बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
बजेट

मोरङका कुन पालिकाको कति बजेट ? सबैको प्राथमिकता कृषि र सडकमा

मङ्गलबार, ११ असार २०८१, १६ : ४१
मङ्गलबार, ११ असार २०८१

विराटनगर । मोरङका १७ वटै पालिकाले आगामी आर्थिक वर्ष (२०८१/८२) को बजेट, नीति तथा कार्यक्रम ल्याएका छन् । प्रायः सबै पालिकाको प्राथमिकतामा कृषि र सडक पूर्वाधार नै छ ।

विराटनगरले ल्यायो ३ अर्ब ४९ करोडको बजेट

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेको छ । चौधौँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले सोमबार महानगरको नीति तथा कार्यक्रम र वार्षिक आयव्यय विवरण प्रस्तुत गरेकी हुन् ।

बजेटमा चालु र पुँजीगततर्फ ३ अर्ब ४४ करोड ९८ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ विनियोजन गरी ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा १३ करोडले बढी हो ।

विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजस्व आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा महानगरको आम्दानीमा भारी गिरावट आएको हो । चालु वर्ष १ अर्ब २ करोड रुपैयाँ राजस्व आम्दानी गर्ने अनुमान गरेको महानगरले जेठ मसान्तसम्म ४७ करोड रुपैयाँमात्र सङ्कलन गरेको छ ।

असार मसान्तसम्म करिब ५५ करोड राजस्व सङ्कलन हुन सक्ने देखिएको राजस्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिए । गत आर्थिक वर्षको आम्दानीको तुलनामा झण्डै १५ प्रतिशत कम आम्दानी गरेको महानगरले आगामी आर्थिक वर्ष चालु वर्षको तुलनामा ८ करोड बढी राजस्व सङ्कलन हुने भन्दै १ अर्ब १० करोड आन्तरिक आयको अनुमान गरेको छ ।

विराटनगर महानगरपालिकाले आगामी वर्ष भौतिक पूर्वाधार, सामाजिक विकास, स्वास्थ्य र शिक्षातर्फ नियमित झैँ बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ आफ्नै फार्मेसी सञ्चालन गर्ने महानगरले जनाएको छ । महानगरले आगामी वर्षका लागि नयाँ कार्यक्रम भने प्रस्तुत गरेको छैन । महानगरले आगामी वर्ष झण्डै ४५ करोड रुपैयाँ दायित्व भुक्तानी गर्नुपर्ने भएकाले नयाँ कार्यक्रम समावेश गर्न नसकेको हो ।

पथरीशनिश्चरेको बजेट ८५ करोड ४१ लाख

यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८५ करोड ४१ लाख ८ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेको छ । पथरीशनिश्चरेले चालु खर्च १३ करोड ४५ लाख, कार्यक्रम खर्च २ करोड ६३ लाख, पुँजीगत तथा कोष व्यवस्थापनका लागि २० करोड ५१ लाख २८ हजार, आर्थिक विकास १ करोड ४५ लाख, सामाजिक विकासतर्फ ४ करोड २५ लाख, वन वातावरणतर्फ १५ लाख, सुशासन र संस्थागत विकासतर्फ १३ लाख, वडा पुँजीगत ६ करोड ३० लाख, न्यायिक समितिलाई सशर्त २० लाख र समपूरक अनुदान खर्च ३६ करोड ४३ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गर्दै बजेट ल्याएको छ । उक्त पालिकाले चालु आर्थिक वर्षका लागि ७८ करोड ९१ लाख ७५ हजार २४३ रुपैयाँको बजेट ल्याएको थियो ।

लेटाङको बजेट ६० करोड ८५ लाख

उता लेटाङ नगरपालिकाले ६० करोड ८५ लाख ५७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा पालिकाका नगर उपप्रमुख कृष्णकुमारी निरौलाले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयबाट ३ करोड ७१ लाख ५० हजार, राजस्व बाँडफाँटबाट १७ करोड ७२ लाख १५ हजार, नेपाल सरकारको वित्तीय हन्तान्तरणबाट ३६ करोड ८ लाख ७० हजार, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट २ करोड ९८ लाख ४९ हजार र अन्य अनुदान ३५ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । यो पालिकाले चालु आर्थिक वर्षका लागि ७५ करोड ९ लाख ७ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको थियो ।

रतुवामाईले ल्यायो ७८ करोड ९० लाखको बजेट

यसैबिच मोरङको रतुवामाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७८ करोड ९० लाख ३३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख दमयन्तादेवी चुडालले १४ औँ नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा कृषि र सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको छ । जसमा सबै किसानलाई सिँचाइको विद्युत् महसुल निःशुल्क गर्ने, एम्बुलेन्स र शव बाहन निःशुल्क गर्ने, क्याम्पस पढ्न चाहने बुहारीलाई निःशुल्क शिक्षा दिइने, ८० वर्ष उमेर माथिकालाई प्रतिमहिना १ हजार पोषण खर्च दिने, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा र सबै सरकारी विद्यालयको पुरानो जस्तापाता हटाइ नयाँ लगाइदिने कार्यक्रममा उल्लेख छ ।

मिक्लाजुङको जोड पशुपालनमा

उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाले पनि ७७ करोड ४५ लाख ५ सय रुपैयाँको बजेट ल्याएको छ । बजेटमा ४३ करोड ६ लाख १९ हजार रुपैयाँ चालु खर्च र ३४ करोड ४४ लाख ५६ हजार ५ सय रुपैयाँ पुँजीगत खर्च छ । पालिकाको १४ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष दिनेश पौडेलले कृषितर्फ ५५ लाख ५७ हजार ५ सय रुपैयाँ खर्च गर्ने र पशुपालनतर्फ २९ लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेका छन् ।

कटहरीको बजेट ५० करोड ८२ लाख

मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ८२ लाखको बजेट यसअघि नै ल्याइसकेको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले गत बिहीबार बजेट प्रस्तुत गरेकी हुन् । जसमा प्रशासनिक तथा सञ्चालन खर्च ११ करोड ६८ लाख ८४ हजार र पुँजीगत ३८ करोड ३१ लख ९८ हजार विनायोजन गरिएको छ ।

गाउँपालिकाले कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।

अन्य पालिकाको कति ?

यसैबिच मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २४८ रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सोमबार भएको चौधौँ नगरसभामा उपमेयर अकली चौधरीले बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालुतर्फ ७५ करोड २९ लाख ४३ हजार ५ सय रुपैयाँ र पुँजीगततर्फ १ अर्ब ६ करोड ६७ लाख ३५ हजार ७४८ रुपैयाँ विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा ६५ लाख रकम विनियोजन गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ७२ करोड ८ लाख २२ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

उता, मोरङको सुदूरपूर्वमा पर्ने उर्लाबारी नगरपालिकाले १ अर्ब ५ करोडको बजेट पारित गरेको छ । असार ५ गते नगरसभामा प्रस्तुत उक्त बजेट सोमबार पारित गरेको हो । प्रस्तुत बजेटमा चालुतर्फ ४२ करोड ८१ लाख र पुँजीगततर्फ ६२ करोड ३५ लाख ३३ हजार ५ सय रुपैयाँ छुट्ट्याइएको छ । बजेटमा कृषि, सडक, पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

जहदा गाउँपालिकाले पनि यसअघि नै बजेट ल्याइसकेको छ । उक्त पालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ७६ लाख ३४ हजार बराबरको बजेट ल्याएको हो ।

यस्तै बेलबारी नगरपालिकाले ९७ करोड १५ लाख ८५ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख नितु थापा कोइरालाले नगरसभामा पेस गरेको बजेटमध्ये चालुतर्फ ५८ करोड ९३ लाख, १८ हजार तथा पुँजीगततर्फ ३८ करोड २२ लाख ६७ हजार रुपैयाँ छ ।

केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७८ करोड ४० लाख ४४ हजारको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

सुनवर्षी नगरपालिकाले ६२ करोड ८१ लाख रुपैयाँको बजेट ल्याएको छ भने रंगेली नगरपालिकाले ७२ करोडको बजेट ल्याएको छ । मोरङकै ग्रामथान गाउँपालिकाले चालुतर्फ ४२ करोड र पुँजीगततर्फ २२ करोडको बजेट ल्याएको छ । यस्तै धनपालथान, बुढीगंगा र कानेपोखरी गाउँपालिकाले भने बजेट ल्याए पनि विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप