बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
युरोकप फुटबल

समूह ‘डी’ को अन्तिम खेल : नेदरल्यान्ड्स, फ्रान्स र अस्ट्रियाबिच नकआउट चरणमा पुग्ने होडबाजी

मङ्गलबार, ११ असार २०८१, १३ : ५१
मङ्गलबार, ११ असार २०८१
  • फ्रान्सविरुद्ध पोल्यान्ड (२१ः४५ बजे)
  • नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया (२१ः४५ बजे)

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा मंगलबार राति समूह ‘डी’ को दुई खेल हुँदैछ । मंगलबार राति हुने खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्नेछ । अर्को खेल नेदरल्यान्ड्स र अस्ट्रियाबिच खेलिने छ ।

दुवै खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछन् । यी दुई खेलसँगै समूह ‘डी’ बाट नकआउट चरणमा पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ । यो समूहबाट हालसम्म कुनै पनि टोली नकआउट चरणमा पुग्न सकेका छैनन् ।

  • समूह ‘डी’ को समीकरण

यो समूहमा रहेका चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । यो समूहबाट नेदरल्यान्ड्स, फ्रान्स र अस्ट्रिया नकआउट चरणमा पुग्ने दौडमा छन् । अघिल्ला दुवै खेलमा पराजित भएको पोल्यान्ड भने उपाधि होडबाट बाहिरिइसकेको छ ।

नेदरल्यान्ड्स चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । समान खेलबाट समान अङ्क बटुलेको फ्रान्स दोस्रो स्थानमा आसीन छ । तीन अङ्क जोडेको अस्ट्रिया तालिकाको तेस्रो स्थानमा छ । अङ्क बटुल्न नसकेको पोल्यान्ड चौथो स्थानमा छ ।

ned fra

नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा पोल्यान्डलाई २–१ गोलले हराएको थियो । दुई बलिया टोली नेदरल्यान्ड्स र फ्रान्सले भने गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए । फ्रान्सले भने आफ्नो पहिलो खेलमा अस्ट्रियालाई १–० गोलले हराएको थियो ।

अस्ट्रियाले आफ्नो दोस्रो खेलमा पोल्यान्डलाई ३–१ गोलले पराजित गरेको थियो । मंगलबार रातिको खेलमा नेदरल्यान्ड्सले अस्ट्रियालाई पराजित गरे सात अङ्कसहित नेदरल्यान्ड्स प्रतियोगिताको नकआउट चरणमा पुग्नेछ । यस्तो स्थितिमा अस्ट्रिया समूह विजेता वा उप–विजेताका रूपमा नकआउट चरणमा पुग्न असफल हुनेछ ।

यदि त्यो खेलमा अस्ट्रियाले नेदरल्यान्ड्सलाई पराजित गरे ६ अङ्कसहित अस्ट्रिया नकआउट चरणमा पुग्नेछ । यस्तो स्थितिमा यदि अर्को खेलमा फ्रान्सले पोल्यान्डलाई हराएमा नेदरल्यान्ड्स समूह विजेता वा उप–विजेता बन्न असफल हुनेछ ।

players-of-poland-react-after-losing-the-uefa-euro-2024-group-d-soccer-match-between-poland-and-austria--in-berlin--germany--21-june-2024---alemania--polonia--efe

त्यसपछि नेदरल्यान्ड्ससँग तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीभित्र पर्दै नकआउट चरणमा पुग्ने सम्भावना मात्र बाँकी रहनेछ । नेदरल्यान्ड्स र अस्ट्रियाबिचको खेल बराबरीमा सकियो भने डच टोली पाँच अङ्कसहित नकआउट चरणमा प्रवेश गर्नेछ ।

यस्तो स्थितिमा यदि अर्को खेलमा पोल्यान्डले फ्रान्सलाई हराएमा फ्रान्स र अस्ट्रियाको सामान चार–चार अङ्क पुग्नेछ । यस्तो अवस्था सृजना हुनु फ्रान्सका लागि टाउको दुखाइको विषय बन्नेछ । यदि फ्रान्सले पोल्यान्डलाई र नेदरल्यान्ड्सले अस्ट्रियालाई हराएमा विजयी हुने दुवै टोली सजिलै प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसैले अन्तिम चरणको खेलअघि समूह ‘डी’ को समीकरण निकै रोचक देखिन्छ ।

  • फ्रान्सविरुद्ध पोल्यान्ड

विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा फ्रान्स दोस्रो र पोल्यान्ड २६औँ स्थानमा आसीन छन् । जारी युरोकपमा फ्रान्सलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । युरोकप फुटबलमा फ्रान्सको यो ११औँ सहभागिता हो ।

फ्रान्सले सन् १९६० मा सम्पन्न पहिलो संस्करणदेखि नै युरोकपमा सहभागिता जनाउन थालेको हो । फ्रान्सले हालसम्म दुईपटक युरोकपको उपाधि जितिसकेको छ । फ्रान्सले सन् १९८४ पहिलो पटक युरोकपको उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा फ्रान्सले स्पेनलाई २–० गोलले हराएको थियो ।

B9Cz8FeAzBBWSHGYQvuYGF-1200-80

यसैगरी फ्रान्सले सन् २००० मा दोस्रोपटक युरोकपको उपाधि उचालेको थियो । त्यतिबेला फ्रान्सले फाइनलमा इटालीलाई हराएको थियो । यसका अतिरिक्त सन् २०१६ मा पनि फ्रान्स युरोकपको फाइनलमा पुगेको थियो । तर, त्यतिबेला फाइनलमा फ्रान्सलाई पोर्चुगलले हराएको थियो ।

फ्रान्सले दुईपटक विश्वकप फुटबलको उपाधि पनि चुमिसकेको छ । फ्रान्सले सन् १९९८ र सन् २०१८ मा विश्वकपको उपाधि उचालेको थियो । समग्रमा फ्रान्स चारपटक विश्वकपको फाइनलमा पुगेको छ । सन् २००६ र सन् २०२२ को विश्वकपमा फ्रान्स फाइनलमा पराजित भएको थियो ।

पोल्यान्डको भने युरोकपमा यो केवल पाँचौँ सहभागिता हो । पोल्यान्डले सन् २००८ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । त्यसयता पोल्यान्डले युरोकपको हरेक संस्करणमा भाग लिँदै आएको छ । तर, पोल्यान्ड हालसम्म युरोकपको सेमिफाइनलसम्म पनि पुग्न सकेको छैन ।

सन् २००४ यता फ्रान्स र पोल्यान्डबिच कुल तीनवटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा फ्रान्सले पोल्यान्डलाई हराएको छ । यी दुई टोलीबिचको एक खेल भने बराबरीमा सकिएको छ । सन् २००४ को नोभेम्बर १७ तारिखमा खेलिएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

3OYRK6NO6VLJXETENN35GVXKUI

त्यसपछि सन् २०११ को जुन ९ तारिखमा खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्स १–० गोलले विजयी भएका थियो । सन् २०२२ को डिसेम्बर ४ तारिखमा खेलिएको विश्वकपअन्तर्गतको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोलले हराएको थियो ।

समग्रमा भने हालसम्म यी दुई राष्ट्रबिच कुल १७ खेल खेलिएको छ । त्यसमध्ये नौ खेलमा फ्रान्सले पोल्यान्डलाई हराएको छ । तीन खेलमा पोल्यान्डले फ्रान्सलाई पराजित गरेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ ।

१७औँ युरोकपको छनोट प्रतियोगितामा फ्रान्स आफ्नो समूहमा पहिलो भएको थियो । फ्रान्सले आठमध्ये सात खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो । पोल्यान्ड भने प्ले–अफ खेल्दै युरोकपमा उपस्थित भएको हो ।

जारी युरोकपमा डिडियर डेसच्याम्पस फ्रान्सका प्रमुख प्रशिक्षक हुन् । फ्रान्सेली टोलीमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे (कप्तान), ओसमेन डेम्बेल, ब्राइस साम्बा (गोलरक्षक), ओलिभर गिरोडलगायतका चर्चित खेलाडी सहभागी छन् ।

जारी युरोकपमा पोल्यान्डका प्रमुख प्रशिक्षक माइकल प्रोबलर्ज हुन् । पोल्यान्डको टोलीमा वोजिएक सिजेस्नी गोलरक्षकको भूमिकामा छन् । प्रभावशाली गोलरक्षक वोजिएक इटालियन ‘पावर हाउस’ युभेन्ट्सबाट व्यावसायिक फुटबल खेल्छन् । टोलीमा बार्सोज सलामोन, जाकुब मोडर, कामिल ग्रोसिस्की, एडम बुक्सालगायतका प्रभावशाली खेलाडी छन् ।

  • नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया

विश्व फुटबल महासंघले सार्वजनिक गरेको पछिल्लो विश्व वरीयतामा नेदरल्यान्ड्स सातौँ र अस्ट्रिया २५औँ स्थानमा छन् । अन्तर्राष्ट्रिय फुटबलमा गौरवशाली इतिहास बोकेको नेदरल्यान्ड्सलाई जारी युरोकपमा उपाधिको दाबेदारका रूपमा हेरिएको छ ।

यद्दपि, विश्व फुटबलमा अभागी टोलीको संज्ञा पाउँदै आएको नेदरल्यान्ड्सले एकपटक मात्र युरोकपको उपाधि जित्न सकेको छ । युरोकपमा नेदरल्यान्ड्सको यो ११औँ सहभागिता हो । नेदरल्यान्ड्सले सन् १९७६ मा पहिलो पटक युरोकप खेलेको थियो ।

युरोकपमा नेदरल्यान्ड्सको प्रदर्शन पनि सधैँ अब्बल रहँदै आएको छ । तर, नेदरल्यान्ड्स ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता सधैँ अन्तिम समयमा आएर चुक्ने गरेको छ । चाहे त्यो युरोकप होस् वा विश्वकप ।

ned

युरोकपमा पनि नेदरल्यान्ड्स हालसम्म एकपटक मात्र फाइनलसम्म पुग्न सकेको छ । सन् १९८८ मा नेदरल्यान्ड्सले युरोकपको उपाधि जितेको थियो । त्यतिबेला नेदरल्यान्ड्सले फाइनलमा तत्कालीन सोभियत संघलाई २–० गोलले हराएको थियो ।

त्योभन्दा अघि वा पछि नेदरल्यान्ड्स कहिल्यै युरोकपको फाइनलमा पुग्न सकेको छैन । विश्वकप फुटबलमा त नेदरल्यान्ड्सको अवस्था योभन्दा पनि दयनीय देखिन्छ । तीनपटक फाइनलसम्म पुगेर पनि नेदरल्यान्ड्सले हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन ।

नेदरल्यान्ड्सको टोली सन् १९७४, सन् १९७८ र सन् २०१० मा विश्वकपको फाइनलमा पराजित भएको थियो । यी सब कारणले गर्दा नै नेदरल्यान्ड्सले अन्तर्राष्ट्रिय फुटबलमा अभागी टोलीको संज्ञा पाएको हो ।

अर्कोतिर, युरोकपमा अस्ट्रियाका यो चौथो सहभागिता हो । अस्ट्रियाले सन् २००८ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । त्यसपछि अस्ट्रियाले सन् २०१६ र सन् २०२० मा युरोकपमा सहभागिता जनाएको थियो । तर, अस्ट्रिया युरोकपको सेमिफाइनलसम्म पनि पुग्न सकेको छैन ।

austria

नेदरल्यान्ड्स र अस्ट्रियाबिच सन् २००२ यता कुल ६ खेल खेलिएको छ । ती सबै खेलमा नेदरल्यान्डले अस्ट्रियालाई हराएको छ । यी दुई टोलीबिच पछिल्लो पटक सन् २०२१ को जुन १७ तारिखमा भिडन्त भएको थियो । त्यो खेलमा नेदरल्यान्ड्स २–० गोलले विजयी भएको थियो ।

जारी युरोकपको छनोट प्रतियोगितामा नेदरल्यान्ड्स आफ्नो समूहको उप–विजेता बनेको थियो । डच टोली छनोट चरणमा खेलेको आठमध्ये ६ खेलमा विजयी र दुई खेलमा पराजित भएको थियो । अस्ट्रिया पनि आफ्नो समूहको उप–विजेता बन्दै युरोकपमा पुगेको हो । अस्ट्रियाले आठमध्ये ६ खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो ।

जारी युरोकपमा रोनाल्ड कोएम्यान नेदरल्यान्ड्सका प्रमुख प्रशिक्षक हुन् । डच टोलीमा लिभरपुलका भर्जिल भान डाइक (कप्तान), ब्राइटनका बार्ट भब्रूगेन (गोलरक्षक), बायर्न म्युनिखका म्याथिज डी लिट, म्यानचेस्टर सिटीका नाथन अकलगायतका खेलाडी छन् ।

यो युरोकपमा होमिएको अस्ट्रेलियन टोलीको प्रमुख प्रशिक्षक राल्फ रङ्निक हुन् । अस्ट्रियाको वर्तमान टोलीमा प्याट्रिक पेन्ज (गोलरक्षक), स्टेफन पोस्च, फिलिप लिनहर्ट, गेर्नट ट्राउनर, प्याट्रिक विम्मर, मार्को ग्रुललगायतका खेलाडी रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप