शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

माग पूरा नभएसम्म वैदेशिक रोजगार विभाग घेराउ गरिराख्छौँ : आईटी आर्मी

मङ्गलबार, ११ असार २०८१, १६ : १४
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन माग गर्दै आज दशौँ दिन पनि नाराजुलुससहित काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ । 

नवौँ दिनसम्म वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरूको माग सम्बोधन नगरेको भन्दै मङ्गलवार सरकारका विरुद्धमा चर्को नाराबाजी समेत गरेका छन् । 

आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले सरकारले आफूहरूको माग सम्बोधनमा ढिलाइ गरेकाले आन्दोलनलाई थप कडा बनाउँदै अगाडि बढ्ने बताए । उनले चर्कोगर्मीका बीचमा वैदेशिक रोजगार क्षेत्रका पीडितलाई न्याय दिनुपर्ने माग सहित निरन्तर आन्दोलन भइरहेको भए पनि सरकारले कानमा तेल हालेर बसेको टिप्पणी गरे । 

आइटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरू समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिएको हो । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीको छ । 

आइटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढङ्गले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग अघि सारिएको छ । यस अघि आइटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप