सैनिक रथी अशोक सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति
![सैनिक रथी अशोक सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति](https://npcdn.ratopati.com/media/news/ashok-sigdel_qIh2XMIJpU.jpg)
काठमाडौँ । नेपाली सेनाका रथी अशोक राज सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्ममिति फरक छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिग्देलले २०४० असोज ९ मा नागरिकता लिएका हुन् । त्यसबेला उनी १७ वर्षका थिए । रुपन्देहीको नागरिकता अनुसार सिग्देल २०२३ असोज ९ मा जन्मिएका हुन् ।
सिग्देलले २०५८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिए । जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लिएको प्रतिलिपि अनुसार उनी २०२३ साउन २९ मा जन्मिएको देखिन्छ । उनले प्रतिलिपि लिँदा पुरानो विवरणमा थपघट गरेका हुन् । सक्कल नागरिकतामा भएको विवरणभन्दा फरक हुने गरी प्रतिलिपिमा विवरण सच्याउन पाइँदैन । तर, उनले प्रतिलिपि लिँदा जन्मेको महिना र गते परिवर्तन गरेको देखिन्छ ।
पुरानो समयमा नागरिकता वितरण गर्दा पूरा जन्ममिति उल्लेख गर्ने चलन थिएन । नागरिकता दिँदा उल्लेखित महिना र वर्षलाई नै जन्मेको समय मानिन्छ । पुस ४ मा प्रधान सेनापति प्रभुराम शर्माले राज्य व्यवस्था समितिमा भनेका थिए, ‘अशोक सिग्देलको नागरिकताको प्रतिलिपिमा एउटै विवरण छ, ढाँटेको भए पो मैले समात्ने !’
तर, सेनापतिले त्यस्तो दाबी गरे पनि दुई नागरिकता तुलना गर्दा सिग्देलको विवरण फरक देखिन्छ ।
नागरिकतामाथि प्रश्न उठेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सिग्देलले एउटा पत्र ल्याएका छन् । ‘जो जससँग सम्बन्ध राख्दछ’ भन्ने पत्रमा जाजरकोट प्रशासनले हामीले दिएको नागरिकता नै सही छ भन्ने बेहोरासहित जारी मिति ‘२०४० साल साउन २९’ उल्लेख गरेको छ ।
सेनाको ३ महले सिटरोलमा भएको जन्ममितिसँग भिडाउन सिग्देलले जाजरकोटबाट प्रतिलिपि लिएको आरोप छ । ३ महले सिटरोलमा उनको जन्ममिति दुईथरी उल्लेख छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ घर भएका सिग्देलविरुद्ध जेठ ९ मा राष्ट्रपति कार्यालयसहित ११ निकायमा उजुरी परेको छ । ललितपुर बस्ने नागेश्वर चौधरीले उनीविरुद्ध उजुरी गरेका हुन् । सिग्देलको वास्तविक जन्म २०२१ चैत १९ भए पनि उनले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा २०२३ माघ १९ बनाएको उजुरीमा उल्लेख छ ।
प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सुपिङ क्याम्पसबाट सिग्देलले जन्ममिति २०२३ साल माघ १९ उल्लेख गरेर ‘जो जससँग सम्बन्धित छ’ भनेर एउटा पत्र लिएको भेटिएको छ । तर, क्याम्पसको अभिलेखमा उनको जन्ममिति २०२१ नै उल्लेख छ । सुपिङ क्याम्पसको पत्रको आधारमा नागरिकतामा उल्लेखित १९ वर्षलाई केरमेट गरेर १६ वर्ष उल्लेख गरेर उनी २०४३ फागुनमा नेपाली सेनामा भर्ना भएको उजुरकर्ताले दाबी गरेका छन् ।
हाइस्कुल र क्याम्पसको रेकर्ड अनुसार सिग्देल २०२१ साल चैत १९ मा जन्मेको देखिन्छ । हाइस्कुल र उनी पढेको सुपिङ क्याम्पसको रेकर्डमा उल्लेख भए अनुसार उनले नागरिकतामा झण्डै डेढ वर्ष उमेर घटाएको भेटिएको छ ।
त्रिभुवन विश्वविद्यालयको रेकर्डमा केरमेट गरेर जन्ममिति २०२३ साल बनाएको उजुरीकर्ताले दाबी गरेका छन् । त्रिविको रेकर्ड सिग्देलले २०७६ साउनमा सच्याएका हुन् ।
उमेर नाम वा जात सच्याउने नियम–२०१७ अनुसार प्रक्रिया पूरा गरेरमात्रै उमेर सच्याउन मिल्छ । प्रमाणपत्र पाएको ६ महिनाभित्र निवेदन दिएमा परीक्षा नियन्त्रण कार्यालयले साक्षी–सर्जिमन गराएर उमेर सच्याउन पाउँछ । तर, सिग्देलले बन्द कोठामा करेक्सन गराएको आरोप छ ।
२०७६ मा उपरथीमा बढुवा हुनेबेला उजुरी परेपछि उनले त्रिभुवन विश्वविद्यालय र प्रवेशिका परीक्षा (एसएलसी) को अभिलेखमा समेत केरमेट गरेको उजुरकर्ताले दाबी गरेका छन् ।
सिग्देल अहिले बलाधिकृत रथी हुन् । प्रभुराम शर्मापछि उनी प्रधान सेनापति हुने लाइनमा छन् ।
२०८० मङ्सिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको ‘जन्ममिति विवाद’ छानबिन गरेर जानकारी गराउन रक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । अख्तियारको निर्देशन अनुसार समिति बनाएर सिग्देलको उमेर विवादबारे छानबिन गरिएको रक्षा मन्त्रालयका प्रवक्ता सह–सचिव मनोज कुमार आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँ रथी हुनुअघि नै छानबिन भएको थियो, मैले बुझेसम्म त्रुटि देखिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह
-
भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
-
शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
-
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान
-
जोगमेहर श्रेष्ठलाई हराउने नानीमैयाँ दाहालको निधन
-
अध्यादेशमा उपेन्द्र र सरकार मुख हेराहेरको अवस्थामा