बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
‘सुपर–८’ चरणको ‘समूह–१’

अन्तिम खेलअघि समूह–१ को अवस्था : भारत बलियो, अस्ट्रेलियालाई अफगानिस्तानको डर

यस्ता छन् सम्भावित चार परिदृश्य
सोमबार, १० असार २०८१, १६ : १४
सोमबार, १० असार २०८१
  • अस्ट्रेलियाविरुद्ध भारत (सोमबार राति २०ः१५ बजे)
  • अफगानिस्तानविरुद्ध बंगलादेश (मंगलबार बिहान ०६ः१५ बजे)

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा सोमबार राति र मंगलबार बिहान ‘सुपर–८’ चरणका दुई खेल हुँदैछन् । यी दुई खेलले ‘सुपर–८’ चरणको समूह–१’ बाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लगाउने छ । 

यी दुई खेलसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । ‘समूह–२’ बाट भने दक्षिण अफ्रिका विजेता र इङ्ल्यान्ड उप–विजेता बन्दै यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

australia

सोमबार रातिको खेलमा दुई बलिया टोली भारत र अस्ट्रेलियाबिच रोचक भिडन्त हुनेछ । उक्त खेल क्यारेबियन टापु सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ । 

अर्को खेल अस्ट्रेलियालाई हराएर हौसिएको अफगानिस्तान र पहिलो पटक सेमिफाइनलमा स्थान बनाउने सपना पालेको बंगलादेशबिच खेलिने छ । उक्त खेल सेन्ट भिनसेन्टस्थित अर्नोस भेल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार, मंगलबार बिहान ६ः१५ बजे सुरु हुनेछ । 

afghanistan

‘सुपर–८’ चरणअन्तर्गत ‘समूह–१’ को समीकरण पनि रोचक मोडमा छ । यद्यपि, अहिलेको अङ्क समीकरणमा भारत केही बलियो देखिएको छ । अघिल्लो खेलमा अफगानिस्तानले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई हराएपछि यो समूहको समीकरण रोमाञ्चक बनेको हो । 

त्यो खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएको भए भारत र अस्ट्रेलिया आफ्नो अन्तिम खेलअघि नै  सेमिफाइनलमा पुग्ने थिए । तर, अघिल्लो खेलको अप्रत्याशित नतिजापछि अफगानिस्तानको पनि सेमिफाइनलमा पुग्न सम्भावना बलियो देखिन्छ । 

यसका अतिरिक्त बंगलादेशको पनि अगाडि बढ्ने सपना पूर्णरुपमा समाप्त भइसकेको छैन । ‘समूह–१’ तालिकाको अहिलेको अवस्थाका आधारमा सोमबार राति र मंगलबार बिहान हुने खेलमा कस्तो नजिता आए समीकरणमा कस्तो असर पर्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

  • यदि अस्ट्रेलिया र अफगानिस्तान विजयी भएमा के हुन्छ ?

यदि सोमबार राति हुने खेलमा अस्ट्रेलियाले भारतलाई र मंगलबार बिहान हुने खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएमा तीनवटै टोलीको चार–चार अङ्क पुग्नेछ । यस्तो स्थितिमा तीनवटै खेल हारेको बंगलादेश स्वतः उपाधि होडबाट बाहिरिने छ ।

383162

तर, बाँकी तीन टोलीको समीकरण रोचक बन्नेछ । यदि अस्ट्रेलियाले भारतलाई एक रनले हराएमा अफगानिस्तानले बंगलादेशलाई कम्तीमा ३६ रनले हराउनु पर्ने हुन्छ । यस्तो स्थितिमा अस्ट्रेलियाको भन्दा अफगानिस्तानको नेट रन रेट राम्रो हुनेछ ।

यदि विजयलक्ष्य पछ्याउँदै ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले अन्तिम बलमा जित हासिल गरेमा अफगानिस्तानले १५.४ ओभरभित्रै बंगलादेशलाई हराउनु पर्ने हुन्छ । यस्तो स्थितिमा पनि नेट रन रेटमा अस्ट्रेलियाभन्दा अफगानिस्तान अगाडि रहनेछ । 

383575

अहिलेको स्थितिमा भारतको नेट रन रेट निकै राम्रो छ । यदि नेट रन रेटमा भारतलाई पछि पार्दै सेमिफाइनलमा पुग्ने हो भने अस्ट्रेलियाले भारतलाई र अफगानिस्तानले बंगलादेशलाई निकै ठुलो अन्तरले हराउनु पर्ने हुन्छ ।

यसका लागि अस्ट्रेलियाले भारतलाई कम्तीमा ४१ रनले हराउनु पर्ने हुन्छ । अर्कोतिर, अफगानिस्तानले पनि बंगलादेशलाई कम्तीमा ८३ रनले हराउनु पर्ने हुन्छ । यदि दुवै खेलमा यस्तो नतिजा आयो भने भारत ‘सुपर–८’ चरणबाटै बाहिरिने छ ।

  • यदि भारत र बंगलादेशले विजयी भए के हुन्छ ?

यदि सोमबार राति हुने खेलमा भारतले अस्ट्रेलियालाई र मंगलबार बिहान हुने खेलमा बंगलादेशले अफगानिस्तानलाई हराए ‘समूह–१’ को समीकरण अर्कै हुनेछ । यस्तो स्थितिमा भारत ६ अङ्कसहित समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

india

बाँकी तीन टोली अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेशको दुई–दुई अङ्क हुनेछ । यस्तो स्थितिमा नेट रन रेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । अहिलेको स्थितिमा भारतको नेट रन रेट २.४२५, अस्ट्रेलियाको नेट रन रेट ०.२२३, अफगानिस्तानको नेट रन रेट –०.६५० र बंगलादेशको नेट रन रेट –२.४८९ रहेको छ । 

अहिलेको अवस्थालाई हेर्दा अफगानिस्तान र बंगलादेशको भन्दा अस्ट्रेलियाको नेट रन रेट निकै राम्रो देखिन्छ । त्यसैले मंगलबार बिहान हुने खेलमा अफगानिस्तानको टोली बंगलादेशसँग एक रनले हार्‍यो र सोमबार रातिको खेलमा अस्ट्रेलियाको टोली भारतसँग ३१ वा त्योभन्दा बढी रनको अन्तरले हा¥यो भने अफगानिस्तानको नेट रन रेट अस्ट्रेलियाको भन्दा राम्रो हुनेछ । 

383509

यसैगरी अफगानिस्तानलाई नेट रन रेटमा पछाडि पार्न बंगलादेशले आफ्नो अन्तिम खेल ३१ वा त्योभन्दा बढी रनले जित्नु पर्ने हुन्छ । यसदेखि बाहेक पनि बंगलादेशले सेमिफाइनलमा पुग्न अस्ट्रेलियाको टोली भारतसँग ५५ वा त्योभन्दा बढी रनले हारोस् भन्ने कामना गर्नुपर्ने हुन्छ । 

  • यदि अस्ट्रेलिया र बंगलादेश विजयी भए के हुन्छ ?

सोमबार राति हुने खेलमा अस्ट्रेलियाले भारतलाई हराएमा र मंगलबार बिहान हुने खेलमा बंगलादेशले अफगानिस्तानलाई हराएमा चार–चार अङ्कसहित भारत र अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

bang

यस्तो अवस्थामा अफगानिस्तान र बंगलादेश ‘सुपर–८’ चरणबाटै घर फर्कने छन् ।

  • यदि भारत र अफगानिस्तान विजयी भए के हुन्छ ?

यदि सोमबार राति हुने खेलमा भारतले अस्ट्रेलियालाई र मंगलबार बिहान हुने खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएमा अस्ट्रेलियाको अगाडि बढ्ने सम्भावना समाप्त हुनेछ ।

india 2

यस्तो अवस्थामा ६ अङ्कसहित भारत र चार अङ्कसहित अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

  • भारतविरुद्ध अस्ट्रेलिया 

भारत र अस्ट्रेलिया दुवै टी–२० विश्वकपका पूर्वविजेता हुन् । यी दुवै टोलीले एक–एकपटक टी–२० विश्वकपको उपाधि जितेका छन् । भारतले सन् २००७ मा र अस्ट्रेलियाले सन् २०२१ मा टी–२० विश्वकपको उपाधि चुमेका थिए । 

जारी विश्वकपमा अस्ट्रेलिया र भारत प्रारम्भिक चरणको खेलमा फरक समूहबाट विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेका हुन् । भारत समूह ‘ए’ को विजेता बनेको थियो । प्रारम्भिक चरणमा भारत आफूले खेलको चारमध्ये तीन खेलमा विजयी भएको थियो ।

भारतको एक खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो । भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

383508

तेस्रो खेलमा भारतले आयोजक अमेरिकालाई सात विकेटले पराजित गरेको थियो । भारत र क्यानडाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । समग्रमा भारतीय टोली प्रारम्भिक चरणको खेलमा अपराजित रहेको थियो ।

अर्कोतिर, अस्ट्रेलियाले पनि प्रारम्भिक चरणमा चारवटै खेल जितेको थियो । अस्ट्रेलिया समूह ‘बी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो ।

दोस्रो खेलमा अस्ट्रेलियाले बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको थियो । अस्ट्रेलियाले आफ्नो तेस्रो खेलमा नामिबियामाथि नौ विकेटको सजिलो जित हात पारेको थियो । चौथो खेलमा भने अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो ।

भारत ‘सुपर–८’ चरणमा पनि हालसम्म अपराजित छ । भारतले ‘सुपर–८’ चरणको पहिलो पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले हराएको थियो । दोस्रो खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित हात पारेको थियो । 

382947

अस्ट्रेलिया भने ‘सुपर–८’ चरणमा एक खेलमा पराजित हुन पुग्यो । अस्ट्रेलियाले ‘सुपर–८’ चरणको पहिलो खेलमा बंगलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा अस्ट्रेलियन टोली अफगानिस्तानसँग २१ रनले पराजित भएको थियो । 

जारी विश्वकपमा हालसम्म भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ऋषभ पन्त हुन् । उनले हालसम्म पाँच खेल खेल्दै कुल एक सय ५२ रन बनाएका छन् । भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा सूर्यकुमार यादव छन् । उनले कुल एक सय १८ रन बनाएका छन् ।

जारी विश्वकपमा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने बनाउने ब्याट्सम्यान ट्राभिस हेड हुन् । उनले हालसम्म ६ खेल खेल्दै कुल एक सय ७९ रन बनाएका छन् । यो सूचिमा दोस्रो स्थानमा डेभिड वार्नर हुन् । उनले उनले एक सय ७२ रन बनाएका छन् । तेस्रो स्थानमा मार्कस स्टोइनिस छन् । उनले कुल एक सय ६७ रन बनाएका छन् । 

भारतका लागि जारी विश्वकपमा सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह हुन् । उनले हालसम्म पाँच खेल खेल्दै १२ विकेट लिइसकेका छन् । दोस्रो स्थानमा जसप्रित बुमराह छन् । उनले पाँच खेलमा १० विकेट लिएका छन् । 

जारी विश्वकपमा अस्ट्रेलियाका लागि सर्वाधिक विकेट लिने बलर एडम जाम्पा हुन् । उनले ६ खेलमा १३ विकेट लिएका छन् । उनी जारी विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि दोस्रो स्थानमा छन् । अस्ट्रेलियाका लागि प्याट कमिन्सले पनि नौ विकेट लिइसकेका छन् ।

भारत र अस्ट्रेलियाबिच हालसम्म ३१ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये १९ खेलमा भारतले अस्ट्रेलियालाई हराएको छ । ११ खेलमा भने अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । यी दुईबिचको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । 

टी–२० विश्वकपमा पनि यी दुई टोलीबिच हालसम्म कुल पाँच खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको छ । बाँकी दुई खेलमा भने अस्ट्रेलियाले भारतलाई हराएको छ । 

सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा हालसम्म २२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये १२ खेलमा पहिले ब्याटिङ गर्ने टोली र १० खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । 

382883

जुन १८ तारिखमा यो स्टेडियममा वेस्ट इन्डिज र अफगानिस्तानबिचको खेल खेलिएको थियो । त्यो खेलमा पहिलो यो स्टेडियममा पटक दुई सयभन्दा बढी रन बनेको थियो । यो स्टेडियमका पिच खासगरी बलरलाई साथ दिने प्रकृतिको छ । सेन्ट लुसियामा भारत र अस्ट्रेलियाबिच खेल हुँदा वर्षाको सम्भावना ५५ प्रतिशत रहेको समाचारमा जनाइएको छ । 

सम्भावित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, अर्शदीप सिंह, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज रहने छन् ।

सम्भावित अस्ट्रेलियन टोलीमा मिचेल मार्स (कप्तान), डेभिड वार्नर, ट्राभिस हेड, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेभिड, म्याथ्यू वेड, प्याट कमिन्स, नाथन एलिस, एडम जाम्पा र जश हेजलउड रहेने छन् । 

  • अफगानिस्तानविरुद्ध बंगलादेश 

बंगलादेश र अफगानिस्तान प्रारम्भिक चरणमा आ–आफ्नो समूहको उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेका हुन् । बंगलादेश समूह ‘डी’ को उप–विजेता बनेको थियो । बंगलादेश आफूले खेलेका चारमध्ये तीन खेलमा विजयी भएको थियो । एक खेलमा भने बंगलादेश पराजित भएको थियो ।

afg

अफगानिस्तान समूह ‘सी’ को उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । प्रारम्भिक चरणमा अफगानिस्तानले आफूले खेलको चारमध्ये तीन खेलमा जित हात पारेको थियो । एक खेलमा भने अफगानिस्तान पराजित भएको थियो ।

यसैगरी ‘सुपर–८’ चरणमा अफगानिस्तानले दुईमध्ये एक खेलमा जित हात पारेको छ । अफगान टोलीले अघिल्लो खेलमा अस्ट्रेलियालाई हराएर आफ्नो क्षमता देखाएको थियो । बंगलादेश भने ‘सुपर–८’ चरणमा यसअघि आफूले खेलेको दुवै खेलमा पराजित भएको छ । 

यो विश्वकपमा अफगानिस्तानका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रहमानुल्लाह गुरबाज हुन् । उनले ६ खेल खेल्दै कुल दुई सय ३८ रन बनाइसकेका छन् । जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा उनी पहिलो स्थानमा छन् ।

अफगानिस्तानका लागि इब्राहिम जदरानले पनि दुई सय ११ रन बनाइसकेका छन् । अफगानिस्तानका लागि सर्वाधिक विकेट लिने बलर फजालहक फारुकी हुन् । उनले १५ विकेट लिएका छन् । जारी विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि उनी पहिलो स्थानमा छन् ।

बंगलादेशका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान तौहिद हृदोय हुन् । उनले ६ खेलमा कुल एक सय ३९ रन बनाएका छन् । सकिब अल हसनले पनि बंगलादेशका लागि ६ खेलमा कुल एक सय ११ रन बनाएका छन् ।

383500

जारी विश्वकपमा बंगलादेशका लागि सर्वाधिक विकेट लिने बलर भने तानजिम हसन सकिब हुन् । उनले ६ खेलमा ११ विकेट लिएका छन् । रिसाद होसैनले पनि बंगलादेशका लागि ६ खेलमा ११ विकेट लिइसकेका छन् । 

बंगलादेश र अफगानिस्तानबिच हालसम्म कुल ११ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये अफगानिस्तानले ६ खेलमा बंगलादेशलाई हराएको छ । बंगलादेशले भने पाँच खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । 

टी–२० विश्वकपमा भने बंगलादेश र अफगानिस्तानबिच हालसम्म एक खेलमात्र खेलिएको छ । त्यो खेलमा बंगलादेशले अफगानिस्तानलाई नौ विकेटले हराएको थियो । त्यो खेल सन् २०१४ को टी–२० विश्वकपमा खेलिएको थियो । 

बंगलादेश र अफगानिस्तानबिच खेल हुँदा सेन्ट भिनसेन्टमा वर्षाको सम्भावना रहेको समाचारमा जनाइएको छ । मंगलबार बिहान सेन्ट भिनसेन्टमा वर्षाको सम्भावना ३५ प्रतिशतभन्दा बढी रहेको बताइएको छ । 

अफगानिस्तानको सम्भावित टोलीमा रासिद खान (कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जदरान, गुलबदिन नाइब, अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी, करिम जनत, नानग्याली खारोत, नुर अहमद, नविन उल हक र फजालहक फारुकी रहने छन् ।

यसैगरी बंगलादेशको सम्भावित टोलीमा नजमुल होसैन सान्तो (कप्तान), तानजिद हसन, लिटन दास (विकेटकिपर), तौहिद हृदोय, सकिब अल हसन, महमुदुल्लाह, जाकेर अली, रिसाद होसैन, महेदी हसन, तानजिम हसन सकिब र मुस्तफिजुर रहमान रहने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप