शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गृहमन्त्री लामिछानेको नियत जीबी राई पक्रिने भन्दा भगाउन देखियो : महामन्त्री शर्मा

आइतबार, ०९ असार २०८१, १३ : ०९
आइतबार, ०९ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा फरार जीबी राईलाई पक्राउ गर्ने भन्दा भगाउने नियत राखेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले जीवी राईलाई पक्राउ गर्नेभन्दा भगाउने नियत राखेको बताएका हुन् । 

‘तत्कालीन गोरखा मिडिया नेटवर्कका मालिक मध्य एक जना फरार छन् । एक जना गृहमन्त्री छन् । सहकारी ठगीमा फरार भएको व्यवसायी साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेको गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ?’ उनको प्रश्न छ, ‘अभिव्यक्ति पक्रिने नयाँ शैली हो ? केटाकेटीपन हो या भगाउने नियत हो ?’ 

देशलाई जीवी राईको लोकेसन नभई जीवी राई चाहिएको शर्माले बताए ।  ‘त्यो लोकेसनमा गेट बनाएर, कार्पेट ओछाएर दुई पक्षीय वार्ता हुने हो ? गृहमन्त्रीले लोकेसन पत्ता लागेको भनेको चार दिन भयो । प्रतिपक्षमा हुँदा उहाँले जीवी राईलाई सरकारले पक्रिन चाहेन । पक्रिन चाहेको भए यतिको समय किन लाग्छ ? भन्नुभएको थियो । लोकेसन पत्ता लाग्दा पनि पक्रिन चार दिन किन लाग्छ ?,’ उनले भने । 

मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले जीवी राईलाई ल्याउन कठिनाइ भए पनि असम्भव नभएको शर्माले बताए ।  मलेसियाबाट कुनै पनि अपराधीलाई पक्राउ गरेर ल्याउन सुपुर्दगी सन्धि नचाहिने महामन्त्री शर्माको दाबी छ ।

‘आजभन्दा १० वर्षअघि सुशील कोइराला प्रधानमन्त्री भएकाले मलेसियासँग नेपालको सुपुर्दगी सन्धि थिएन । तर चितवनको राजकुमार चेपाङ नाम गरेको एक जना व्यक्तिलाई मलेसियन सरकारकै सहयोगमा २०७१ साल माघ १६ गते पक्राउ गरेर नेपाल ल्याइएको थियो । अहिले मलेसियाको सुपुर्दगीको प्रक्रियाभन्दा पनि स्टन्टबाजी भइरहेको छ,’ उनले भने ।

नैतिकताको प्रश्नले तत्कालीन अर्थमन्त्री रामशरण महत र जनार्दन शर्मालाई छोए पनि रवि लामिछानेलाई नछोएको उनको भनाइ थियो । आफूमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति बन्दा महत र शर्माले पदबाट राजीनामा दिए पनि गृहमन्त्री लामिछाने पदमै आसीन भएको प्रसङ्ग उठाउँदै शर्माले नैतिकताको प्रश्न उठाएका थिए ।

सूर्यदर्शन सहकारीका पीडितहरूलाई सर्वोच्च अदालतको प्रवेशमा लगाइएको रोकबारे पनि शर्माले गृहमन्त्रीको नियतमाथि प्रश्न उठाए । उनले भने, ‘सूर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च अदालतको बहस सुन्न पोखराबाट काठमाडौँ आएका थिए ।

अदालतले पाँच जनालाई पास पनि दियो । तर प्रहरीले उनीहरूलाई गेटमै रोक्यो । आफ्नो मुद्दासँग सम्बन्धी पीडितहरूले अदालतमा बहस सुन्न चाहँदा अदालतले पास दिए उनीहरुले सुन्न पाउनुपर्छ । तर, अदालतभित्र डोर ग्याङ (रास्वपाका नेताहरू) का साथीहरू इजलासमा बसेर मुद्दाको बहस सुनिरहनुभएको थियो ।’ 

गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगीबारे अनुसन्धान गरिरहेका प्रहरीको सरुवा भएको भन्दै शर्माले आपत्ति जनाए । गृहमन्त्री लामिछानेले अनुसन्धान गरिरहेका प्रहरीको सरुवा नभई बढवा हुने भन्दै दिएको अभिव्यक्ति झुटो ठहर भएको उनले बताए ।

नेपाल प्रहरीका ५१९ जना इन्स्पेक्टरकाे सरुवा हुँदा त्यो सूचीको ५०१ नम्मबरमा सूर्यबहादुर राना मगरलाई प्रहरी नियमावली विपरीत सूर्यदर्शन सहकारीको अनुसन्धान प्रभावित गर्ने सरुवा गरिएको शर्माको भनाइ छ । मलेसिया देशको गृहमन्त्रीले फरार अभियुक्त राईको लोकेसन पत्ता लगाएको गोप्य सूचना दिँदा गृहमन्त्री लामिछाने गोपनीयता काम राख्न नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप