर्षदेखि मल प्रयोग गर्दै आएका थिए । नार्कले २०८० सालमा बढ्दो कृषि प्रविधिअनुसार मलको मात्रा पनि फरक पर्ने भन्दै धानको लागि स्थान विशेषअनुसार मलखाद सिफारिस गरेको छ । राम्रोसँग माटो व्यवस्थापन गरी उचित तरिकाबाट मलखाद प्रयोग गरेमा बालीको उत्पादन २५ प्रतिशतसम्म वृद्धि हुने नार्कले दाबी गरेको छ ।

पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा धान खेती गर्दा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर हाल्नुपर्ने नार्कले जनाएको छ । ती क्षेत्रमा धान खेतीका लागि फस्फोरस ४० किलो र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्न सुझाव दिइएको छ ।

मध्य तराईको पर्सादेखि सप्तरीसम्मको क्षेत्रमा धान बाली लगाउँदा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर, फस्फोरस र पोटास ४०–४० किलो प्रतिहेक्टर प्रयोग गर्न सिफारिस गरिएको छ ।

पश्चिम तराईको रुपन्देही, कपिलवस्तु र परासीमा धान खेतीका लागि नाइट्रोजन १३० किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । ती क्षेत्रमा फस्फोरस ४० किलो प्रतिहेक्टर र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ ।

उता, बाँकेदेखि कञ्चनपुरसम्मको क्षेत्रमा नाइट्रोजन एक सय किलो प्रतिहेक्टर, फस्फोरस र पोटास प्रतिहेक्टर ३०–३० किलो प्रयोग गर्नुपर्ने उल्लेख छ ।

भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुर जिल्लामा धानका लागि नाइट्रोजन १२५ किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । त्यस्तै, फस्फोरस र पोटास ४०–४० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ ।

पहाडी क्षेत्रमा धान बालीमा नाइट्रोजन एक सय किलो प्रतिहेक्टर तथा फस्फोरस र पोटास ३०–३० किलो प्रतिहेक्टर प्रयोग गर्न नार्कले सिफारिस गरेको छ ।

सबै क्षेत्रमा रोपिने वर्णशंकर धान बालीको लागि नाइट्रोजन एक सय ५० किलो प्रतिहेक्टर, फस्फोरस ५० किलो र पोटास ६० किलो प्रतिहेक्टर प्रयोग गर्न नार्कले सिफारिस गरेको छ ।

मुलुकभरका धान बालीमा जिङ्क दुईदेखि तीन किलो प्रतिहेक्टर प्रयोग गर्न सिफारिस गरिएको छ । सबै क्षेत्रका धान बालीमा बोरोनको मात्रा भने प्रतिहेक्टर एक किलो हाल्न सकिने नार्कले जनाएको छ ।

  • धान बालीमा मल प्रयोग गर्ने विधि

धान बालीमा रासायनिक मलको प्रयोग गर्दा फस्फोरस, पोटास, जिङ्क सल्फेट, बोरेक्सको पूरै मात्रा र नाइट्रोजनको एक तिहाइ भाग जमिनको अन्तिम तयारीमा प्रयोग गर्न सकिन्छ ।

धान बालीमा गाँज आउने अर्थात् २५ देखि ३० दिनमा एक तिहाइ नाइट्रोजन प्रयोग गर्न र बाँकी एक तिहाइ भाग धान फुल्नु भन्दाअघि अर्थात् ५० देखि ५५ दिनपछि प्रयोग गर्न नार्कले भनेको छ ।

  • नेपालमा धान खेती क्षेत्रफल र उत्पादन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको छ । देशभर चालु आर्थिक वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

गत वर्षको तुलनामा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ । चालु आर्थिक वर्ष धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।

यस्तै, गत आर्थिक वर्षको तुलनामा ०.६१ प्रतिशतले धान बालीको क्षेत्रफल घटेको हो । गत वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो भने चालु आर्थिक वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयले उल्लेख गरेको छ ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ  राष्ट्रिय  धान  दिवस  तथा रोपाइँ महोत्सव, २०८१ मनाइँदै छ । पछिल्लो समयको जलवायु परिवर्तन भएसँगै सोही अनुसार धान प्रविधि (बिउको विकास, सिँचाइको सुविधा, मेसिनरी, मल प्रयोग) मा जोड दिनुपर्ने विज्ञहरूले सुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप