बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

रहेनन् बङ्गलादेशका  खतरनाक 'जल्लाद'

मङ्गलबार, ११ असार २०८१, १३ : ४३
मङ्गलबार, ११ असार २०८१

ढाका । बङ्गलादेशका सबैभन्दा खतरनाक 'जल्लाद'को मृत्यु भएको छ । सिरियल किलर र चर्चित राजनीतिज्ञहरूलाई मृत्युदण्ड दिएका शाहजहान भुइयानको ७४ वर्षको उमेरमा निधन भएको हो । 

छाती दुखेर सहनै नसक्ने भएपछि सोमबार उनलाई राजधानी ढाकास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा सोही दिन उनको मृत्यु भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् ।

भुइयानले आफ्नो कामबारे पुस्तक पनि लेखेका छन् । आफ्नो करियरमा भुइयानले कम्तीमा पनि २६ जनालाई फाँसी दिएको बताइन्छ । तर केही रिपोर्टले भने यो संख्या ६० जनासम्म हुन सक्ने बताएका छन् । उनी   चोरी र हत्याको अभियोगमा ४२ वर्षको जेल सजाय पाएर जेलमा बस्ने क्रममा जल्लाद बने । 

उनी जल्लादको काम गरेर आफ्नो काराबास समय घटाउन चाहन्थे । गएको वर्ष जेल सजाय १० वर्ष बाँकी रहँदै उनलाई रिहा गरिएको थियो । उनीबाट फाँसी पाएर मर्नेमा देशको संस्थापक नेता तथा बङ्गलादेशका वर्तमान प्रधानमन्त्रीका पिता शेख मुजिबर रहमानको हत्याको दोषी पाइएका प्रहरी अधिकृतहरू पनि पर्छन् ।

उनले अली अहसन मुजाहिद र सालाहुद्दिन कुआदर चौधरीलगायत युद्ध अपराधको आरोप लागेको राजनीतिज्ञलाई पनि फाँसी दिएका छन् । उनको हातबाट मर्नेमा सिरियल किलर एर्शद शिक्दर पनि पर्छन् । आफूले उनीहरूलाई फाँसी नदिए अरु कसैले दिन्थे भन्दै भुइयानले आफ्नो कामको सधैँ बचाउ गर्थे । 

यो वर्षको सुरुमा जल्लादको काम गर्दा उनले बटुलेका अनुभव र फाँसी दिने प्रक्रियाको व्याख्याबारे एउटा पुस्तक प्रकाशित भएको थियो । यो पुस्तकले धेरैको ध्यान खिचेको थियो । जेलबाट रिहा हुनेबित्तिकै भुइयानले आफूभन्दा ५० वर्ष कान्छी केटीसँग बिहे गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप