बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भारतीय टोलीबाट बाहिरिन सक्छन् रोहित शर्मा र विराट कोहली

प्रमुख प्रशिक्षक बन्न गौतम गम्भीरका पाँच माग
सोमबार, १० असार २०८१, १७ : ५९
सोमबार, १० असार २०८१

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पूर्वक्रिकेटर गौतम गम्भीरलाई भारतीय टोलीको प्रमुख प्रशिक्षक बनाउने तयारी अगाडि बढाएको छ । बीसीसीआईका पदाधिकारीले विभिन्न चरणमा गम्भीरसँग छलफल पनि गरिसकेका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपलगत्तै भारतीय टोलीका वर्तमान प्रमुख प्रशिक्षक राहुल द्रविडको पदावधि पनि सकिँदै छ । तर, भारतीय टोलीको प्रमुख प्रशिक्षक बन्न गौतम गम्भीरले बीसीसीआईका पदाधिकारीसँग विभिन्न पाँचवटा माग राखेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, गौतम गम्भीरले बीसीसीआईसँग राखेको मागले भारतीय टोलीका कप्तान रोहित शर्मा, प्रभावशाली ब्याट्सम्यान विराट कोहलीजस्ता खेलाडीको खेलजीवन अप्ठ्यारोमा पर्न सक्छ ।

गम्भीर प्रमुख प्रशिक्षक बनेपछि रोहित, विराटलगायतका केही अनुभवी खेलाडी टोलीबाट बाहिरिन सक्ने सम्भावना छ । प्रमुख प्रशिक्षक बन्न गौतम गम्भीरले बीसीसीआई समक्ष राखेका पाँच सर्त यस्ता छन् ।

पहिलो माग : गौतम गम्भीरले प्रमुख प्रशिक्षक बनेपछि टोलीको विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार आफूसँग निहित हुनुपर्ने माग गरेका छन् । उनले बीसीसीआईले कुनै पनि हस्तक्षेप गर्न नपाउने सर्त राखेका छन् ।

दोस्रो माग : गौतम गम्भीरले प्रमुख प्रशिक्षक बनेपछि प्रशिक्षण टोलीका सम्पूर्ण सदस्य आफूले नै चयन गर्न पाउनु पर्ने सर्त पनि राखेका छन् । उनले ब्याटिङ प्रशिक्षक, बलिङ प्रशिक्षक र फिल्डिङ प्रशिक्षक पनि आफैले चयन गर्ने सर्त राखेका छन् ।

तेस्रो माग : गौतम गम्भीरले सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफी रोहित शर्मा, विराट कोहली, रविन्द्र जडेजा, मोहम्मद सामीलगायतका सिनियर खेलाडीका लागि अन्तिम खेल हुन सक्ने माग पनि राखेका छन् । यदि यी खेलाडीले च्याम्पियन्स ट्रफीमा राम्रो प्रदर्शन गर्न नसके टोलीबाट हटाइनु पर्ने माग उनले राखेका छन् । त्यसैले गम्भीर प्रमुख प्रशिक्षक बनेमा च्याम्पियन्स ट्रफीपछि यी सिनियर खेलाडी तीनवटै ढाँचाको प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना छ ।

चौथो माग : गौतम गम्भीर आफू प्रमुख प्रशिक्षक बनेमा टेस्ट क्रिकेटका लागि छुट्टै टोली बनाउन पाउनु पर्ने माग पनि राखेका छन् ।

पाँचौँ माग : गौतम गम्भीरले आफू प्रमुख प्रशिक्षक बनेमा अहिलेदेखि नै सन् २०२७ को एकदिवसीय विश्वकपका लागि ठोस योजना बनाएर अगाडि बढ्न पाउनु पर्ने माग पनि राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप