बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

मामाको योजनामा भान्जाको घरबाट २ करोड लुटपाट

सँगै पढेका साथीमार्फत हवल्दार पनि लुटपाटमा संलग्न
मङ्गलबार, ११ असार २०८१, १६ : ०४
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटमा असार ४ मा डिल्ली बहादुर राउतको घरमा अपरिचित ३ जना युवक प्रवेश गरे । उनीहरूले भने, ‘हामी सीबीआई प्रहरी हौँ ।’ ३५ वर्षीय राउतले घरको ढोका खोलिदिए । दिउँसो १ बजेतिर घरमा छिरेर उनीहरूले दराजमा राखिएको २ करोड निकाले अनि, लिएर हिँडे ।

लुटमा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भएका सुजन रसाइली, भोटेकोशी गाउँपालिका घर भएका ३१ वर्षीय भीम बहादुर तामाङ, ओखलढुङ्गा घर भएका ३६ वर्षीय मुना राज राई र प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा छन् । ३८ वर्षीय प्रहरी हवल्दार सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगन्जमा कार्यरत रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

डिल्लीराज राउतको मामाले लुटको योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनका मामा कुल बहादुर खत्री फरार छन् । लुटेरासँग मामाको सम्बन्ध पुष्टि भएसँगै पीडित छाँगाबाट खसेजस्तो भएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई भन्छन्, ‘भान्जाको घरमा ठुलो परिमाणमा रकम भएको कुरा मामालाई मात्रै थाहा थियो, उनैको योजनामा लुटपाट भएको देखिन्छ ।’

राउतले वैदेशिक रोजगारीमा मानिसहरू पठाएर रकम सङ्कलन गरेका हुन् । त्यसबारे कुल बहादुरले वैदेशिक रोजगारीको सिलसिलामा चिनजान भएका ३० वर्षीय सुजन रसाइलीसँग कुरा गरेर लुट्ने योजना बनाए । कुल बहादुरले असार ३ मा दधिकोटमा लगेर घर देखाएर निगरानी गर्न लगाएको रसाइलीले प्रहरीसँग बताएका छन् ।

सँगै पढेकाले बोलाएपछि पुगे हवल्दार

लुटपाटमा संलग्न थिए, भीम बहादुर तामाङ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भएर गोकर्णेश्वरमा बस्दै आएका भिमले लुट्ने योजना फाइनल हुनुअघि उनले प्रहरी हवल्दारलाई बोलाए । अनि, हवल्दार कृष्ण बहादुर बोहरा लुट्ने योजनामा सहभागी भए ।

सिन्धुपाल्चोकको भोटेकोशी घर भएका भीम र कृष्णबहादुर एउटै स्कुलमा पढेका हुन् । घटनास्थलमा उनीहरूले प्रहरीको परिचयपत्र पनि देखाएको पीडितको भनाइ छ । भीम  र कृष्णबहादुर गाउँभन्दा पल्लो गाउँका हुन्, सुजन रसाइली ।

लुटेको रकम उनीहरूले गोकर्णेश्वर नगरपालिका–४ माकलबारीस्थित भीम बहादुर तामाङको डेरामा लिएर गए । त्यहाँ  ५ जनाले रकम बाँडफाँड गरेको एसएसपी भट्टराईले जानकारी दिए । लुटेको ३६ लाख ३६ हजार प्रहरीले बरामद गरेको छ । कपनस्थित प्रहरी हवल्दारको डेराबाट ९ लाख ८४ हजार बरामद भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप