मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
राष्ट्रिय महाधिवेशन

नेतृत्वबारे माधवको प्रस्तावमा बोलेनन् झलनाथ

अहिले नै पुस्तान्तरणले पार्टीलाई राम्रो गर्दैन : नेपाल
सोमबार, १० असार २०८१, १८ : १४
सोमबार, १० असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनमार्फत अहिलेकै नेतृत्वलाई निरन्तरता दिएर पार्टीलाई एकताबद्ध राख्न प्रस्ताव गरेका छन् ।

राष्ट्रिय महाधिवेशनको सम्मुखमा नेतृत्व चयनको प्रक्रिया जटिल बन्दै जाने देखिएपछि अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालसँग भेटेर यस्तो प्रस्ताव गरेका हुन् । 

‘महाधिवेशनलाई व्यवस्थित बनाऔँ, पुरानै नेतृत्वलाई निरन्तरता दिऔँ । अहिले नै पुस्तान्तरण भन्ने कुराले राम्रो गर्दैन’, खनालसँग अध्यक्ष नेपालको प्रस्ताव थियो । तर अध्यक्ष नेपालको यो प्रस्तावमा नेता खनालले भने कुनै जवाफ नदिएको स्रोतको भनाइ छ ।

दुई नेताको भेटमा उपाध्यक्षद्धय राजेन्द्र पाण्डे र प्रमेश हमाल समेत सहभागी थिए । 

नेपाल–खनाल भेटमा सहभागी उपाध्यक्ष हमालले असार १६ गतेदेखि हुने महाधिवेशन कसरी सफल बनाउने भन्ने विषयमा कुराकानी भएको बताए ।

‘महाधिवेशनको संघारमा नेताहरूबिच कुराकानी हुनु स्वाभाविक हो’, हमालले भने, ‘महाधिवेशन एकताबद्ध र सफलतापूर्वक सम्पन्न गर्ने भन्ने विषयमा केन्द्रित कुराकानी भएको छ ।’

नेतृत्व छनोटको प्रक्रियाका बारेमा कस्तो कुराकानी भयो ? भन्ने रातोपाटीको प्रश्नमा नेता हमालले भने, ‘त्यसबारेमा विस्तृत कुराकानी हुन पाएन ।’ हमालले एकताबद्ध भएर सहमतिमै अघि बढ्नुपर्छ भन्ने कार्यकर्ता र समयको माग रहेको भन्दै सोही विषयमा नेताहरूबिच छलफल भएको बताए ।

‘दुवै नेताको पनि चाहना सहमतिमै अघि बढ्ने भएकाले कुराकानी सकारात्मक भएको छ’, हमालको भनाइ छ ।

सम्मानित नेता खनालले सहमतिबाट अघि बढ्नका लागि अध्यक्ष नेपालले आग्रह गरेको स्वीकार गरे ।

‘महाधिवेशन नजिक आइसकेको छ । त्यसका बारेमा नेताहरूबिच संवाद र कुराकानी हुनु स्वाभाविक हो’, खनालले भने, ‘वार्ता सुरुमात्र भएको छ, अहिलेलाई यतिमात्रै बुझ्नुस् ।’

एकीकृत समाजवादीको अध्यक्षमा नेपालसहित खनाल र महासचिव घनश्याम भुसालले पनि दाबी रहेको बताउँदै आएका छन् । खनाल र भुसालले अध्यक्षमा दाबी गर्ने चर्चा चलिरहेका बेला नेपालले खनालसँग संवाद थालेका हुन् । नेता नेपालको नेतृत्वमा २०७८ सालमा एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन भएको हो । आफ्नो नेतृत्वमा एमालेसँग विद्रोह भएकाले अध्यक्षमा आफैले निरन्तरता पाउनुपर्ने नेपालको चाहाना छ । तर सम्मानित नेता खनाल अध्यक्ष नेपालले ३३ महिनाको अवधिमा विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै समाजवादी विचारसहित आफूले नेतृत्व गर्न पाउनुपर्ने बताउँदै आएका छन् । यता महासचिव भुसाल नेतृत्व भने पुस्तान्तरणको विषय अघि सारेर नेपाल र खनाललाई चुनौती दिने तयारीमा छन् ।

एमाले विभाजनताका समयमा केपी शर्मा ओली पक्षमै रहेका भुसाल २०७९ को निर्वाचनमा एमालेले टिकट नदिएपछि माओवादीको टिकटबाट निर्वाचन लडेका थिए । तर उनी पराजित बने । त्यसको केही समयपछि भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । भुसाल अध्यक्ष नेपालकै प्रस्तावमा महासचिव बनेका थिए । तर महाधिवेशन नजिकिँदै जाँदा उनै भुसालले नेपाललाई चुनौती दिन लागेको भन्दै नेपाल पक्षधर नेता कार्यकर्ता रुष्ट छन् । ‘भुसालजी विद्रोहमा पनि सहभागी हुनुभएन । पछि एमालेले नपत्याएपछि माधवजीले आश्रयमात्र दिनुभएन पार्टीको महासचिव जस्तो महत्त्वपूर्ण पद नै दिनुभयो’, माधव नेपाल निकट एक नेताले भने, ‘अहिले उहाँ जुल्फी हल्लाएर उनै नेपाललाई चुनौती दिन्छु भन्दै हिँड्नु भएको छ ।’

एकीकृत समाजवादीले दसौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरका १८ सयभन्दा बढी प्रतिनिधि छनोट गरिसकेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप