बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

विद्रोहका सतिसाल, साझा दस्ताबेज र २०–८० का कुरा

आइतबार, ०९ असार २०८१, १४ : ४१
आइतबार, ०९ असार २०८१

नेकपा एस अर्थात् नेकपा (एकीकृत समाजवादी)को दशौँ महाधिवेशन यही असार १६ गते हुँदै छ । तत्कालीन ‘नेकपा’भित्र केपी शर्मा ओलीको स्वेच्छारिताका विरुद्ध माधवकुमार नेपाल पक्षधरले सुरुवाती विद्रोह गरेको थियो । त्यसपछि तत्कालीन नेकपा नै तीन टुक्रामा विभाजित हुने परिस्थिति सिर्जना मात्रै भएन, संसद्मा आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध मतदान गरेर सरकार ढाल्नुपर्ने भयो । यसरी निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेर कान्छो दलका रूपमा प्रमाणपत्रमै ‘एमाले विभाजन गरेर’ उल्लेख गर्दै निर्माण भएको पार्टी हो, नेकपा एस । 

३३औँ महिनामा पुग्दा यो पार्टीमा आएका धेरै नेता कार्यकर्ता नेकपा एमालेमा फर्किसकेका छन् । र, यहाँ महाधिवेशनमा भाग लिन एमाले हुँदैदेखिको गणना गरेर ३६ महिना पुग्नुपर्छ भनेपछि पार्टीका केही जिल्ला अध्यक्ष नै महाधिवेशन प्रतिनिधि हुन नपाउने अवस्था बनेको छ । 

एमाले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालबाहेक अरु सबैलाई एमालेमा ‘ठाउँ’ दिने भनेपछि दोस्रो र तेस्रो वरीयताकाले पनि त्यही भने । नभन्दै धेरै नेता–कार्यकर्ता एमालेमा फर्किएर अहिले पनि त्यहाँ लडिरहेका छन् । जबकि त्यहाँ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका हाडखोर र अवशेष बाँकी छैनन् । माधवकुमार नेपाललाई आजै पार्टी फोरौँ, भरे पार्टी फोरौँ भनेर उचाल्ने स्थायी र पोलिटब्युरो पदधारी ‘उत्तोलक’हरू पनि एमालेमा १० बुँदे र १० भाइका नाममा ‘ओलीपथ’मै विलय भएपछि त्यहाँ अब ‘गुट’ छ जस्तो लाग्दैन । माधव नेपाललाई सबैभन्दा बढी गाली नै मुकुन्द न्यौपाने, योगेश भट्टराई, लालबाबु पण्डित, विष्णु रिजालहरूले गर्न थालेपछि गुरु भट्टराई, सूर्य थापा, गोकुल बाँस्कोटाहरूलाई पनि ‘शकुन’ मिलेकै होला । 

नेकपा एसको तेस्रो वरीयताका नेता भनिएका मुकुन्द न्यौपाने एमालेमा फर्कनु केही महिना अघिसम्म राति सुत्ने बेला सामाजिक सञ्जाल मार्फत घुमाउरो पारामा ओलीको प्रशंसा, माधव नेपालको आलोचना र प्रचण्डलाई गाली गर्थे । सायद उनले फेसबुकमा ती स्ट्याटसहरू ‘एबोर्सन’ नगरेको भए अहिले पनि हेर्न सकिन्छ । तर एमालेमा विलय भएपछि उनलाई प्रचण्डलाई गाली नगरी निदाउने बानी के गरी ‘व्यवस्थापन’ भयो होला ? ताजुबकै विषय छ । यावत् घटनाको पेरिफेरीमा आफ्नै पार्टीलाई भोट हाल्न नजाने शतकभन्दा बढी केन्द्रीय सदस्यहरूसहित माधव नेपालको विद्रोह यसपटक २०५४ सालको वामदेव गौतमको पार्टी विभाजनजस्तो ‘निकम्मा’ थिएन भन्ने कुरा स्वयम् यता न उता ‘अनरिचेबल’ वामदेव गौतमले नै निर्वाचनका बेला नेकपा एसका पक्षमा चुनावी गीत लेखेर पनि पुष्टि गरिदिएका छन् । 

यो गुण गौतमलाई माधव नेपालले ‘फिर्ता’ या ‘भुक्तानी’ गरेनन् भनेर केही दिन  अघि अरुले त होइन गौतमले नै भनेको सुनिएकै छ । हामीले नेकपा एमालेको दशौँ महाधिवेशनको ‘सौराहा जात्रा’पछि नै भीम रावल र वामदेव गौतमको घरै पुगेर ‘घनीभूत’ वार्ता गरेर ‘सघन’मा पुग्न लागेको ‘राजनीतिक करिअर’लाई ‘ओपीडी’ सारौँ भनेकै थियौँ । युवा, अखिल र हामी प्रेस टिमका साथीहरूको त्यतिखेरका तस्बिर सायद फेसबुकले ‘हाइड’ गरेको छैन ।

नेकपा एस नेकपा एमालेभन्दा के फरक छ ? यसपटक पार्टीले राजनीतिक दस्ताबेज तयार पारेको छ । पार्टीको विधान, घोषणापत्र र राजनीतिक कार्यभार लगायतका विषयमा दस्ताबेज निर्माण गरेर पार्टीका नेता कार्यकर्ताकहाँ पठाइएको छ ।



अहिले नेकपा एसको महाधिवेशनभन्दा बढी यसमा ‘आधा दर्जन’को पनि ‘आधा’ अध्यक्षका आकांक्षी भन्ने चर्चा बढी छ । समाचारको भाषामा यो ‘अध्यक्ष’ भन्ने पद साबुन, सलाई, केराजस्तो ‘दर्जन’ भनिने जिनिस होइन । किनभने अध्यक्ष एउटा हुन्छ । नेकपामा दुईवटा अध्यक्ष हुँदा पनि निर्वाचन आयोगदेखि सबैतिर अध्यक्ष पुष्पकमल दाहालको होइन, केपी ओलीको मात्रै हस्ताक्षर ‘भ्यालिड’ हुन्छ भनेपछि दुईवटा अध्यक्षमा पनि एउटा ‘अथोराइज्ड’ हुन्छ भन्ने प्रचण्डले त बुझे भने अरुले नबुझ्लान् भन्ने लाग्दैन । यसमाथि हिजो निर्वाचनमा आफ्नो नाम समानुपातिकमा राखेर जिल्लामा मतदान गर्नसम्म जान ‘जरुरी नठाने’का महोदयहरूले ‘तिमी प्रतिनिधि आउनू’ भनेर म्यासेन्जर, ह्वाट्स एपमा समेत फर्मान जारी गरेपछि जिल्लाका जुनियर भाइबहिनी कमरेडको नाक छिप्पिएको घिरौँलाजत्रो हुने नै भयो । जिल्ला अध्यक्षले नपत्याइरहेका बेला एकाएक पार्टीका केन्द्रीय ‘पदाधिकारी’ले भिडियो कल गरिदिएपछि नहुने कुरै भएन । 

यसले जिल्लामा कति फाटो ल्याएको छ, नेताहरूले जिल्लामा दुःख गरेर पार्टी र संगठन बनाउनेहरूको कति मनोबल गिराएका छन्, यसबारे सायद महाधिवेशनमा कोही अध्यक्ष, जिल्ला पदाधिकारीले कुरा उठाउलान् पनि । 

यो त भयो पृष्ठभूमिका केही घनचक्करहरू । यसमा कार्यकर्ता होइन, पार्टीका नाममा आफू ‘सेफ मोड’ रहन ‘एरोप्लेन’ गतिमा ‘गुट गर्न हुन्न’ भन्दै जिल्लातिर ‘तेलाबेला’ गरिरहेका नेताहरूको हुलियाको एक ‘रिकल’ मात्रै हो । अब केही गम्भीर कुरा गर्दैै आजलाई बिट मारौँ ।

तीन नेता, एक दस्ताबेज
 

नेकपा एस नेकपा एमालेभन्दा के फरक छ ? यसपटक पार्टीले राजनीतिक दस्ताबेज तयार पारेको छ । पार्टीको विधान, घोषणापत्र र राजनीतिक कार्यभार लगायतका विषयमा दस्ताबेज निर्माण गरेर पार्टीका नेता कार्यकर्ताकहाँ पठाइएको छ । यसमा कहीँकतै माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसालको छुट्टाछुट्टै दस्ताबेज गएको छैन । आजसम्म एस निकट पत्रकार र एस बिटका पत्रकारले नदेखेको या नलेखेको विषय तत्तत् सञ्चारगृहका प्रमुख सम्पादकले पनि ‘नोटेड’ गरिदिनु होला । 

जब एउटा दस्ताबेज छ भने यहाँ कहाँ नेतृत्वको लडाइँ छ ? को अध्यक्ष हुने भन्ने कुरा कहाँ बहस र छलफल भएको छ ? कहाँ नेता कार्यकर्ताले ‘अबका अध्यक्षका अनुहार’ तयार पारेका छन् ? यो विषय अनावश्यक उचालिएको छ । जबकि असोज १ गते मनाइने विश्वकर्मा बाबाको मूर्ति पनि भदौ १५ देखि नै बनाउन सुरु हुन्छ । असोज २ गते त त्यो खोलामा बगाउनैपर्छ । देखिने, अनुभूत हुने गरी कतै यस्तो तयारीको सुराक प्रचार विभाग, प्रेस संगठनको मुकाम र महाधिवेशन आयोजक कमिटीका दुई विभागमा ‘स्वतः लोकतान्त्रिक पानी बढुवा’का नाताले सदस्य भएको हिसाबले पंक्तिकारले अनुभूत गरेको छैन भने कसरी यो विषयलाई केही सञ्चारगृहले निकै खपतको ‘तेजपत्ता’ बनाइएको छ भन्ने पनि प्रश्न नेता कार्यकर्तामा छ । 

पार्टीमा नेतृत्व परिवर्तन, कब्जाको होडबाजीबारे यो विषय ‘सिन्कौलीको पात’ जति पनि बहसमा आएको छैन । गाउँमा हामी बाख्रालाई पनि घाँस हाल्ने सिन्कौली सहरमा रिकापीमा तेजपत्ता हुँदोरहेछ । हामीले घाँस नै मानेर काट्ने गरेको ‘चारपाटे’ बजारमा ‘पारिजात’ बनेर सडकको किनारामा फुल्दोरहेछ । हामीले कतै आफूलाई ‘सिन्कौली’ र ‘चारपाटे’ भन्न लाजले पो ‘तेजपत्ता’ र ‘पारिजात’को आवरणमा सुरक्षा खोजेका हौँ कि ? किनभने विद्रोहमा साथ दिँदा धेरै नेताहरूको ‘वरीयता’ तल–माथि भएको छ । पार्टी र संगठनमा अहोरात्र खटिएका तल र नयाँ र निर्वाचनमा पनि कम रुचि राख्नेहरू माथि परेकै हुन् । यसले कैयौँ महिना पार्टीमा तीक्तता पनि बन्यो, तर महाधिवेशनमा अरुलाई उचालेर आफ्नो सुरक्षा खोजिनु सर्वथा गलत हो । 

दस्ताबेजमा कतै तीन नेताबीच मतैक्यता छैन । एउटै दस्ताबेज ल्याउने भनेर सचिवालयबाटै निर्णय भएको हो । दस्ताबेज नेता कार्यकर्ता पढिरहनुभएको छ । यसमा यो मेरो, यो अरुको भनेर माधवकुमार नेपाल, झलनाथ खनाल या घनश्याम भुसालले भन्नुभएको छैन । यो पार्टीको दस्ताबेज हो, एउटै छ । त्यसैले फरक विचार र लाइनका रूपमा नेताहरूको तस्बिर खापेर पदको लडाइँ भन्दै विद्रोहबाट बन्दै गरेको एउटा सानो पार्टी, जुन ‘राष्ट्रिय’ हुन सकेको छैन, त्यही पार्टीमा ‘अन्तर्राष्ट्रिय’ स्तरको बाण प्रहार भइरहँदा नेता कार्यकर्ताहरू खुसी छैनन् । नेतृत्वको लडाइँ कतै देखिएको छैन । 

माधव नेपाल स्वतः प्रतिनिधि 

नेकपा एसका नेताहरूले निकै चर्चा गरे । यसपटक सबैले वडाबाट, बुथबाट जितेर आउनुपर्छ । नेता कार्यकर्ता खुसी भए । केन्द्रीय नेताहरू तलै आउने भए । यसको नेपाली मिडियाले पनि खुलेर प्रशंसा गरेको थियो, चाहिए भन्दा बढी ‘स्पेस’ दिएको थियो, तर अन्त्यमा जब महाधिवेशन हुने पक्का भयो, केन्द्रीय कमिटी, आयोगका नेताहरू फेरि ‘स्वतः’ प्रतिनिधि हुने भन्ने सर्कुलर आयो । यसमा पनि माधवकुमार नेपाल, झलनाथ खनाल या घनश्याम भुसालको फरक मत आएको थाहा भएन । कसैले ‘होइन, म त वडाबाटै आउँछु, यो नफेरौँ’ भनेको सुनिएन । बरु यसले अहिले पदमा रहेका धेरै नेताको ‘सातो’ जोगाएकै छ भन्ने परेको छ । यस्ता कुरामा ‘मिडियाखपत’ त परको कुरा पार्टीभित्रै बसेर बैठकहरूमा आलोचना गरेकोसम्म खबर छैन । अब भन्नुहोस्, यो पार्टीमा कहाँ विवाद छ, कहाँ नेतृत्वमा लडाइँ छ, कहाँ नेताहरू विभाजित छन् ? यस्तो एक मत, एक मनको पार्टीमा एकाध विषय उछालेर पछिल्लो समय सबैले पार्टी विभाजन गरेपछि ‘वामदेव’कै हालत हुन्छ भनेर धम्क्याइएका, तर्साइएका, थर्काइएका माधव नेपालको एउटा ‘इफ, बट, कमा’ले पनि सिङ्गो देशको राजनीति, मधेसदेखि पाँच प्रदेश सरकारको आयु ‘आननफानन’ हुने हैसियत बनेपछि पक्कै माधव नेपालमाथि चौतर्फी प्रहार छ । 

आफ्ना नेता कार्यकर्ताको कुरा सुन्ने, भावनात्मक हुने र कहिलेकाहीँ तत्काल कुनै अरु नियत नराखी निर्दोष प्रतिक्रिया दिने नेपालको बानी धेरैलाई मन पर्दैन । कहिलेकाहीँ यति नभनेको भए हुने भनेर उनको सचिवालयलाई पनि पर्ने गरी आउने प्रतिक्रियाले ‘अवसर’का लागि ‘ढोगभेट’ गर्न आउने र अवसर पाएपछि ‘सम्पर्क हुन सकेन’ शैलीमा अवसर लिएकाहरू हराउने बानीले अरु धेरै निर्दोष नेता कार्यकर्ता नेपालसँग गुनासो गर्छन् र मात्र भन्छन्, ‘तपाईंको हतारिने बानी क्या !’ 

फेरि नेता कार्यकर्ताको कुरा सुनेर अघि बढ्ने, धैर्य गर्ने, कठोर नहुने स्वभावका नेपाललाई यो विद्रोहमा साथ दिने सबै नेता कार्यकर्ता यो पार्टीका अमूल्य गहना हुन् । निधि हुन् । विद्रोहताका सम्मानित नेता उपचार क्रममा हुनुहुन्थ्यो, त्यसैले काठमाडौँमा त वडा कमिटी गठनमा पनि ‘प्रमुख अतिथि’ बनेर पुग्नुपरेका माधव नेपाल एक्लै पर्नुभएको थियो । दशभाइ, हामीले माधव नेपाललाई ‘नशा खुवाएर हिँडाएका थिएनौँ’ भन्दै एमालेमा विलीन हुँदा एक्लै दौडेका माधव नेपालको गीत पनि त्यही थियो, जो उनी २०२९ सालदेखि यही गीत मेरो मन पर्ने भनेर पार्टी फुट्नै लाग्दा डाकिएका पाँच पत्रकारमध्ये एक यो पंक्तिकार हुँदा पनि सुनाउनुहुन्थ्यो, रविन्द्रनाथ टैगोरको गीत, ‘एक्ला चलो रे ।’

दुई–दुईपटक संसद् विघटनको राजनीतिक अपराधमा विद्रोह गरेर निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय नहुँदा नेपाली कांग्रेसलाई मुलुकको पहिलो शक्ति बन्ने अवसर दिनुमा नेकपा एसको हात छ । अहिले माओवादी र एमालेको निहित स्वार्थका लागि भइरहेका राजनीतिक छिनाझप्टीमा माधव नेपालको साथ अपरिहार्य छ । यो अपरिहार्यताभित्र एमालेले बोक्दा माओवादीको पनि काँध दुखाइरहेका रवि लामिछाने र मधेसी राजनीतिमा ‘परीक्षणकाल’मा रहेका सिके राउतको मुख्यमन्त्रीलाई उपेन्द्र यादवको साथ छुटाएर नौजना ल्याउँछु भनेर दुई थान मन्त्री ‘खाइपाइ’को सुविधामा रहेको जसपामा कोही नखुलेपछि माधव नेपालको साथ अपरिहार्य बन्यो । जबकि आजसम्म रवि र सिकेलाई मेरो हैसियतमा नेकपा एसको पनि ‘सिमेन्टेड’ साथ छ भन्ने विश्वास नपरेको हुन सक्छ । एउटा उपेन्द्र यादव सिध्याउँदा माधव नेपालको पनि राजनीतिक हैसियत ‘उपेन्द्र’सरह बन्छ भनेर विभाजनको तीर हान्दा आज प्रधानमन्त्री अशोक राईलाई दुई मन्त्री, सिके राउतलाई उपप्रधानमन्त्री र मुख्यमन्त्री दिँदा नपुगेर रञ्जिता चौधरीलाई पनि मन्त्री बनाउनुपर्ने कठिन मोडमा पुग्दा माधव नेपाललाई पनि ‘सँगै जाउँ है !’ भनिरहनुपर्ने बाध्यतामा छन् । जबकि माधव नेपाललाई दुई मन्त्री र एक मुख्यमन्त्री अनि उपेन्द्र यादवलाई एक उपप्रधानमन्त्री, एक मन्त्री र एक मुख्यमन्त्री दिए यो गठबन्धन सबभन्दा ‘सिमेन्टेड’ हुने विषय मात्र थिएन, नेपाली कांग्रेस अविराम रविको पछि लागेर राजनीतिक आयु पार गरिरहने वाला थियो । 

महाधिवेशन प्रतिनिधि

भर्खरै नेकपा एसका एक हजार ८०० भन्दा बढी प्रतिनिधि छानिएका छन् । अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालका पक्षधर कति प्रतिनिधि आए भनेर नेपाली मिडियामा चासोका साथ हेरिएको छ, तर पार्टीका केही नेता, कार्यकर्ता र पत्रकार यो विषय ‘उचालिपाउँ’ भनेर मिडिया गुहारिरहेका छन् । यो गलत अभ्यास निर्वाचनका बेला हुन्छ, अन्यथा होइन । कसैले माधव नेपालका पक्षमा ८० प्रतिशत प्रतिनिधि आए भनेका छन्, कसैले जति प्रतिनिधि आए पनि झलनाथ खनाललाई अध्यक्षमा ‘नलर्बरिनुहोस्, हामी छौँ’ भनेका छन्, कतै ‘घनश्याम भुसालको पनि ३५ प्रतिशत आएका छन्, अब मिडियामा ६० प्रतिशत भनेर ‘उछिनेको उछिन्यै गर्नुपर्छ’ भनेर कुरा आएका छन् । यो कुरालाई कति उचाल्ने, कति नेताहरू जुधाउने भन्ने विषय पार्टीमा कतै बहस छैन । 

कोही नेता कार्यकर्ता समूहगत उत्तेजित छैनन् । एकाध नेताहरूको मनभित्र पस्न सकिन्न ।  उनीहरूको मनको कुरालाई लिएर महाधिवेशनमा विभाजित हुने अवस्था त कतै छैन । सबै अहिलेसम्म मौन छन् । किन मौन छन् भने काठमाडौँमा पाँचदिने हुने भनिएको महाधिवेशन तीन दिनमा सकाए हुने भन्ने छ । आफ्नै खर्चमा काठमाडौँ बास, अनि गाउँमा मध्य असारको बेला छ । अधिकांश यतिखेर माधव नेपालको विकल्प खोज्ने बेला भएको छैन भन्नेमा पनि छन् । माधव नेपालको विकल्पै खोज्ने हो भने घनश्याम भुसालको पुस्तामा पार्टी पुग्छ भन्ने पनि छन्, तर त्यसका लागि पनि शीर्ष नेताहरूको व्यवस्थापनबारे घनीभूत छलफल हुनुपर्ला । अहिले छलफलमै छौँ । प्रतिनिधि खुलेका दिन कतै पार्टीको आकारमा समस्या हुन्छ कि, आशा बोकेर बसेकाहरू निराश पो हुन्छन् कि भन्ने मनोग्रन्थीले काम गरेको छ । त्यसैले तीन शीर्ष नेताहरूले अहिलेसम्म गरिरहेको सामूहिक अभ्यासमा ‘बिँड तात्नु’ उपयुक्त होइन । विद्रोहको सतिसाल अर्थात् माधव नेपाललाई अध्यक्षमा ५३ भोट नदिएर एमालेको नवौँ महाधिवेशनमा ओलीलाई ५१ र नेपाललाई ४९ प्रतिशतमा झार्नेहरू अहिले सबै एमालेतिरै भएकाले नेकपा एसको महाधिवेशन एक निरन्तरताको अभ्यास मात्रै हो, नेताहरूको जुधाइ या लडाइँको महोत्सव होइन भन्ने विद्रोहमा समाहित सबैले बुझेको विषय हो । फेरि यसपटक शीर्ष नेता भन्दा पनि तीन सय हाराहारीका नेताले विधान फेरेर सानो आकारको कमिटी बनाउने भनेपछि ‘आफ्नो व्यवस्थापन’ प्राथमिकतामा राखेका छन् । किनभने डेढ सयभन्दा बढी केन्द्रीय सदस्य नअट्ने विधान उनीहरूले बनाएका हुन् । 
(एलन समाजवादी प्रेस संगठन नेपालका महासचिव हुन्)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामकुमार एलन
रामकुमार एलन
लेखकबाट थप