बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
कलाकार

‘नेपाल आइडलमा जितेको पैसाले घरको ऋण तिर्छु’

सोमबार, १० असार २०८१, १४ : ४४
सोमबार, १० असार २०८१

बर्दियाका करण परियारको चर्चा यतिबेला चुलिएको छ । शनिबार आयोजित ‘नेपाल आइडल सिजन ५’ को विजेता घोषित भएपछि उनी सबैतिर मिडियामा छाउन सफल भएका हुन् । 

विपन्न परिवारमा जन्मिएका उनमा सानैदेखि गायन प्रतिभा थियो । सानोमा गाउँघर र विद्यालयमा गाउँदै हुर्किएका उनलाई सबैले गायनमा लाग्न हौस्याउँथे । सोही कारण गायनलाई अगाडि बढाउने उद्देश्यले उनी ‘प्लस टु’ सकाएर काठमाडौँ छिरेका थिए । 

काठमाडौँको बौद्धमा कृष्ण केसीसँग संगीत सिक्न थालेका उनी केसीकै प्रेरणा र सहयोगले नेपाल आइडलको मञ्चसम्म पुगेका थिए । आफ्नो गायन प्रतिभा बाहिर ल्याउने उद्देश्यले नेपाल आइडल सहभागी भएको परियार उपाधि विजेता नै बन्न सफल भए । 

नेपाल आइडलले एक सफल गायक बन्ने बाटो खोलेको बताउने परियासँग उपाधिको खुसी र आगामी दिनको योजनाको विषयमा रातोपाटीले राखेका केही प्रश्न ।

  • नेपाल आइडल विजेता बन्न सफल हुनु भएको छ । कस्तो अनुभूति भइरहेको छ ?

– एकदमै खुसी छु । सबैको सपना एउटा सफलता प्राप्त गर्ने हुन्छ । त्यो सपना पुरा भएको जस्तो लागेको छ । सङ्घर्षको एउटा खुड्किलो पार भएको छ, अझै धेरै गर्नु बाँकी छ ।

सपना धेरै छन् । त्यो बिस्तारै पुरा गर्नु छ । पुरा हुँदै गएपछि भनौँला ।
  • विजेता बन्छु भन्ने लागेको थियो ?

– मलाई गाउने रहर थियो । एउटा राम्रो प्लेटफर्मको खोजीमा थिए । त्यसैका लागि नेपाल आइडल रोजे । आइडलमार्फत आफ्नो गायन प्रतिभा अगाडि ल्याउने उद्देश्य थियो । त्यो मञ्चमा गाउन पाएँ, आफ्नो प्रतिभा देखाउन पाएँ, त्यो नै मेरो लागि ठुलो थियो । उपाधि जितौला भनेर कहिल्यै सोचेको थिइनँ ।

  • उपाधि जित्न कतिको सहज थियो ?

– सहज थिएन । प्रतियोगी सबै ट्यालेन्टेड थिए । मिहिनेत गरे सफलता हात पर्छ भन्ने ममा विश्वास थियो । त्यही विश्वासमा साथ मिहिनेत गरेँ । त्यो बेकार गएन ।

karan-pariyar-2

  • विजेता बनेपछि चुनौती के कस्ता देख्नुभएको छ ?  

– म आफ्नो मिहिनेतले मात्र विजेता बनेको होइन । यसमा दर्शक श्रोताको माया अपार छ । जुन मायाबिना उपाधि कल्पना पनि गर्न सकिँदैन । आइडलको क्रममा जतिले मलाई विश्वासका साथ विजेता बनाउनु भएको छ । त्यो विश्वास कायम राख्ने सबैभन्दा ठुलो चुनौती छ । सबैका लागि राम्रा गीतसंगीत दिएर विश्वास जित्नुछ ।

  • उपाधिका साथ २५ लाख नगद पनि जित्नु भएको छ । यो पैसा के गर्नुहुन्छ ?

– घरको ऋणको बोझ बुबामा छ । त्यो तिरेर हल्का गर्छु । छोरा भएको हिसाबले यो मेरो कर्तव्य हो । घरमा खर्च पनि छ । त्यसका लागि पनि दिन्छु । केही आफ्नो अगाडि यात्राका लागि चाहिन्छ । त्यसका लागि पनि साँच्छु ।

  • यस अगाडि कुनै सो जित्नु भएको थियो कि ?

– नेपाल आइडल म सहभागी भएको पहिलो रियालटी शो हो । पहिलो पटकमै सफलता मिल्यो ।

  • सपना के छ ?

– सपना धेरै छन् । त्यो बिस्तारै पुरा गर्नु छ । पुरा हुँदै गएपछि भनौँला । अहिलेको सपना गायनबाट राम्रा गीतसंगीत दिएर दर्शक श्रोताको मन जित्ने हो । अझै धेरै चर्चित हुने छ ।

मेरो गीत सबैको मुखमा झुन्डियोस् । सबैले राम्रो भनोस् । गीत सुन्ने बित्तिकै यो गीत करणको हो भनेर भन्न सक्ने खालको गीतसंगीत दिने मन छ । 
  • गाउने रहर कहिलेदेखि जाग्यो ?

– कहिलेदेखि गाउन थालेँ, त्यो आफैलाई थाहा छैन । बुबाआमाले त सानैदेखि गाउँथिस् भन्नुहुन्छ । जहिले देखि बुझ्ने भएँ, त्यो समयदेखि आफूलाई गाइरहेको पाएको छु । गाउँघर, स्कुलका कार्यक्रम पनि गीत गाउँथे । त्यो क्रममा सबैले तेरो गायन राम्रो छ, भविष्य उज्ज्वल हुन्छ भन्नुहुन्थ्यो । मिहिनेत गर्दै जानु भन्नुहुन्थ्यो ।

  • नेपाल आइडलको बाटो कसले देखायो ?

–प्लस टू सकाएपछि संगीतलाई अगाडि बढाउने सोच थियो । त्यसैले प्लस टूको परीक्षा सिध्याएर काठमाडौँ छिरे । कृष्ण केसी सरसँग संगीत सिक्दै थिए । उहाँले नै नेपाल आइडलको अडिसन खुलेका भनेर जानकारी दिँदै सहभागिताका लागि फोर्स गर्नुभयो । उहाँको इच्छाले नेपाल आइडल सहभागी भएँ ।

  • गीतसंगीत कस्तो मनपर्छ ?

– एउटा गायकलाई सबै प्रकारको गीतसंगीत मनपर्छ । उनले गाउन सक्नुपर्छ पनि । तर विशेष फिल्मी, आधुनिक मनपर्छ । 

  • अगामी दिनमा कस्ता गीतसंगीत दिने सोच बनाउनु भएको छ ?

– मेरो गीत सबैको मुखमा झुन्डियोस् । सबैले राम्रो भनोस् । गीत सुन्ने बित्तिकै यो गीत करणको हो भनेर भन्न सक्ने खालको गीतसंगीत दिने मन छ ।  

  • गायनमा भविष्य बनाउन सकिन्छ त ?

– गायन मिहिनेत गर्नेका लागि भविष्य छ । त्यसैले पनि मैले अहिलेसम्म गाउनेबाहेक अन्य कुनै विकल्पबारे सोचेको छैन । गायनमै करियर बनाउने सोच हो ।

  • नेपाल आइडल कस्तो प्लेटफर्म रहेछ ?

– यो म जस्तै गाउने सपना बोकेका मानिसका लागि एकदमै ठुलो प्लेटफर्म हो । पहिले देखिनै गाउन मेरो प्रतिभा कसैलाई थाहा थिएन । यो कार्यक्रममा आएपछि मेरो प्रतिभा सबैले थाहा पाए । व्यक्तिमा लुकेर रहेको प्रतिभा निखार्ने मञ्चको रूपमा पनि मैल हेरेको छु । प्रतियोगिताको विजेता भए पनि नभए पनि यसबाट गायनको राम्रो प्रतिभा बन्न भने सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप