शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

दिल्लीमा जलसङ्कटबिच अनसनमा बसेकी जलमन्त्री अस्पतालमा

मङ्गलबार, ११ असार २०८१, १० : ५८
मङ्गलबार, ११ असार २०८१

नयाँ दिल्ली । दिल्ली सरकारकी जलमन्त्री आतिशीलाई अस्पताल भर्ना गरिएको छ । आम आदमी पार्टीले माइक्रो ब्लगिङ वेबसाइट  एक्समा यसबारे जानकारी दिएको हो । आतिषी केही दिनयता अनिश्चितकालीन अनशनमा थिइन् । उनले विगत ५ दिनदेखि केही नखाएको बताइएको छ ।

‘जलमन्त्री आतिशीको स्वास्थ्य बिग्रँएको छ । उनको रगतमा चिनीको मात्रा घटेर ४३ मा आएको थियो र राति ३ बजे यो ३६ मा झर्यो । त्यसपछि एलएनजेपी अस्पतालका चिकित्सकले भर्ना गर्न  सल्लाह दिए ।’ आम आदमी पार्टीले भनेको छ ।

‘उनले पछिल्लो पाँच दिनदेखि केही पनि खाएकी थिइनन् र हरियाणासँग दिल्लीको भागको पानी माग्न अनिश्चितकालीन अनशनमा थिइन् । उनलाई एलएनजेपी अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।’ पोष्टमा भनिएको छ । दिल्लीमा यतिबेला चरम जल सङ्कट छ । यस्तोमा दिल्ली सरकारले हरियाणालाई पानी नछोडेको आरोप लगाइरहेको  छ । 

उता, हरियाणा सरकारले भने दिल्लीलाई पहिले भन्दा बढी पानी दिइरहेको तर दिल्ली सरकारले व्यवस्था गर्न नसकेको बताएको छ । दिल्लीकी जलमन्त्री आतिशीले पानी छाड्नु पर्ने माग गर्दै अनिश्चितकालीन अनशनमा बसेकी थिइन् । आतिषीले यसअघि भिडियो सन्देश पनि जारी गरेकी थिइन् ।

‘दिल्लीमा आउने सारा पानी छिमेकी राज्यबाट आउँछ । हरियाणाको बीजेपी सरकारले दिल्लीको हकको सय एमजीडी अर्थात् ४६ करोड लिटरभन्दा बढी पानी रोकेर राखेको छ । यो एक दिनमा २८ लाख भन्दा बढी मानिसहरूको काममा आउँथ्यो’ उक्त भिडियोमा आतिषीले भनेकी थिइन् । 

आफ्नो स्वास्थ्य जतिसुकै बिग्रिए पनि हरियाणा सरकारले यी २८ लाख जनताको हकको पानी नछोडेसम्म दिल्लीका जनतालाई उनीहरूको हकअनुसारको पानी उपलब्ध गराउने लडाई नछाड्ने आतिषीको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप