बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

अभिकले जिते एसईई कप चेसको उपाधि

आइतबार, ०९ असार २०८१, २१ : ३६
आइतबार, ०९ असार २०८१

काठमाडौँ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसईई कप २०२४ र्‍यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन् । उनले स्वीस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अङ्क बनाएर आइतबार उपाधि जितेका हुन् ।

शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अङ्क बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि पार्दै जेम्स स्कुलका अधिकले गोल्डेनगेट एसईई कप २०२४ को उपाधि कब्जा गरेका हुन् । अभिक र पुरुषोत्तमबिच पाँचौँ चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुङ्गिएको थियो । त्यसबाहेक दुवै खेलाडीले बाँकी ६ खेलमा जित हात पारेका थिए ।

विभूषित कायस्थ ५ अङ्क जोड्दै तेस्रो स्थानमा रहे । रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान ५ अङ्क बनाएका थिए । तर, टाइब्रेकरको आधारमा विभूषित सबभन्दा अगाडि रहँदै तेस्रो भएका हुन् ।

गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीमा सञ्चालित प्रतियोगितामा ३ अङ्क जोड्दै मेधा माध्यमिक विद्यालयकी अंशु दिल प्रजापतिले गर्ल्सतर्फ पहिलो स्थान हात पारिन् । कृशला प्रजापति दोस्रो र जेसिका सिंह तेस्रो भए । दुवैले समान २ अङ्क बटुलेका थिए । टाइब्रेकरको आधारमा कृशला दोस्रो भएकी हुन् ।

प्रतियोगिताका मुख्य प्रायोजक गोल्डेनगेट कलेजले कुनै पनि विषयमा दुवै स्पर्धाका विजेतालाई शतप्रतिशत छात्रवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रालाई ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । त्यस्तै, सहभागी सबै खेलाडीलाई एक तिहाइ (३३.३३ प्रतिशत)  छात्रवृत्ति दिने घोषणा गरिएको छ ।

एसईई परीक्षा दिएका ४१ खेलाडी सहभागी प्रतियोगितामा खुला तथा गर्ल्स दुवै स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्राले ३ हजार रुपैयाँ, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बू, गोल्डेनगेट इन्टरनेसनल कलेजकी निर्देशक सैल सुमन सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप