सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ०९ असार २०८१, २१ : ५५
आइतबार, ०९ असार २०८१

आज २०८१ असार ९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा मुख्यसचिव अर्यालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, राजदूत सिफारिसमा हेलचक्य्राइँ !, संसदका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन, गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा, एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी, पत्रकार महासंघको चुनावका लागि मतदाता नामावली प्रकाशित, लुम्बिनीमा भारत र चीनको होड लगायत छन् ।

१. मुख्यसचिव अर्यालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन् ।

२. राजदूत सिफारिसमा हेलचक्य्राइँ !
राजदूत सिफारिसमा सरकारले हेलचक्याइँ गरेको तथ्य प्रकाशमा आउन थालेका छन् । दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरिएका सुशील प्याकुरेलले आफूसँग सल्लाह नै नगरी एकाएक सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएर नाम फिर्ताका लागि निवेदन दिइसकेका छन् । सिफारिस भएका अन्यका सन्दर्भमा पनि सरकारले विभिन्न पक्ष ख्याल नगरेको पाइएको हो ।

३. संसदका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन
सङ्घीय संसदका कर्मचारीहरूको माग सम्बोधनका विषयमा सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेतासहित बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।

४. गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा
गण्डकी प्रदेशका कारबाहीमा परी पदमुक्त भएका सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दै राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेसी तोकिएको देवकोटाको मुद्दामा धेरै कानुन व्यवसायी बहसका लागि बाँकी रहेकाले हेर्दाहेर्दैमा राखिएको हो ।


५. एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो ।

६. पत्रकार महासंघको चुनावका लागि मतदाता नामावली प्रकाशित
नेपाल पत्रकार महासंघले असार २२ गते हुने भनिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र संस्थागत शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो ।

७. लुम्बिनीमा भारत र चीनको होड
बुद्ध जन्मस्थल लुम्बिनीमा विभिन्न गतिविधि तथा कार्यक्रमका लागि भारत र चीनबिच होड चल्ने गरेको छ । लुम्बिनीका सन्दर्भमा दुवै छिमेकी मुलुक आफ्ना अनुकूल कार्यक्रमका लागि अघोषित प्रतिस्पर्धामा देखिन्छन् ।

८. संसदमा सांसद र मन्त्रीका कुरा 
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा सांसदहरूले विभिन्न विषय उठान गरेका छन् भने विभिन्न मन्त्रीले आफ्ना भनाइ राखेका छन् । 

९. पोखरा महानगरमा नीतिगत भ्रष्टाचार
पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई कर छुट दिएर नीतिगत भ्रष्टाचार गरेको विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा प्रश्न उठाइएको छ ।

१०. चक्रपथ विस्तारले सास्ती
सडक विस्तार गर्ने भनेर चक्रपथ सडक छेउमा पर्ने मठ मन्दिर, बस बिसौनी भत्काइए, फुटपाथ हटाइए तर ती सबै ठाउँ अहिले आहाल, भग्नावशेष थुपार्ने र फोहोर सङ्कलन गर्ने स्थान बनेका छन् । २ वर्षभित्र सक्ने गरि कलङ्की–बसुन्धारा सडक विस्तार गर्ने सम्झौता नेपाल र चीनबिच भए पनि अहिले यी ठाउँहरू विरूप र कुरूप बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप