मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
प्रदेश

सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै  बजारमा आएको कांग्रेसको दाबी

सरकारले भन्यो– रातोकिताब सार्वजनिक भएको छैन
मङ्गलबार, ११ असार २०८१, १८ : ०२
मङ्गलबार, ११ असार २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/०८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ । 

प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेको थियो । सो बजेट कार्यक्रम पुस्तिका (रातोकिताब) हालसम्म प्रदेश सभामा छलफलको लागि पेस नगरी बजारमा आएको कांग्रेसले दाबी गरेको हो । 

धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको राजीनामा समेत माग गरेको छ । कांग्रेसका सांसद तथा पूर्वमन्त्री प्रकाश देउवाले हालसम्म प्रदेश सभामा पेस नगर्दै बजारमा रातोकिताब पाउनु गम्भीर कुरा रहेको बताए ।

उनले भने, ‘हाम्रो हातमा पनि अफिसियली रूपमा आएको छैन । हामीले पनि बजारबाट पाएका हौँ । यो किताब व्यक्तिको मोबाइलमा, ह्वाटएपमा आएको छ । यो एकदमै गम्भीर कुरा हो ।’ प्रदेश सरकारले बजेट निर्माणमा प्रक्रिया समेत पुरा नगरेको सांसद देउवाको आरोप थियो ।

त्यस्तै कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमल बहादुर शाहले सरकार गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा माग गरे ।उनले भने, ‘हामी सडक र सदनमा सरकारविरुद्ध प्रतिरोध गर्छौ । सरकारले नैतिक रूपमा राजीनामा दिनुपर्छ ।’

तर प्रदेश सरकारले कुनै पनि माध्यममा हालसम्म रातोकिताब नराखेको जनाएको छ । सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले आधिकारिक रूपमा रातोकिताब सार्वजनिक नगरिएको बताए । उनले अर्थ सचिव सरुवा भएको कारण रातोकिताब सार्वजनिक हुन नसकेको भन्दै केही दिनमै सार्वजनिक गर्ने बताए । 

रातोकिताब सामाजिक सञ्जालमा आएको विषयमा मन्त्री पालले त्यसबारे अध्ययन गरिरहेको र आफू गृह जिल्ला बैतडी रहेको प्रतिक्रिया दिएका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप