बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
स्थानीय बजेट

बजेट खर्चमै काठमाडौँ महानगरलाई चुनौती

आगामी आर्थिक वर्षका लागि यस्ता छन् प्राथमिकता र खर्चको स्रोत
मङ्गलबार, ११ असार २०८१, २० : २०
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबार आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै पौने २६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोलले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सोका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको बताइन् ।

सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका भित्रको आर्थिक, सामाजिक, धार्मिक एवं राजनीतिक महत्त्वका क्षेत्र, भौतिक पूर्वाधारको विकास सँगसँगै प्रशासनिक सेवाका लागि पनि ठुलै बजेट खर्च हुन्छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रममा महानगरले १९ करोड ९ लाख रुपैयाँ (विनियोजित बजेटको ०.७९ प्रतिशत) विनियोजन गरेको छ । यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार रुपैयाँ (१४.४४ प्रतिशत) बजेट विनियोजन गरेको उपमेयर डंगोलले बताएकी छन् ।

यस्तै, भौतिक पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ भने सामाजिक विकास क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ छुट्ट्याइएको छ ।

महानगरपालिको सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

बजेटको प्राथमिकता के ?

स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने, सामाजिक, आर्थिक भौतिक पूर्वाधार विकास मार्फत समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्रलाई आत्मसात् गर्ने लक्ष्य काठमाडौँ महानगरको बजेटले लिएको छ ।

महानगरभित्र लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्ने, बढ्दो बेरोजगार दरलाई न्यूनीकरण गर्न स्वदेशमै सिप तथा तालिम दिई स्वरोजगारबाट बिदेसिने युवाको दर घटाउने कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ ।

भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने, खाद्य गुणस्तरलाई उच्च प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउने कार्यक्रमलाई बजेटले प्राथमिकता दिइएको उपमेयर डंगोलले बताएकी छन् ।

बजेटमार्फत महानगरपालिकाले महानगरपालिका गौरव योजनाअन्तर्गत ‘ढलरहित नदी नाला’ लाई थप गरेर ११ वटा बनाउन प्रस्ताव गरेको छ । जुन कार्यक्रमका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको डंगोलले बताइन् ।

यस्तै, ‘कपडा बैंक’, ‘थेमाटिक स्कुल’, ‘पोखरी मर्मत तथा संरक्षण’, ‘फोहरबाट मल’ र ‘महानगर होम स्टे’ कार्यक्रम थप गरेर महानगर स्वर्णिम योजना २५ वटाबाट ३० वटा बनाउन प्रस्ताव गरिएको छ । यी योजनाका लागि २ अर्बको बजेट प्रस्ताव गरिएको छ ।

बजेट खर्चको स्रोत व्यवस्थापन

बजेट कार्यान्वयनको चुनौतीपूर्ण पक्ष भनेको स्रोत व्यवस्थापनको हो । यद्यपि, आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको काठमाडौँ महानगरपालिको बजेट कार्यान्वयनका लागि सञ्चित कोषमा रहने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाहरूबाट आम्दानी हुने १ अर्ब ५० करोड रुपैयाँको आम्दानीबाट बजेट खर्च गर्ने बताएको छ ।

महानगरपालिकाले आर्थिक वर्षका लागि सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । जसमध्ये आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने १ अर्ब ४५ करोड रुपैयाँ सशर्त अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने ४ करोड ४७ लाख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँटबाट १ अर्ब ९९ करोड २० लाख २५ हजार रुपैयाँ प्राप्त हुने अनुमान महानगरले गरेको छ ।

यसैगरी प्रदेश राजस्व बाँडफाँटबाट ५५ करोड रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १० करोड ५० लाख रुपैयाँ, नेपाल सरकार समानीकरण अनुदानबाट ८० करोड रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट १० करोड रुपैयाँ र आन्तरिक जनसहभागिताबाट ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान समेत महानगरले गरेको छ ।

चालु बजेट कार्यान्वयनको स्थिति

आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड रुपैयाँभन्दा बढी बजेट ल्याएको काठमाडौँ महानगरपालिका चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा भने निकै कमजोर देखिएको छ । नगर सभाको १३ औँ अधिवेशनमार्फत गत वर्ष काठमाडौँ महानगरले चालु आर्थिक वर्षका लागि २४ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

सो बजेटमा परिवर्तन नगरी नगरसभाको १४औँ अधिवेशनबाट केही योजनालाई संशोधन गरिएको थियो भने बजेट कार्यान्वयनका लागि राजस्व तथा अन्य निकायबाट प्राप्त हुने १० अर्ब ८० करोड ७८ लाख रुपैयाँ र बैंक मौज्दातबाट १३ अर्ब २३ करोड आम्दानी प्रक्षेपण गरिएको थियो ।

तर चालु आर्थिक वर्षको असार ९ गतेसम्ममा कुल विनियोजित बजेटमध्ये ९ अर्ब ३३ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ । यो कुल बजेटको जम्मा ३९ प्रतिशतमात्र हो ।

चालु आर्थिक वर्षकै करिब ५० प्रतिशतभन्दा बढी बजेट फ्रिज हुने देखिराख्दा महानगरपालिको आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएको छ ।

महानगरपालिकाकै रिपोर्ट अनुसार चालु आर्थिक वर्षमा पुँजीगततर्फ विनियोजन गरिएको १५ अर्ब १० करोड १० लाख ५२ हजार रुपैयाँमध्ये ११ महिनामा जम्मा ४ अर्ब ५२ करोड ७ लाख ६५ हजार रुपैयाँमात्र खर्च हुन सकेको छ । यो कुल बजेटको ३० प्रतिशत हो ।

चालु खर्चतर्फ ८ अर्ब ९३ करोड ४६ लाख ६८ हजार बजेट रकम विनियोजन गरिएकोमा ४ अर्ब ७६ करोड ८१ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ५३.३८ प्रतिशत हो ।

यस्तै, चालु आर्थिक वर्षको क्षेत्रगत बजेटको विश्लेषण गर्दा आर्थिक विकास क्षेत्रमा कुल विनियोजन भएको रकमको ३२.१४ प्रतिशत खर्च भएको छ भने सामाजिक क्षेत्रतर्फ ४६.७५ प्रतिशत, पूर्वाधार क्षेत्रमा ३१.५५ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २४.२७ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६५.९४ प्रतिशत बजेट खर्च भएको उपमेयर डंगोलले जानकारी दिइन् ।

‘विकास निर्माण कार्यको भौतिक प्रगति धेरै छ । तर कतिपय खर्च भुक्तानी प्रक्रियामा रही लेखाङ्कन भइनसकेका कारण वित्तीय प्रगतिमा केही कम देखिन गएको हो । तथापि, आर्थिक वर्षको अन्त्यसम्ममा खर्च थपिनेछ,’ डंगोलले भनिन् ।

यता आम्दानीतर्फ महानगरपालिकाले आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ राखिएकोमा असार ९ गतेसम्ममा ८ अर्ब ८१ करोड ६५ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ । यो लक्ष्यको तुलनामा १३७ प्रतिशतको उपलब्धि हो । समीक्षा अवधिमा आन्तरिक आयतर्फ ५ अर्ब ६ करोड ५९ लाख ४१ हजार रुपैयाँ सङ्कलन भएको महानगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप