जेठमा भित्रियो ११ अर्ब वैदेशिक लगानीकाे प्रतिबद्धता
काठमाडौँ । जेठ महिनामा ११ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ । उद्योग विभागका अनुसार जेठ महिनामा स्वचालित प्रणाली र परम्परागत शैलीबाट गरी कूल ११ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
यो महिनामा स्वचालित प्रणालीबाट ८ अर्ब २७ करोड ९० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । वैशाख १६ र १७ गते चलेको दुई दिने तेस्रो लगानी सम्मेलनका क्रममा विभागले स्वचालित मार्गको सुरुवात गरेको थियो । यो प्रणालीमार्फत लगानीकर्ताले अनलाइनमार्फत नै लगानी आवेदन दिन र स्वीकृति पाउन सक्छन् ।
उद्योग विभागका अनुसार ५० करोड रुपैयाँसम्मको कम्पनी स्थापनाका लागि अनलाइनमार्फत नै आवेदन दिन सकिनेछ । रित पुर्याएर गरिएको त्यस्तो आवेदन अनलाइन माध्यमबाट स्वतः स्वीकृत हुनेछ । आवश्यक कागजात नपुगेमा वेभ साइडमार्फत माग गरिन्छ ।
मध्ये वैशाखदेखि सुरु भएको यो माध्यममार्फत जेठ महिनामा ६८ वटा लगानी प्रतिबद्धता आएको छ । यसको लगानी प्रतिबद्धता रकम ८ अर्ब २७ करोड रुपैयाँ छ । यस्तै विभागले वैशाखमा स्वचालित मार्गबाट २१ वटा विदेशी लगानीका प्रस्ताव स्वीकृत गरेको थियो । ती प्रस्तावमार्फत २ अर्ब १५ करोड ८९ लाख रुपैयाँ लगानी प्रतिबद्धता भित्रिएको थियो ।
विभागको तथ्यांकअनुसार जेठमा पुरानो शैलीबाट आउने लगानी प्रतिबद्धताको तुलनामा स्वचालित मार्गबाट आउने प्रतिबद्धता बढी छ । वैशाख महिनामा परम्परागत शैली (भौतिक रुपमा नै उपस्थित बनेर) बाट ११ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता आउँदा स्वचालित मार्गबाट २ अर्ब १५ करोड प्रतिबद्धता आएको थियो ।
तर जेठ महिनामा भने स्वचालित मार्गबाट आउने प्रतिबद्धता बढी छ । स्वचालित मार्गबाट ८ अर्ब २७ करोड लगानी प्रतिबद्धता आउँदा परम्परागत शैलीबाट भौतिक रूपमा नै उपस्थिति जनाएर ३ अर्ब १ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । जेठमा स्वचालित मार्गबाट ६८ वटा लगानी प्रतिबद्धता आउँदा परम्परागत शैलीबाट ५२ वटा मात्रै प्रतिबद्धता आएको हो । यसबाट लगानीकर्ता स्वचालित मार्गतर्फ आकर्षित बनेको देखिन्छ ।
चालू वर्षको जेठसम्ममा स्वचालित र परम्परागत शैलीबाट कूल ५५ अर्ब ४८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा यो दुवै माध्यमबाट ४४९ वटा प्रस्ताव आएका हुन् । यसमध्ये ४ वटा ठुला उद्योग स्थापना, १४ वटा मध्यम र ३४१ वटा साना उद्योग स्थापनाका प्रस्ताव छन् ।
जेठमा भित्रिएको लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा सबैभन्दा धेरै छ । यसपछि सेवा क्षेत्रमा धेरै लगानी प्रतिबद्धता आउँदा सूचना प्रविधिमा तेस्रो धेरै लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । यसबाहेक उत्पादनमूलक, खनिज र कृषि क्षेत्रमा समेत लगानी प्रतिबद्धता आउँदा ऊर्जा क्षेत्रमा र पूर्वाधार क्षेत्रमा भने लगानी प्रतिबद्धता आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री