बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

गुलबदिन नाइबलाई ओस्कार दिने कि ?

मङ्गलबार, ११ असार २०८१, २० : ५९
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । मंगलबार अफगानिस्तान र बंगलादेशबिच भएको सुपर ८ खेलमा अफगानिस्तानका एक खेलाडीले क्रिकेट मैदानमै गरेको घाइते भएको नाटक यतिबेला चर्चामा छ । अफगानिस्तानका खेलाडी गुलबदिन नाइबले प्रशिक्षक जोनाथन ट्रोटको आदेशपछि यो सबै गरेका थिए । 

उनको यो हर्कतबाट अफगान कप्तान रासिद खान र विपक्षी बंगलादेशी खेलाडी लिटन दास पनि छक्क परेका थिए । त्यसपछि गुलबदिन नाइब सामाजिक सञ्जालमा ट्रेन्ड हुन थाले। 

खेलमा अफगानिस्तानका प्रशिक्षक ट्रोटले आफ्ना खेलाडीहरूलाई बिस्तारै खेल्न निर्देशन दिएपछि गुलबदिन नाइबले यस्तो नाटक गरेका थिए । निकै नाटकीय ढंगले मैदानमा लडेका गुलबदिनलाई साँच्चै दुखेको थियो कि त्यो नाटक थियो भनेर पूर्व क्रिकेटरहरूले प्रश्न उठाएका छन् ।

स्लिपमा फिल्डिङ गरिरहेका नाइबले १२ औं ओभरमा क्र्याम्प भएको गुनासो गरेका थिए । यो त्यतिबेला भयो जब वर्षाले खेल अवरुद्ध हुँदा उनको टोली डकवर्थ लुइस प्रणाली अन्तर्गत २ रनले अगाडि थियो । क्यामेरामा ट्रटले आफ्ना खेलाडीहरूलाई खेलको गति सुस्त बनाउन निर्देशन दिएको देखिएको थियो।

वर्षाका कारण खेल रद्द भएको भए अफगानिस्तानको टोली २ रनले जित्ने थियो । यो देखेर विकेटमा उपस्थित बंगलादेशी ब्याट्सम्यान लिटन दास पनि गुलबदिनलाई हेर्दै हाँस्न थाले ।

पछि नाइब अफगानिस्तानका खेलाडी नवीन उल हकलगायतका साथ मैदान बाहिर गए । तर, अफगानिस्तानको टोलीले जितेपछि गुलबदिन नाइब खुसी हुँदै दौडिँदै गरेको देखियो । अफगानिस्तान ८ रनले जित्दै पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

कमेन्टेटर सिमोन डुलले भने, 'प्रशिक्षकले ढिलो खेल्ने सन्देश दिइरहेका थिए । अचानक पहिलो स्लिपमा उभिएका खेलाडी कुनै कारणबिना नै ढले, यो अस्वीकार्य छ ।’ त्यस्तै जिम्बाब्वेका कमेन्टेटर पोमी एमबाङ्वाले भने, 'ओस्कर वा ग्रामी अवार्ड ?'

भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले ट्वीटरमा गुलबदिनको खिल्ली उडाउँदै लेखेका छन्, 'गुलबदिन नाइबलाई रेडकार्ड।'

इंग्ल्यान्डका पूर्व कप्तान माइकल भनले लेखेका छन्, ‘क्रिकेटको आत्मा जीवित छ । यो देख्दा राम्रो लाग्यो कि मैदानमा ढलेर पनि गुलबदिन क्रिकेटको इतिहासमा पहिलो क्रिकेटर बने जसले २५ मिनेटपछि आएर विकेट लिए।’  १३ औँ ओभरमा मैदानमा फर्किएका उनले १५ औं ओभरमा तन्जिम हसनको विकेट पनि लिएका थिए ।

न्युजिल्याण्डका पूर्वक्रिकेटर तथा कमेन्टेटर इयान स्मिथले लेखेका छन्, ‘म विगत ६ महिनादेखि घुँडाको दुखाइबाट पीडित छु । अब खेलपछि म सिधै गुलबदिन नाइबको डाक्टरकहाँ जान्छु। यो हाल विश्वको आठौँ आश्चर्य हो।’

खेलपछि अफगानिस्तानका कप्तान रासिद खानले भने, 'गुलबदिन नाइबलाई केही दुखाइ छ, आशा छ उनी निको हुनेछन्'। उनले मुस्कुराउँदै यो जवाफ दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप