‘क्यास बोकेर आउने पर्यटक थुनिने अवस्था छ, मौद्रिक नीतिले सम्बोधन गरोस्’
काठमाडौँ । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले भारु २५ हजारको प्रावधान हटाउन गभर्नर महाप्रसाद अधिकारीसँग विशेष आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको गृहकार्य गरिरहेको राष्ट्र बैंकलाई होटल तथा पर्यटन क्षेत्रबाट सुझाव दिँदै अध्यक्ष शाहले नगदमा सीमा लगाएर भारतीय पर्यटक रोक्न नहुने बताएका हुन् ।
सोमबार राजधानीमा आयोजित मौद्रिक नीतिको सन्दर्भ छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शाहले भने, ‘नेपाल–भारत डिजिटल भुक्तानी, क्यूआर प्रणालीको अझै विकास भइसकेको छैन । अझैँ भारतीयहरूले क्यास नै बोकेर नेपाल आउनुपर्ने बाध्यता छ । तर हामीले यता २५ हजार भारुको सीमा ताकिदिएका छौँ’ अध्यक्ष शाहले भने, ‘गभर्नर साव अहिले क्यास बोकेर नेपाल घुम्न आउने पर्यटक बोर्डरमा नै, एयरपोर्टमा नै समातिने अनि थुनिने अवस्था छ । म तपाईसँग विशेष आग्रह गर्दछु, मौद्रिक नीतिले यो समस्याको समाधान गरोस् ।’
सोही अवसरमा अध्यक्ष शाहले नेपाल भ्रमण वर्ष, २०२० र सरकारी नीति तथा घोषण अनुसार निजी क्षेत्रले होटल तथा पर्यटन क्षेत्रमा ठुलो लगानी गरेपनि सोचेअनुरुपको व्यापार हुन नसक्दा व्यवसाय सञ्चालनमा समस्या परेको बताए । बैंकको ब्याज, किस्ता तिर्न नसक्ने अवस्थामा पुगेका केही पुराना होटल तथा रिसोर्टहरु बन्द हुने अवस्थामा पुगेको भन्दै अध्यक्ष शाहले यस्ता व्यवसायलाई सम्बोधन गर्नेगरी मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याउन समेत उनले आग्रह गरे ।
‘भ्रमण वर्ष, पर्यटक आगमनको उत्साहलाई हेरेर व्यवसायीहरुले होटलमा ठुला लगानी हालेका छन् । तर, अहिलेसम्म सोचे अनुसार पर्यटक पाउन सकेका छैनन् । बैंकबाट लिएको साँवा ब्याज मासिक किस्ता भुक्तानी हालको अप्रेशनले धान्न सकिरहेको छैन । पर्यटन क्षेत्रलाई विशेष प्राथमिकताको आवश्यक छ । यस्तो क्षेत्रमा प्रवाहित कर्जामा बैंकहरुको आधारदरमा १ प्रतिशत मात्र थप प्रिमियम लाग्ने व्यवस्था गर्न म विशेष आग्रह गर्दछु’ शाहले भने ।
प्रतिउत्तरमा गभर्नर महाप्रसाद अधिकारीले घट्दो ब्याजदर, तरलता सहजिकरणसँगै केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति थप लचक र खुकुलो ल्याउने आश्वासन दिए । हाल मौद्रिक नीतिको गृहकार्य गरिरहेको राष्ट्र बैंकले साउनको दोस्रो हप्ता मौद्रिक नीति ल्याउने गभर्नर अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एफबीआईले भन्यो-न्यू अर्लिन्समा एक्लै नरसंहार मच्चाउने जब्बार सेनाका अनुभवि
-
आज महालक्ष्मीको बार, कस्तो छ तपाइको दिन ? हेरौँ राशिफल
-
अमेरिकी डलर, युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र रिङ्गेट ओरालो
-
इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा
-
हप्ता दिनमा दुई सयबढी पर्यटक सगरमाथा क्षेत्रमा
-
प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट आजदेखि