बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८० : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

आइतबार, ०९ असार २०८१, १७ : २३
आइतबार, ०९ असार २०८१

काठमाडौँ । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आगामी असार १२ गते धनगढीमा आयोजना हुने अवार्डका आठ विधामध्ये वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो ।  

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रबद्र्धनमा आयोजना हुने अवार्डको वर्ष प्रशिक्षकको मनोनयनमा कबड्डीका विष्णुदत्त भट्ट, भारोत्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी परेका छन् । यसैगरी वर्ष युवा खेलाडीको मनोनयनमा भारोत्तोलनका हेमन्त पाल, फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द परेका छन् । विष्णुदत्त भट्ट १९ औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक जिताउने प्रशिक्षक हुन् ।

पहिलो सहभागितामै पदक जितेर इतिहास रच्ने प्रशिक्षक बनेका उनी एसियाली खेलकुदमा कबड्डीबाट पदक दिलाउने पहिलो सुदूरपश्चिमका प्रशिक्षक पनि हुन् । भारोत्तोलन प्रशिक्षक जीवन गौतम एसियन यूथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपाललाई ३८ वर्षपछि तीनवटा कास्य पदक जिताउने प्रशिक्षक हुन् ।

आईडब्लूएफ वर्ल्ड कपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीका प्रशिक्षक गौतमले कतार एसियन च्याम्पियनसिप र एसियन गेम्समा नेपालको तर्फबाट भारोत्तोलन प्रशिक्षक भएर भूमिका निर्वाह गरेका छन् । एथलेटिक्सका प्रशिक्षक रामचन्द्र जोशी अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई दोस्रो स्थानमा ल्याउन सबैभन्दा बढी पदक दिलाउने प्रशिक्षक हुन् ।

अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा २१ स्वर्ण, २१ रजत र ३० वटा कास्य पदक गरी सुदूरपश्चिमले ७२ पदक जित्दा एथलेटिक्सबाट ६ स्वर्ण ६ रजत र पाँच कास्य गरी १७ पदक सुदूरपश्चिमले हात पारेका थियो ।

वर्ष युवा खेलाडीको मनोनयनमा परेका भारोत्तोलन हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो ‘डेब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगितामै ७३ केजी तौल समूहमा तीन कास्य पदक हात पारेका छन् । एसियन यूथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपाललाई उनले ३८ वर्षपछि पदक जिताएका हुन् ।

फुटबलका कुशल देउवाले नेपाल सुपर लिगको दोस्रो संस्करणको च्याम्पियन ललितपुर सिटी एफसीलाई फाइनलमा पुर्‍याउँदा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेका थिए । साफ यू–१९ च्याम्पियनसिपमा नेपालको सेमिफाइनलसम्मको यात्रामा प्रभाव राखेका उनले १७ वर्षको उमेरमा देशभरका विभिन्न घरेलु प्रतियोगितामा आफ्नो छाप छोड्न सफल भएका छन् ।

क्रिकेटका आकाश चन्द दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदा उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिएर म्यान अफ दी म्याच बनेका थिए । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्धको खेलमा तीन विकेट लिएका उनले नेपाललाई सुपर सिक्समा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप