बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
सुपर–८

अन्तिम खेलअघि ‘समूह–२’ को अवस्था : ‘गर या मर’ !

आइतबार, ०९ असार २०८१, १५ : ५०
आइतबार, ०९ असार २०८१
  • अमेरिकाविरुद्ध इङ्ल्यान्ड (आइतबार राति २०ः१५ बजे)
  • वेस्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिका (सोमबार बिहान ०६ः१५ बजे)

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा आइतबार राति र सोमबार बिहान ‘सुपर–८’ चरणका दुई खेल हुँदैछन् । यी दुई खेलले ‘सुपर–८’ चरणको समूह–२’ बाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लगाउने छ ।

आइतबार रातिको खेलमा आयोजक राष्ट्र अमेरिकाले साबिक विजेता इङ्ल्यान्डलाई चुनौती दिँदैछ । उक्त खेल ब्रिजटाउनस्थित केनसिङ्टन ओभल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

अर्को खेल आयोजक राष्ट्र वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिच खेलिने छ । उक्त खेल एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान ६ः१५ बजे सुरु हुनेछ । त्यो खेलसँगै ‘सुपर–८’ चरणको ‘समूह–२’ को भिडन्त पनि सकिनेछ ।

‘सुपर–८’ चरणअन्तर्गत ‘समूह–२’ को समीकरण रोचक मोडमा छ । चारवटै टोलीको अन्तिम चरणमा स्थान बनाउने सम्भावना जीवितै छ । यद्यपि, अमेरिका अझै अङ्कविहीन अवस्थामा छ । चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् ।

south africa

हालसम्म अपराजित रहेको दक्षिण अफ्रिका चार अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दुई–दुई अङ्क जोडेका वेस्ट इन्डिज र इङ्ल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अमेरिका तालिकाको चौथो स्थानमा छ ।

आइतबार राति खेलिने खेलमा अमेरिकाले इङ्ल्यान्डलाई हराए तीनवटा टोलीको दुई–दुई अङ्क पुग्नेछ । यस्तो स्थितिमा सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लगाउन दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको खेलको नतिजा पर्खनुपर्ने हुन्छ ।

तर, आइतबार रातिको खेलमा इङ्ल्यान्डले अमेरिकालाई हराएमा पनि समीकरण रोचक नै रहने छ । त्यसपछि अमेरिका उपाधि होडबाट बाहिरिने छ भने इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको चार–चार तथा वेस्ट इन्डिजको दुई अङ्क हुनेछ ।

यस्तो स्थितिमा पनि वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिच सोमबार बिहान खेलिने खेल निर्णायक बन्नेछ । सोमबार बिहान हुने खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हराए तीनवटा टोलीको अङ्क चार–चार पुग्नेछ । त्यसपछि नेट रन रेटका आधारमा सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाइने छ ।

तर, अन्तिम खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएमा दक्षिण अफ्रिका र इङ्ल्यान्ड सेमिफाइनलमा पुग्नेछन् । त्यसैले अहिले नै ‘सुपर–८’ चरणको ‘समूह–२’ बाट सेमिफाइनलमा पुग्ने टोलीको अनुमान गर्न गाह्रो छ ।

अङ्कमा पछाडि परे पनि दक्षिण अफ्रिकाभन्दा वेस्ट इन्डिजको नेट रन रेट निकै राम्रो छ । हाल दक्षिण अफ्रिकाको नेट रन रेट ०.६२५, वेस्ट इन्डिजको नेट रन रेट १.८१४, इङ्ल्यान्डको नेट रन रेट ०.४१२ र अमेरिकाको नेट रन रेट –२.९०८ रहेको छ ।  

  • अमेरिकाविरुद्ध इङ्ल्यान्ड

अमेरिका र इङ्ल्यान्ड दुवै प्रारम्भिक चरणमा दुई फरक समूहको उप–विजेता बन्दै प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुगेका हुन् । अमेरिका समूह ‘ए’ को उप–विजेता बनेको थियो । अमेरिकाले प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रारम्भिक चरणमा आयोजक अमेरिकाले चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । अमेरिकाको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो ।

usa

अमेरिकाले आफ्नो दोस्रो खेलमा पूर्वविजेता पाकिस्तानलाई ‘सुपर ओभर’ मा हराएको थियो । सोही हारका कारण पाकिस्तान प्रारम्भिक चरणबाटै घर फर्कन बाध्य बनेको थियो । भारतसँग भने अमेरिकी टोली सात विकेटले पराजित भएको थियो । अमेरिका र आयरल्यान्डबिचको खेल वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो ।

इङ्ल्यान्ड भने समूह ‘बी’ को उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । इङ्ल्यान्डले पनि चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । इङ्ल्यान्डको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । इङ्ल्यान्ड र स्कटल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो । आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डको टोली अस्ट्रेलियासँग ३६ रनले पराजित भएको थियो ।

england

पछिल्ला दुई खेलमा इङ्ल्यान्ड लयमा फर्किएको थियो । तेस्रो खेलमा इङ्ल्यान्डले ओमानलाई आठ विकेटले हराएको थियो । चौथो खेलमा इङ्ल्यान्डले नामिबियालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ४१ रनले पराजित गरेको थियो ।

‘सुपर–८’ चरणमा भने इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा इङ्ल्यान्डको टोली दक्षिण अफ्रिकासँग सात रनले पराजित भएको थियो । अमेरिका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले र दोस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएको थियो ।

टी–२० विश्वकपमा इङ्ल्यान्डको यो नवौँ सहभागिता हो । सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै इङ्ल्यान्डले टी–२० विश्वकप खेल्दै आएको छ । इङ्ल्यान्ड दुईपटक टी–२० विश्वकपको उपाधि जित्ने दोस्रो राष्ट्र पनि हो । इङ्ल्यान्डले सन् २०१० र सन् २०२२ मा उपाधि जितेको थियो ।

usa fan

टी–२० विश्वकपमा अमेरिकाको भने यो पहिलो सहभागिता हो । यसपटक पनि अमेरिकाले आयोजकका रूपमा विश्वकपमा सहभागिता जनाएको हो । अमेरिकाले आफ्नो पहिलो सहभागितामै ‘सुपर–८’ चरणमा पुगेर इतिहास पनि रचेको छ ।

जारी विश्वकपमा अमेरिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान एन्ड्रिज गौस हुन् । उनले टोलीका लागि पाँच खेलमा कुल दुई सय ११ रन बनाएका छन् । इङ्ल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान फिल साल्ट हुन् । उनले एक सय ५८ रन बनाएका छन् ।

saurav

यसै गरी अमेरिकाका लागि सर्वाधिक विकेट लिने बलर सौरभ नेत्रवाल्कर हुन् । उनले हालसम्म ६ विकेट लिएका छन् । इङ्ल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर भने जोफ्रा आर्चर हुन् । उनले ६ खेलमा नौ विकेट लिएका छन् ।

इङ्ल्यान्ड र अमेरिका यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसमा भिडेका छैनन् । आइतबार राति यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् । अमेरिका र इङ्ल्यान्डबिचको खेल वर्षाले बिथोल्ने सम्भावना निकै कम रहेको बताइएको छ ।

इङ्ल्यान्डको सम्भावित टोलीमा जस बट्लर (कप्तान एवं विकेटकिपर), फिल साल्ट, ह्यारी ब्रुक, जोनी बेयरस्टो, मोइन अली, लियाम लिभिडस्टोन, साम कुर्रन, जोफ्रा आर्चर, अदिल रसिद, मार्क उड र रिस टप्ली रहेका छन् ।

यसै गरी अमेरिकाको सम्भावित टोलीमा एरोन जोन्स (कप्तान), स्टिभन टेलर, एन्ड्रिज गौस (विकेटकिपर), नितिश कुमार, कोरी एन्डर्सन, मिलिन्द कुमार, हरमित सिंह, साड्ली भान साल्कविक, नोस्तुस केजिङ्गे, अली खान र सौरभ नेत्रवाल्कर रहेका छन् ।

  • दक्षिण अफ्रिकाविरुद्ध वेस्ट इन्डिज

यी दुवै टोलीको सेमिफाइनल प्रवेश सम्भावना बलियो देखिन्छ । खासगरी दक्षिण अफ्रिका लयमा देखिन्छ । दक्षिण अफ्रिकाले जारी विश्वकपमा हालसम्म आफूले खेलेको सबै खेलमा सफलता हात पारेको छ ।

stubbs

प्रारम्भिक चरणमा दक्षिण अफ्रिका समूह ‘डी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । दक्षिण अफ्रिकाले अफ्रिकाले प्रारम्भिक चरणमा चारवटै खेल जितेको थियो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएको थियो ।

दोस्रो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । दक्षिण अफ्रिकाले तेस्रो खेलमा बंगलादेशमाथि चार रनको जित हासिल गरेको थियो । दक्षिण अफ्रिकाले आफ्नो चौथो खेलमा नेपालमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

यसै गरी वेस्ट इन्डिज पनि समूह ‘सी’ को विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो । वेस्ट इन्डिजले चारवटै खेलमा जित हात पारेको थियो । वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई पाँच विकेटले हराएको थियो ।

वेस्ट इन्डिजले आफ्नो दोस्रो खेलमा युगान्डामाथि एक सय ३४ रनको जित हात पारेको थियो । तेस्रो खेलमा वेस्ट इन्डिजले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको थियो । चौथो खेलमा भने वेस्ट इन्डिजले अफगानिस्तानलाई एक सय चार रनले हराएको थियो ।

यसै गरी ‘सुपर–८’ चरणको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई सात रनले हराएको थियो । वेस्ट इन्डिज भने ‘सुपर–८’ चरणको आफ्नो पहिलो खेलमा इङ्ल्यान्डसँग आठ विकेटले हारेको थियो । वेस्ट इन्डिजले आफ्नो दोस्रो खेलमा अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान क्विन्टन डी काक हुन् । उनले ६ खेलमा कुल एक सय ८७ रन बनाइसकेका छन् । वेस्ट इन्डिजका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनले ६ खेलमा कुल दुई सय २७ रन बनाएका छन् । उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पनि दोस्रो स्थानमा छन् ।

यसै गरी जारी विश्वकपमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने बलर एनरिच नोर्जे हुन् । उनले ६ खेलमा कुल ११ विकेट लिइसकेका छन् । वेस्ट इन्डिजका लागि सर्वाधिक विकेट लिने बलर भने अल्जारी जोसेफ हुन् । उनले पनि ६ खेलमा ११ विकेट लिएका छन् ।

टी–२० विश्वकपमा वेस्ट इन्डिज र दक्षिण अफ्रिका दुवैको यो नवौँ सहभागिता हो । यी दुवै टोलीले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा भाग लिँदै आएका छन् । वेस्ट इन्डिज दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र पनि हो ।

वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा टी–२० विश्वकपको उपाधि उचालेको थियो । यसको विपरीत पहिलो संस्करणदेखि नै सहभागिता जनाए पनि दक्षिण अफ्रिका हालसम्म टी–२० विश्वकपको फाइनलमा पनि पुग्न सकेको छैन ।

दक्षिण अफ्रिका दुईपटक टी–२० विश्वकपको सेमिफाइनलसम्म पुगेको छ । सन् २००९ र सन् २०१४ को संस्करणमा दक्षिण अफ्रिका सेमिफाइनलमा पराजित भएको थियो । त्यसैले टी–२० विश्वकपमा दक्षिण अफ्रिकाभन्दा वेस्ट इन्डिजको इतिहास बलियो देखिन्छ ।

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच हालसम्म २२ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये ११ खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको छ । बाँकी ११ खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

टी–२० विश्वकपमा भने हालसम्म यी दुई टोलीबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको छ । बाँकी एक खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

सन् २००७ को टी–२० विश्वकपमा पहिलो पटक यी दुई राष्ट्र आपसमा भिडेका थिए । त्यो खेलमा दक्षिण अफ्रिका आठ विकेटले विजयी भएको थियो । सन् २००९ को विश्वकपमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई २० रनले हराएको थियो ।

यसै गरी सन् २०१६ को टी–२० विश्वकपमा भने वेस्ट इन्डिज विजयी भएको थियो । त्यो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो । सन् २०२१ को विश्वकपमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको थियो ।

वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिच खेल हुने सर भिभियन रिचर्डस स्टेडियममा यसअघि जारी विश्वकपको ६ वटा खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।

जारी विश्वकपमा यो स्टेडियममा बनेको उच्च स्कोर एक सय ९७ रन हो । त्यो स्कोर दक्षिण अफ्रिकाले अमेरिकाविरुद्धको खेलमा बनाएको थियो । यो स्टेडियममा बनेको सबैभन्दा कम स्कोर भने ४७ रन हो । इङ्ल्यान्डविरुद्धको खेलमा ओमान ४७ रनमा अलआउट भएको थियो ।

वेस्ट इन्डिजको सम्भावित टोलीमा रोभमन पोवेल (कप्तान), साई होप, जोन्सन चार्ल्स, निकोलस पुरन, आन्द्रे रसेल, सेरफन रुथरफोर्ड, रोस्टन चेज, ओबेड म्याकोय, अकेल होसैन, अल्जारी जोसेफ र गुडाकेश मोटी रहेका छन् ।

यसै गरी दक्षिण अफ्रिकाको सम्भावित टोलीमा एडन मारक्रम (कप्तान), क्विन्टन डी काक, रिजा हेन्ड्रिक्स, ट्रिस्टन स्टब्स, हेनरिच क्लासन, डेभिड मिल्लर, मार्को जानसेन, केशव महाराज, कागिसो रबाडा, ताबरिज सामसी र एनरिच नोर्जे रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप