कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महसुल निर्धारण गरेको प्रमाण पेस गरे सामना गर्न तयार छु : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महसुल निर्धारण गरिएको प्रमाण सांसद वा बाहिर अन्य निकायमा सांसदहरूले पेस गरे सामना गर्न तयार रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा भन्सार ऐनका विषयमा सांसदहरूले गरेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री पुनले आफूले आर्थिक विधेयकमा कुनैपनि व्यवसायी समूहको प्रभाव र दबाबमा निर्धारण नगरेको स्पष्टीकरण दिए । उनले सांसदहरूले त्यस्तो प्रमाण संसद् वा अन्य निकायमा पेस गरे सामान गर्न तयार रहेको भन्दै प्रमाण विनाका आरोपलाई रोष्टमबाट नै खारेज गर्ने बताए । उनले तयारी सामानहरूलाई महँगो भन्सार शुल्क र कच्चा पदार्थहरूलाई सस्तो बनाउने सरकारको स्पष्ट नीति रहेको उल्लेख गरे । उनले यस्तो नीतिले मुलुकभित्रको आन्तरिक उत्पादन बढ्ने भएकाले भन्सारतिर धेरै चिन्ता लिनुपर्ने अवस्था नपर्ने बताए ।
मन्त्री पुनले आन्तरिक उत्पादन र बिक्रीवितरणतिर आउने अन्तःशुल्कहरू र मूल्य अभिवृद्धिकरबाट मुलुकको राजश्व मुख्य रूपमा सञ्चालन हुने र राजश्व प्रणालीमा जाने विश्वास सरकारको रहेको भन्दै त्यही अनुसारका भन्सार नीति बनाएको बताए । उनले एसेम्बल उद्योगहरूको हकमा भन्सार महसुल छुट दीर्घकालीन रूपमा मुलुकमा उत्पादनको प्रवर्द्धन हुने अपेक्षाले दिइरहेको बताए । उनले मुलुकको अर्थतन्त्र भन्सारमा आधारितमा केही सत्यता भएपनि मुलुक पछिल्लो समय बिस्तारै आफ्नै उत्पादनमा आधारित हुँदै गएको दाबी गरे । उनले आगामी आर्थिक वर्षमा समग्र अर्थतन्त्रको अवस्थामा सन्तुलित बजेट आकारमा ल्याएकाले राजश्व संकलनको लक्ष्यमा पूरा हुने दाबी गरे ।