बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
युरोकप फुटबल

समूह ‘बी’ को अन्तिम खेल : स्पेन ढुक्क, साबिक विजेता इटालीलाई अल्बानिया र क्रोएसियाको चुनौती

सोमबार, १० असार २०८१, १६ : ५१
सोमबार, १० असार २०८१

अल्बानियाविरुद्ध स्पेन (००ः४५ बजे) 
क्रोएसियाविरुद्ध इटाली (००ः४५ बजे) 

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा मंगलबार समूह ‘बी’ को दुई खेल हुँदैछ । मंगलबार बिहान हुने खेलमा बलियो स्पेनले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अल्बानियाको सामना गर्नेछ । अर्को खेल साबिक विजेता इटाली र क्रोएसियाबिच खेलिने छ । 

दुवै खेल नेपाली समय अनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछन् । यी दुई खेलसँगै समूह ‘बी’ बाट नकआउट चरणमा पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ । यो समूहबाट स्पेन यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । इटाली, अल्बानिया र क्रोएसिया भने नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्ने धुनमा छन् । 

  • समूह ‘बी’ को समीकरण

चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । आफ्नो दुवै खेलमा विजयी भएको स्पेन ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । 

स्पेनले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । दोस्रो खेलमा स्पेनले बलियो प्रतिद्वन्द्वी इटालीमाथि १–० गोलको रोमाञ्चक जित हासिल गरेको थियो । इटाली भने तीन अङ्कसहित दोस्रो स्थानमा छ । 

e072ia18_x_625x300_15_June_24

दोस्रो खेलमा स्पेनसँग पराजित भएको इटालीले आफ्नो पहिलो खेलमा अल्बानियालाई २–१ गोलले हराएको थियो । अल्बानिया एक अङ्कसहित तेस्रो र क्रोएसिया पनि एक अङ्कसहित चौथो स्थानमा आसीन छन् । अल्बानिया र क्रोएसियाबिचको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

स्पेनले अल्बानियालाई हराए नौ अङ्कसहित स्पेन समूह विजेताका रूपमा नकआउट चरणमा पुग्नेछ । तर, अल्बानियाले स्पेनलाई हराएमा अल्बानियाको चार अङ्क पुग्नेछ । यस्तोमा अल्बानियाको नकआउट चरणमा पुग्ने सम्भावना बढ्ने छ । तर, अल्बानियासँगको हारले स्पेनलाई भने अघिल्लो चरणमा पुग्न कुनै असर पर्ने छैन ।

000_34WX4K2

स्पेन र अल्बानियाबिचको खेल बराबरीमा सकिए पनि स्पेन सात अङ्कसहित समूह विजेताकै रूपमा नकआउट चरणमा पुग्नेछ । तर, यो नतिजाले अल्बानियाको अगाडि बढ्ने सपनामा भने धक्का लाग्ने निश्चित छ । उप–विजेता बन्न नसक्ने पनि अल्बानिया तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीभित्र पर्दै नकआउट चरणमा पुग्ने धुनमा छ । 

यसैगरी अर्को खेलमा क्रोएसियालाई हराउन सके इटाली सजिलै प्रतियोगिताको नकआउट चरणमा पुग्नेछ । तर, यसको विपरीत क्रोएसियासँग पराजित भए साबिक विजेता इटालीको अगाडि बढ्ने सपनामा धक्का लाग्नेछ । किनभने यस्तो अवस्थामा क्रोएसियाको चार र इटालीको तीन अङ्क हुनेछ ।

इटाली र क्रोएसियाबिचको खेल बराबरीमा सकिए इटालीको चार अङ्क हुनेछ । क्रोएसियाको भने दुई अंकमात्र पुग्नेछ । यस्तो स्थितिमा अर्को खेलमा अल्बानियाले स्पेनलाई हराए अल्बानियाको पनि चार अङ्क पुग्नेछ । 

  • स्पेनविरुद्ध अल्बानिया

विश्व फुटबल महासंघद्वारा घोषित पछिल्लो वरीयतामा स्पेन आठौँ र अल्बानिया ६६औँ स्थानमा छन् । युरोकपमा स्पेनको यो १२औँ सहभागिता हो । युरो कपको सबैभन्दा बढी संस्करणमा सहभागिता जनाउने राष्ट्रको सूचीमा जर्मनीपछि स्पेन दोस्रो स्थानमा छ । आयोजक जर्मनीको यो १४औँ सहभागिता हो ।  

स्पेनले हालसम्म तीनपटक युरो कपको उपाधि पनि जितिसकेको छ । स्पेनका अतिरिक्त जर्मनीले मात्र तीनपटक युरो कपको उपाधि उचाल्न सकेको छ । स्पेनले सन् १९६४, सन् २००८ र सन् २०१२ मा युरो कपको उपाधि चुमेको थियो । 

960x0 (1)

स्पेन सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरो कपको उपाधि जित्ने राष्ट्र पनि हो । यसका अतिरिक्त स्पेन लगातार दुईपटक युरो कपको उपाधि जित्ने राष्ट्र पनि हो । सन् १९८४ मा भने स्पेन युरो कपको उप–विजेता बनेको थियो । 

यसको विपरीत अल्बानियाको युरोकपमा केवल दोस्रो सहभागिता हो । अल्बानियाले सन् २०१६ मा पहिलो पटक युरोकप खेलेको थियो । त्यतिबेला अल्बानिया समूहगत चरणबाटै घर फर्किएको थियो । समूहगत चरणमा अल्बानियाले तीनमध्ये एक खेलमात्र जितेको थियो । 

0_italy-v-albania-uefa-euro-2024

स्पेन र अल्बानियाबिच हालसम्म कुल आठवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये आठवटै खेलमा स्पेनले अल्बानियालाई हराएको छ । त्यसैले इतिहास र तथ्याङ्कमा अल्बानियाभन्दा स्पेन निकै बलियो देखिन्छ ।

जारी युरो कपको छनोट प्रतियोगितामा स्पेन आफ्नो समूहको विजेता बनेको थियो । स्पेनले आठमध्ये सात खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । अल्बानिया पनि युरो कपको छनोट प्रतियोगितामा आफ्नो समूहको विजेता बनेको थियो । अल्बानियाले आठमध्ये चार खेलमा जित, तीन खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । 

  • इटालीविरुद्ध क्रोएसिया

विश्व फुटबल महासंघद्वारा घोषित पछिल्लो वरीयतामा क्रोएसिया नवौँ र इटाली १०औँ स्थानमा छन् । पछिल्लो प्रदर्शनका आधारमा यी दुवै टोलीबिचको वरीयतामा खासै अन्तर छैन । इटाली युरो कपको साबिक विजेता टोली हो । अघिल्लो संस्करणको फाइनलमा इटालीले इङ्ल्यान्डलाई हराएको थियो ।

युरोकप फुटबलमा इटालीको यो ११औँ सहभागिता हो । इटालीले सन् १९६८ देखि युरोकपमा सहभागिता जनाउन थालेको हो । इटालीले हालसम्म दुईपटक युरो कपको उपाधि उचालिसकेको छ । इटालीले सन् १९६८ मा आफ्नो पहिलो सहभागितामै उपाधि चुमेको थियो ।

2024-06-08T074852Z_289657843_RC26F4A8XXLX_RTRMADP_3_SOCCER-EURO-1718443673

त्यसपछि इटालीले सन् २०२० मा दोस्रो पटक उपाधि उचालेको थियो । यसका अतिरिक्त दुईपटक इटाली उप–विजेता पनि बनेको छ । इटाली सन् २००० र सन् २०१२ मा युरो कपको फाइनलमा पराजित भएको थियो । 

क्रोएसियाको भने युरोकपमा यो सातौँ सहभागिता हो । क्रोएसियाले सन् १९९६ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । तर, क्रोएसिया हालसम्म युरो कपको फाइनलसम्म पनि पुग्न सकेको छैन ।

क्रोएसिया र इटालीबिच हालसम्म नौवटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । विगतको तथ्याङ्कलाई हेर्दा इटालीभन्दा क्रोएसिया बलियो देखिन्छ । यसअघि खेलिएका नौमध्ये तीन खेलमा क्रोएसियाले इटालीलाई हराएको छ ।

croatia-2024-g-1200

इटालीले भने एक खेलमा मात्र क्रोएसियालाई हराउन सकेको छ । इटाली र क्रोएसियाबिचको पाँच खेल भने बराबरीमा सकिएको छ । यी दुई राष्ट्रबिच पछिल्लो पटक सन् २०२२ को जुन ८ तारिखमा फिफा विश्वकपमा भिडन्त भएको थियो । त्यो खेलमा क्रोएसियाले इटालीलाई २–१ गोलले हराएको थियो । 

युरो कपको छनोट प्रतियोगितामा इटाली आफ्नो समूहको उप–विजेता बनेको थियो । इटालीले आठमध्ये चार खेलमा जित, दुई खेलमा बराबरी र दुई खेलमा हारको नतिजा निकालेको थियो । क्रोएसिया पनि छनोट प्रतियोगितामा आफ्नो समूहको उप–विजेता बनेको थियो । क्रोएसियाले आठमध्ये पाँच खेलमा जित, एक खेलमा बराबरी र दुई खेलमा हारको नतिजा निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप