समूह ‘ए’ को अन्तिम खेल : नकआउट चरणमा पुग्ने होडमा स्विट्जरल्यान्ड र स्कटल्यान्ड

काठमाडौँ । युरोकप फुटबल:
-स्विट्जरल्यान्डविरुद्ध जर्मनी (००ः४५ बजे)
-स्कटल्यान्डविरुद्ध हंगेरी (००ः४५ बजे)
युरो कप फुटबल प्रतियोगितामा सोमबार बिहान दुई खेल हुँदैछ । समूह ‘ए’ अन्तर्गतको यी दुवै खेल एउटै समयमा सुरु हुनेछ । स्विट्जरल्यान्ड र जर्मनी तथा स्कटल्यान्ड र हंगेरीबिचको खेल नेपाली समयअनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछ ।
चारवटै टोलीको यो तेस्रो खेल हो । योसँगै प्रारम्भिक चरणमा समूह ‘ए’ को सबै खेल सकिने छ । उक्त समूहबाट आयोजक राष्ट्र जर्मनी यसअघि नै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेको छ । जर्मनी अघिल्ला दुवै खेलमा विजयी भएको छ ।
जर्मनी र स्विट्जरल्यान्डबिच हालसम्म ५२ वटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । यो तथ्याङ्कलाई हेर्दा स्विट्जरल्यान्डभन्दा जर्मनी निकै बलियो देखिन्छ । ३५ खेलमा जर्मनीले स्विट्जरल्यान्डलाई पराजयको स्वाद चखाएको छ । स्विट्जरल्यान्डले नौवटा खेलमा मात्र जर्मनीलाई हराउन सकेको छ । आठ खेल भने बराबरीमा सकिएको छ ।
जर्मनीले आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि ५–१ गोलको सजिलो जित हात पारेको थियो । आफ्नो दोस्रो खेलमा जर्मनीले हंगेरीलाई २–० गोलले हराएको थियो । स्विट्जरल्यान्ड भने चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसीन छ ।
स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा हंगेरीलाई ३–१ गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा भने स्विट्जरल्यान्डको टोली स्कटल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । त्यसैले आफ्नो पछिल्लो खेलमा स्विट्जरल्यान्ड जर्मनीलाई हराउँदै प्रि–क्वार्टरफाइनलमा पुग्ने धुनमा हुनेछ ।
जर्मनी र स्विट्जरल्यान्डबिचको खेल बराबरीमा सकिए पनि स्विट्जरल्यान्ड उप–विजेता बन्दै नकआउट चरणमा पुग्नेछ । स्कटल्यान्ड भने एक अङ्कसहित तालिकाको तेस्रो स्थानमा आसीन छ । स्कटल्यान्ड पनि हंगेरीविरुद्धको खेलमा जित हात पार्दै अघिल्लो चरणमा पुग्ने योजनामा छ ।
प्रत्येक समूहका विजेता र उप–विजेतासँगै तेस्रो स्थानमा रहने उत्कृष्ट चारवटा टोली पनि नकआउट चरणमा पुग्ने प्रावधान छ । त्यसैले हंगेरीलाई हराउन सके स्कटल्यान्डसँग समूहको उप–विजेता नबने पनि तेस्रो हुने उत्कृष्ट चारवटा टोलीभित्र पर्न सक्ने सम्भावना रहन्छ ।
हंगेरी भने अघिल्लो दुईवटै खेलमा पराजित भइसकेको छ । यसअघि नै उपाधि होडबाट बाहिरिएको हंगेरीसँग तेस्रो हुने उत्कृष्ट चारवटा टोलीभित्र पर्ने सम्भावना भने कायमै छ । हंगेरी अघिल्लो दुई खेलमा क्रमशः स्विट्जरल्यान्ड र जर्मनीसँग पराजित भएको थियो ।
जर्मनी र स्विट्जरल्यान्डबिच हालसम्म ५२ वटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । यो तथ्याङ्कलाई हेर्दा स्विट्जरल्यान्डभन्दा जर्मनी निकै बलियो देखिन्छ । ३५ खेलमा जर्मनीले स्विट्जरल्यान्डलाई पराजयको स्वाद चखाएको छ ।
स्विट्जरल्यान्डले नौवटा खेलमा मात्र जर्मनीलाई हराउन सकेको छ । यी दुई राष्ट्रबिचको आठ खेल भने बराबरीमा सकिएको छ । यी दुई राष्ट्रबिच खेलिएको पछिल्लो पाँच खेलको तथ्याङ्कलाई हेर्दा पनि जर्मनी केही बलियो देखिन्छ ।
सन् २००७ को फेब्रुअरी ७ तारिखमा खेलिएको मैत्रीपूर्ण खेलमा जर्मनीले स्विट्जरल्यान्डलाई ३–१ गोलले हराएको थियो । त्यसपछि सन् २००८ को मार्च २६ तारिखमा खेलिएको मैत्रीपूर्ण खेलमा पनि जर्मनीले स्विट्जरल्यान्डलाई ४–० गोलले पराजित गरेको थियो ।
यसैगरी सन् २०१२ को मे २६ तारिखमा खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्विट्जरल्यान्डले जर्मनीलाई ५–३ गोलले पराजयको स्वाद चखाएको थियो । सन् २०२० को सेप्टेम्बर ६ तारिखमा यूईएफए नेशन्स कपअन्तर्गत खेलिएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेशन्स कपमै सन् २०२० को अक्टोबर १३ तारिखमा खेलिएके खेल पनि ३–३ गोलको बराबरीमा सकिएको थियो ।
जर्मनी युरोकप फुटबलको सबैभन्दा बढी संस्करण खेल्ने राष्ट्र हो । युरोकपमा जर्मनीको यो १४औँ सहभागिता हो । जर्मनीले सन् १९७२ देखि युरोकप खेल्न थालेको हो । जर्मनीले हालसम्म तीनपटक युरोकपको उपाधि पनि चुमिसकेको छ ।
जर्मनीले सन् १९७२ मा पश्चिम जर्मनीका रूपमा पहिलो पटक उपाधि जितेको थियो । सन् १९८० मा पनि पश्चिम जर्मनीले युरोकपको उपाधि चुमेको थियो । त्यसपछि जर्मनीले सन् १९९६ मा तेस्रो पटक युरोकप उचालेको थियो । त्यतिबेला दुवै जर्मनीबिच एकीकरण भइसकेको थियो ।
जर्मनी तीनपटक युरोकपको उपविजेता बनेको छ । सन् १९७६, सन् १९९२ र सन् २००८ मा जर्मनी फाइनलमा पुगेर पराजित भएको थियो । युरोकपको जारी संस्करणमा पनि आयोजक जर्मनीलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ ।
स्विट्जरल्यान्डको भने युरोकपमा यो छैटौँ सहभागिता हो । स्विट्जरल्यान्डले सन् १९९६ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । स्विट्जरल्यान्ड हालसम्म युरोकपको फाइनलमा पनि पुग्न सकेको छैन ।
यसैगरी युरोकपमा स्कटल्यान्डको यो चौथो सहभागिता हो । स्कटल्यान्डले सन् १९९२ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । स्कटल्यान्ड पनि हालसम्म युरोकपको फाइनलसम्म पुग्न सकेको छैन ।
यसैगरी युरोकपमा हंगेरीको यो पाँचौँ सहभागिता हो । हंगेरीले सन् १९६४ मा पहिलो पटक युरोकप खेलेको थियो । हंगेरीले सन् २०२० मा पछिल्लो पटक युरोकपमा सहभागिता जनाएको थियो । हंगेरी पनि हालसम्म युरोकपको फाइनलमा पुग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन २४ घण्टे स्पष्टीकरणमा परे कुलमान ?
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी